पार्टी फुटाउन मन छैन, नफुटाई नि भा' छैन
नेताहरु त्यही गेटबाट प्रधानमन्त्री निवास भित्रिरहेका थिए। बालुवाटार भित्रको माहोल तातिरहेको थियो । माहोल तात्नुको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजेनै आफू निकटका केन्द्रीय सदस्यलाई डाकेर आफ्नो राजनीति भविश्य सुनिश्चित गर्नु थियो।
प्रधानमन्त्रीको सिफारिसमा पुस ५ गते संसद विघटन भएपछि ओली र पुष्पकमल दाहाल–माधव नेपाल समूहबीच चर्कौ जुहारी चलिरहेको छ। मंगलबार पनि सो जुहारी चल्यो नै।
दुवै पक्ष सांसद तानातानको अवस्थामा
करिव पौने १ मा ओली पक्षको बैठक सकियो। त्यसपछि सञ्चारकर्मीलाई पनि बालुवाटारभित्र प्रवेश गर्न दिइयो। गेटभित्र छिरेपछि बैठकहल बाहिर नेताहरु ह्वार्रै निस्कीएको दृश्य देखियो। नेताहरुको त्यही भीडलाई छिचोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली बालुवाटार बैठकको निर्णय बोकेर गेटको छेउमा सञ्चारकर्मीमाझ उपस्थित भए।
बैठकले महाधिवेशन आयोजक समिति गठन गर्दै पाँच सय ५६ जना केन्द्रीय थपेको ज्ञवालीले जानकारी गराए। योसँगै नेकपाको केन्द्रीय समिति ११ सय ९९ सदस्यीय भएको जानकारी दिए। तत्कालिन एमाले र माओवादी एकिकरण हुँदा चार सय ४१ केन्द्रीय समिति थियो। ज्ञवालीले केन्द्रीय कमिटी मनोनयनबाट हुने भएकाले केन्द्रीय कमिटी थप्न सकिने आशय व्यक्त गरे। उनले भने,‘केन्द्रीय समिति (४४१) पनि मनोनयनबाट गठन भएको हो। कुनै निर्वाचित कमिटी हैन।’ बालुवाटार बैठकमा कतिजना केन्द्रीय सदस्यको सहभागिता थियो भन्ने उनले खुलाएनन्।
सोमबारको बैठकमा भने करिव ८० भन्दा बढि उपस्थित भएको बालुवाटारको दाबि थियो।
त्यसैगरी ज्ञवालीले प्रवक्ता नाराणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताबाट हटाएर उक्त जिम्मेवारी आफूले पाएको बताए।
उनले घुमाउरो ढंगबाट प्रवक्ता श्रेष्ठले निजी बिचार तथा आग्रह व्यक्त गरेको हुनाले ओलीले आफूलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको दावी गरे। केन्द्रीय कमिटीको वैठकले नेकपाको विधान संसोधन पनि गरेको उनले बताए। उनले २०७८ साल मंसिर २ गते महाधिवेशनको मिति पनि निर्धारण गरिएको बताए।
उनले धेरै धाउँदा पनि पार्टी एकता नभएकाले निर्वाचनमा जाँदा एकता होला भन्ने विश्वास लिएको दावी गरे।
उनले भने,‘कसैलाई कारवाही गरिएको छैन। नेकपा एकताबद्ध छ। प्रतिनिधिसभा विघटन भएको हो। नेकपा विघटन भएको हैन।’ उनले यो वाक्य बोलिरहँदा आफैँमा विरोधाभाष थियो।
बैठकले अर्का अध्यक्ष दाहाल, नेपाल र खनाल लगायतका नेतालाई कारवाही गर्ने अनुमान थियो। ज्ञवालीले दाहाल–नेपाललाई संकेत गर्दै भने,‘जनताका एजेन्डामा नभई केही नेताहरुमा कहिले पनि सन्तुष्ट नहुने आकांक्षको सृजना भएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभाको विघटन गरेको बताए।
बालुवाटारमा सहभागि भएका अन्य नेताहरु खासै सञ्चारकर्मीको नजिक पर्न चाहेनन्। बालुवाटरबाट निस्कने धेरै नेताहरुको मुहार मलिन थियो। त्यसो त ज्ञवाली पनि सञ्चारकर्मीहरुसँग कुरा गरिरहँदा हसिलो मुद्रामा देखिएनन्।
