नेकपा विभाजनले कर्णाली सरकार धरापमा
कर्णाली प्रदेश सभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दुई सांसद् अर्का अध्यक्ष केपी शर्मा ओलीको क्याम्पमा आएपछि दाहाल–नेपाल पक्षधर महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा परेको हो।
पार्टी स्रोतका अनुसार सांसद्द्वय धर्मराज रेग्मी र ठम्बर विष्ट दाहाल–नेपाल खेमाबाट ओली खेमामा प्रवेश गरेका हुन्। रेग्मी दैलेख क्षेत्र नम्बर १ (क) र विष्ट सुर्खेत क्षेत्र नम्बर १ (क) बाट निर्वाचित हुन्। यी दुवै जना ओली समूहले थपेको ५५६ केन्द्रीय सदस्य हुन्।
पार्टी स्रोतका अनुसार दाहाल–नेपाल समूहका दुई सांसद् ओली खेमामा प्रवेश गरेपछि उक्त समूहमा १९ सांसद् मात्रै बाँकी छन्। यता ओली समूहमा भने १४ सांसद् पुगेका छन्।
यस्तै, प्रदेशसभामा नेपाली कांग्रेसका ६ र राप्रपाका १ जना सांसद् छन्।
कर्णाली प्रदेशसभाका कूल ४० सिटमध्ये बहुमतका लागि २१ सिट आवश्यक पर्छ।
केन्द्रको नेकपा विभाजनले कर्णालीमा प्रभाव पर्ने सांसद् रेग्मीले बताएका छन्। ‘तत्काल प्रदेशबारे केही हुँदैन, नेताहरूले यसबारे पछि सल्लाह गरौला भन्नुभएको छ,’ उनले भने, ‘त्यो अनुसार हामी अघि बढ्ने छौं। तर, अहिले नै ठोस निर्णय भइसकेको छैन।’
केन्द्रको निर्णय अनुसार हुन्छ : कांग्रेस
नेपाली कांग्रेसको कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक हिमबहादुर शाहीले पार्टी सरकारमा जान तत्पर नभएको बताए।
कांग्रेसले लोकतन्त्र र जनमतको कदर गर्ने दाबी गर्दै उनले पार्टीलाई सत्तामा जान हतार नभएको जिकिर गरे। ‘सत्तामा जाने कि नजाने भन्नेबारे पार्टी केन्द्रको निर्णय अनुसार नै गर्छाैं,’ उनले भने, ‘सरकार गठनमा संख्या अपुग भए नेकपाको कुनै एक समूलाई समर्थन गरेर सरकार निर्माणमा सहयोग गर्ने छौं।’
मुख्यमन्त्रीको कुर्सी फेरि धरापमा !
गत असोज २५ गते नेकपाकै सांसद्हरूले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
त्यतिबेला शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। तीमध्ये ३ जना तत्कालीन माओवादी केन्द्रका थिए, जसमा विष्ट र रेग्मी पनि थिए।
त्यतिबेला नेकपाको शीर्ष तहको पहलबाट मुख्यमन्त्री शाहीको पद जोगिएको थियो।
त्यसको झण्डै साढे दुई महिनापछि नेकपा विभाजनले मुख्यमन्त्री शाहीको पद पुनः धरापमा परेको छ।
पुष ८, २०७७ बुधबार १९:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।