प्रचण्डको काँध, माधवको प्रहार र घाइते ओली 

प्रचण्डको काँध, माधवको प्रहार र घाइते ओली 

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल र माधव नेपाल खेमाबीचको असन्तुलनका कारण ओलीले पुस ५ मा संसद् विघटन गराए। 

२०७५ जेठ २ मा भएको पाँच बुँदे सहमति कार्यान्वयन नभएपछि चिढिएका प्रचण्डलाई फकाउन ओली सक्षम नहुँदा बहुमत प्राप्त दलको संसदीय दलको नेताले नै संसद् विघटन गर्न पुगे। 

स्वार्थले जुटायो, स्वार्थैले फुटाउने भो

दशक लामो सशस्त्र विद्रोहबाट मूलधारको राजनीतिमा आएको माओवादी र संसदीय अभ्यासमा पोख्त एमालेबीच पार्टी एकता माओवादी केन्द्र कमजोर भएको अवस्थामा भयो। सशस्त्र विद्रोहबाट मूलधारमा आएपछि माओवादी निरन्तर चोइटिँदै गयो। जनाधार कमजोर भयो।

पार्टीको अस्तित्व नै संकटमा पर्ने देखेर आत्तिएका माओवादी एमालेसँग बैचारिकरूपमा भिन्न भए पनि पार्टी एकताका लागि राजी भए।
ओलीका लागि माओवादीसँग गठबन्धन बनाएर चुनावमा जानु सरकारको नेतृत्वको अवसर पाउन उत्तम बाटो थियो। दुवैको स्वार्थ मिल्दा २०७४ को निर्वाचनमा गठबन्धन बनेको थियो, जुन पछि एकिकरणमा बदलियो पनि।

नेता एक भए, नाम एक भयो। तर, वैचारिक र कार्यशैलीको एक हुन सकेन। त्यसले पार्टी एकीकरणको प्रक्रियाले गति लिन सकेन।एकताको एक वर्ष पुगेसँगै सहमतिको स्वार्थका रहस्यहरू खुल्न थाले। 

ओलीसँग खटपट सुरु भएपछि २०७६ जेठ १५ मा दाहाल आफैले ओलीसँग आलोपालो प्रधानमन्त्रीको सहमति भएको खुलाए। रहस्य खुलाउन उनी बाध्य हुनुको कारण दोस्रो दर्जाको अध्यक्षको व्यवहार थियो।

दाहालले निहुँ खोजिरहे। तर, ओली गलेनन्। अन्तमा दाहाल ओलीलाई पाँच वर्ष सरकार चलाउन दिने सहमतिमा पुग्दै आफू पार्टीको कार्यकारीको भूमिकामा रहन तयार भए। सहमति त भयो। तर, उनले कहिल्यै कार्यकारी अध्यक्षको अभ्यास गर्न पाएनन्। र, नेकपाको एकता प्रक्रिया टुंगिन नपाउँदै धाजा फाँट्न थाल्यो।

मौकाको पखाईमा माधव

तत्कालीन एमाले र माओवादीबीच एकता भएर दुई अध्यक्षात्मक प्रणाली बनेको केही समय ओली र दाहालबीचको पिरती गजब थियो। दुवैको स्वार्थ मिल्दा लामो समय पार्टीको नेतृत्व गरेका माधव नेपाल पेलानमा परे। दुवै अध्यक्ष मिलेर नेपाललाई पेल्नसम्म पेले। पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत भइसकेका अर्का नेता झलनाथ खनालको अवस्था पनि उस्तै बन्यो।

सक्रिय राजनीतिक यात्रा बिसाउन राष्ट्रपति हुने उनको इच्छा पूरा भएन। ओली र दाहाल मिलेपछि विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिइन्। खनालको मनमा चिरा पर्यो।

चरित्र र व्यवहारमा ओली र दाहाल भिन्न रहेकाले यी दुवैको सम्बन्ध चिसो हुने पक्का थियो। यी दुवै नेता दुवैको सम्बन्धमा कहिले पानी पर्छ भनेर कुरेर बसे अपमान सहँदै। र, त्यो दिन आयो नै।

चलेन ओली राज

दाहाल मात्र हैन, वामदेव गौतम पनि ओलीसँग बिच्किएका थिए। तर, कहिले के कहिले के फण्डा फ्याकेर उनले यी दुवैलाई राम्ररी अल्मल्याइरहे। पार्टीलाई लगेर विलय गराइसकेका दाहाल पछुताउन थालिसकेका थिए। तर, ओलीले दिएको कुर्सीमा बस्नुको विकल्प थिएन। दिए खाने, जा भने जाने हैसियतमा पुगेका दाहाल मौकाको पर्खाइमा थिए।

ओलीसँग बदला लिने मौकाको पखाईमा रहेका माधव नेपाल दाहालका लागि सारथि बन्न तयार भए। खनालले साथ दिए। वामदेव गौतमको भर नभए पनि उनीसमेत मिसिए। रामबहादुर थापा ‘बादल’ अन्कनाए पनि नारायणकाजी श्रेष्ठ खम्बा बनिदिए।

दाहाल, नेपाल र खनाल मिल्दा ओली पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा समेत अल्पमतमा पर्थे नै। उनीहरू एकढिक्का भएपछि ओली तर्सिए पनि विभिन्न प्रलोभन फ्याक्दै गुटमा खेलिरहे। कहिले धम्क्याए, कहिले घुक्र्याए। अन्तमा सबै ‘हतियार’ भुत्तो भयो र उनी आफ्नै पार्टीको कारबाहीमा परे।

ओली नांगिए कि दाहाल ?