दिउँसोको करिव २ बजे बालुवाटारको ३ नम्बर गेटबाट बाहिरिएँ।
बबरमहल गन्तव्य
मेरो गन्तव्य थियो,–अर्को समूह दाहाल–नेपाल पक्षले बोलाएको आफू निकटका केन्द्रीय समितिको भेलामा पुग्नु। आधा घण्टामा बबरमहल पुग्दा दाहाल–नेपाल समूहको बैठक सुरु भइसकेको थियो। बबरमहलमा बालुवाटारको भन्दा निक्कै भीड देखियो। सञ्चारकर्मीको उपस्थितिको संख्या पनि बालुवाटारको तुलनामा धेरै थियो। नेता दाहाल, नेपाल, खनालले केन्द्रीय समिति हल चर्काउँदै पार्टीको आन्तरिक समस्या र पछिल्लो समयमा भएको विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरिरहेका थिए। बबरमहलस्थित कार्की पार्टी प्यालेसको हल मात्रै तातेको थिएन। बाहिरी माहौल पनि दाहाल–नेपाल पक्षले के निर्णण गर्छन् भनेर तातेकै थियो।
हुन त आइतबार नै दाहाल–नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई कारवाही प्रस्ताव केन्द्रीय समितिमा लाने निर्णय गरिसकेको थियो।
बैठक चलिरहेको समयमा केही नेताहरु बाहिर निस्किएर सञ्चारकर्मीहरुलाई छुस्स, छुस्स आफ्नो बिचार राखिरहेका थिए। जसले न्युज रुममा थोरै भएपनि सूचना पुगिरहेको थियो। नेता भीम रावल बैठकको मध्यान्तरमा आए। उपत्यका बाहिर रहेका नेताहरु बैठकमा असिन र पसिन गर्दै पुगिरहेका थिए।
नेकपाका एक नेताले ३ सय १५ जना केन्द्रीय सदस्य उपस्थित रहेको बताए।
बैठक दिउसो करिव ३ः३५ मा सकियो। नेताहरु हलको अर्कै ढोकाबाट बाहिरिन थाले। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भने बैठकको निर्णय सुनाउन सञ्चारकर्मी सामु आए।
दाहाललाई उदृत गर्दै श्रेष्ठले भने,‘बालुवाटारमा आज भनिएको कथित भेला पार्टीलाई चोइट्याउन खोज्ने गुटको भेला मात्रै हो।’
त्यसैगरी नेता नेपाल र खनालले पनि पार्टीलाई अविचलित नहुन आह्वान गरेको श्रेष्ठले सुनाए। बैठकले पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको कथित प्रतिनिधि सभाको विघटनलाई असंबैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी र स्वेच्छाचारी कदम भएको ठहर गर्दै त्यसलाई भत्सना र अस्वीकार गर्ने निर्णय गरेको बताए।
अविलम्ब संसदको अधिवेशन आह्वाको माग र ओलीले संविधान र पार्टी अनुशासनको उलंघन गरेकाले उनलाई पार्टीको अन्तरिम विधान अनुसार कारवाहीस्वरुप पार्टी अध्यक्षबाट मुक्त गरिएको श्रेष्ठले बताए।
बैठकले ओलीलाई अध्यक्ष पदबाट मुक्तगरेपछि रिक्त रहेको अध्यक्ष पदमा नेता नेपाललाई सर्वसम्मतले चयन गरिएको उनले बताए।
उनले बैठकमा ३१५ केन्द्रीय समिति उपस्थित भएको जानकारी दिए। श्रेष्ठले आफुनै नेकपाको प्रवक्ता रहेको पनि प्रस्ट्याए। उनले भने,‘म कसैको प्रवक्ता हैन। कुनै गुटको प्रवक्ता हैन। म नेकपाको प्रवक्ता हुँ।’ ओलीको निर्णयलाई लक्षित गर्दै उनले कथाकथित गुटको निर्णयसँग नेकपाको प्रवक्ता सम्बिन्धत नभएको प्रस्ट्याए। उनले पनि नेकपा नफुटेको दावी गरे। बैठक सकियो। तर राजनीतिक खेेल जारी छ।
पुष ७, २०७७ मंगलबार २२:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।