प्रारम्भमा दाहाल ओलीको विश्वासपात्र बनेकै हुन्। ओलीले जे भने पनि स्वीकार गर्दा उनकै आडबलमा ओलीले माधव नेपाल लगायतका आफ्नो विपक्षमा रहेका तत्कालीन एमालेका नेताहरूको अपमान गरिरहे। दाहाल आफू सुरक्षित छु भन्दै रमिते बने। ओलीले उनलाई डोहोर्याउँदै लगे। उनीसँगै हिँड्न राजी भए। जब अगाडि खाल्डो देखे तब मात्र उनी झस्किएर माधव नेपाल सहितका एमाले नेता सम्झिए।

यी दुवै नेता लामो समय एकै डुंगामा सवार हुन सम्भव थिएन। अन्तमा त्यो मोड आयो नै। बहुमतप्राप्त सरकार पाँच वर्षीय ‘आयु’ पूरा नगर्दै विघटन भयो।

हेर्दा ओली बदनाम भएझैं देखिए पनि यसमा दाहालको भूमिका पनि कम छैन। आखिर को बढी नांगियो त ? 

‘नांगिन त सबै नांगिएका हुन्। तर, ओली बढी नांगिए, राम्रो काम गरेर इतिहासमा नाम लेखाउने ठूलो अवसर उनले गुमाए,’ राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘प्रचण्ड पनि पदको पछाडि मात्र दौडिने हुन् भन्ने सन्देश जनतामा गएको छ। तर, ओलीको कारण प्रचण्ड पेलाइमा परेका हुन् भन्ने सुविधा प्रचण्डले पाएका छन्।’ 

श्रेष्ठको मत अनुसार ओली र दाहाल पार्टीलाई भन्दा आफू बलियो हुन एक–अर्कामा विलीन भएका थिए। प्रधानमन्त्री र आफू अनुकूल राष्ट्रपति हुँदा दाहालभन्दा ओली बलिया भए। र, उनीमाथि हावी भए। जे उद्देश्यले पार्टी एक गराइएको हो, त्यो सम्भव नदेखेपछि दाहालले विकल्पको खोजी सुरु गरे। ओलीसँग बदला लिने मौकामा रहेका नेपालले दाहालको मनोभाव नबुझ्ने कुरै भएन। उनले मनोभाव बुझे र सही समयमा प्रहार गरे।

‘हिजो प्रचण्ड पनि शक्ति खोज्दै एमालेमा विलीन भएका हुन्, ओलीले पनि आफू शक्तिशाली हुन माओवादीसँग पार्टी एक गराएका हुन्।’

‘हिजो प्रचण्ड पनि शक्ति खोज्दै एमालेमा विलीन भएका हुन्, ओलीले पनि आफू शक्तिशाली हुन माओवादीसँग पार्टी एक गराएका हुन्,’ श्रेष्ठले भने, ‘प्रचण्डप्रति ओलीको खराब व्यवहार देखिएन।’

‘एकता प्रक्रिया गलत’

विश्लेषक श्रेष्ठ नेकपा तीन ठाउँमा चुकेको बताउँछन्। पहिलो, एकता प्रक्रिया नै गलत ढंगबाट भयो। ‘संख्याको हिसाबमा पार्टी एकता गर्नु नेकपाको ठूलो भूल थियो,’ श्रेष्ठ थप्छन्, ‘मर्ज नहुनु भइसकेपछि पद र जिम्मेवारीको उचित बाँडफाँडमा नेकपा चुक्यो।’ 

ओलीको दम्भ फुटको अर्को कारण बन्यो। 

‘ओली अलिकति मात्र झुकेको भए पनि नेकपा फुट्ने थिएन,’ विश्लेषक श्रेष्ठ भन्छन्, ‘फुटको अर्को कारण माधव नेपाल पक्षलाई  ओलीले गरेको हेला पनि हो।’

माधव नेपाललाई नजिकबाट चिन्नेहरू भन्छन्– उनी साह्रै इखालु छन्। एमाले र माओवादी मिलेर शक्तिशाली बनेको नेकपामा भित्तामा पुग्ने गरि पेलाइ भेटेका उनको मनमा इख नहुने कुरै भएन। पटक–पटक ओलीबाट अपमानित भएका उनी अन्तमा ओली र दाहालको सम्बन्धमा खेल्न सफल भए। र, २०७७ पुस ७ गते नेकपाको अध्यक्षबाट ओलीलाई निकालेर आफू अध्यक्ष बनि इख पूरा गरे।

पुष ७, २०७७ मंगलबार २३:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।