संसद् विघटनबारे कलाकारहरू भन्छन्– नेताहरू लोभी–पापी भए
संसद् विघटन गरिएपछि नेपाली राजनीतिमा ‘उथुलपुथल’ मच्चिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरिएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा छ।
संसद् विघटन र त्यसपछिको अवस्थाप्रति कलाकारको धारणा के छ ? यसबारे उकेराले केही कलाकारसँग कुराकानी गरेको छ।
प्रमोद खरेल, गायक
यो घटनाबारे मैले सामाजिक सञ्जाल ट्विटरमा लेखेको थिएँ। दुई तिहाइको सरकार भएको बेला संसद् विघटन हुनु देशकै लागि दुर्भाग्य हो। अहिले देशमा ३६ लाई ६३ बनाउन खोजेको देखिन्छ। यस्तो कहाँ हुन्छ ?
गणितीय हिसाबले इतिहासकै शक्तिशाली सरकार र यथार्थमै कमजोर प्रतिपक्ष हुँदा पनि यो हालत भएको मेरो बुझाइ हो।
हुन त हामीले नेताहरूमाथि बारम्बार धोका दिएको आरोप लगाउने गरेका छौं। तर, हामी कहिल्यै पनि चेतेनौं।
नेता कुर्सीमा भइञ्जेल अथवा कुनै घटना नघटुञ्जेल हामीले नेताको काममा जयजयकार गरिरह्यौं। अर्काले जतिसुकै राम्रो काम गरे पनि विरोध गरिहाल्ने प्रवृत्ति हामीमा छ। चाहे त्यो सामाजिक सञ्जाल फेसबुकमार्फत होस् वा अन्य माध्यमबाट। जुनसुकै काममा पनि विरोध वा टिप्पणी गर्ने हाम्रो प्रवृत्ति छ। सबैभन्दा पहिला यो हट्नुपर्छ।
नेताको जे कुरामा पनि ‘हो’ भन्ने प्रवृत्तिले उनीहरूलाई नकारात्मक ऊर्जा दिइरहेको हुन्छ।
नेताहरूमा कार्यकर्ताले जे गरे पनि वाहवाह गर्छन् भन्ने मनोवृत्ति छ। यसले नेताहरूमा आत्मविश्वास बढाएको छ।
त्यसैको बल, जग र आडमा नेताहरूमा घमण्ड देखिएको छ। आफूसँग कार्यकर्ता तथा भोटर भएकाले जे गर्दा नि हुन्छ भन्ने उनीहरूको मनोवृत्ति छ।
अहिले संसद् विघटन हुनु पनि त्यसैको उपज हो भन्ने लाग्छ। यो सिद्धान्तका कारण घटेको घटना पनि होइन।
यो घट्नुको अर्को कारण इतिहासकै कमजोर प्रतिपक्ष भएर पनि हो। प्रतिपक्ष नबोलेको कारण यस्तो घटना भएको हो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा दुई युवा नेता (गगन थापा र विश्वप्रकाश शर्मा)बाहेक अरु बोल्ने गरेका छैनन्। प्रतिपक्षी दल कमजोर हुँदा पनि सरकारले त्यसको फाइदा उठाउन नसक्नु देश र जनताका लागि दुर्भाग्य हो। संविधान र कानुनमा के छ, त्यो त कानुनविद्हरूलाई नै थाहा होला। तर, सर्वसाधारणले बुझ्ने कुरा यही हो।
हिजो मैले गगन थापाको भाषण सुनेको थिएँ। त्यो भाषणमा उनले संसद् विघटन गर्ने अधिकार अहिलेको सरकारलाई नभएको बताएका थिए। तर, संसद् विघटन गरियो। यो जनताको आशा तथा भरोशामाथि ठूलो धोका हो।
दीपकराज गिरी, कलाकार
नेपालका कुनै पनि दलका नेताहरूमा मुलुकलाई एक ठाउँमा राखेर काम गर्ने बानी छैन। सबैमा दल तथा समूहगत स्वार्थ हाबी भएको पाइन्छ। संसद् विघटन हुनुको पनि यही परिणति हो कि भन्ने मलाई लाग्छ।
नेपालमा दुई तिहाइको सरकार होस् वा बहुमतको, कुनै पनि सरकार ५ वर्ष टिकेको देखिँदैन। त्यसको कारण हो– नेताको लोभी–पापी चरित्र।
पार्टी सरकारमा गएपछि आन्तरिक किचलोमा फसिहाल्ने अवस्था देखिएको छ।
दीपेन्द्र के खनाल, निर्देशक
पछिल्लो निर्वाचनअघि जनताले कुनै अमूक दलले बहुमतको सरकार चलाओस् र सरकार स्थिर होस् भन्ने चाहेका थिए। त्यो अवस्थामा देश विकास हुन्थ्यो भन्ने उनीहरूको अपेक्षा थियो। तर, अहिले त्यो वातावरण रहेन। जे नहुनु पर्थ्यो, त्यो भयो।
अर्काे कुरा, जनतालाई निर्वाचन सम्पन्न भएको आधा समयमै फेरि नयाँ जनादेश दिने अवसर छ। त्यसलाई सक्दो सदुपयोग गर्नु पर्छ। आउने निर्वाचनमा राम्रो मान्छे निर्वाचित गर्नु पर्छ।
दीपक शर्मा, संगीतकार
अहिलेको राजनीतिक अवस्था अप्ठेरो स्थितिमा छ। एक पटक राजा ज्ञानेन्द्र शाहले जस्तो संसद् विघटन गर्नुभएको थियो। अहिलेको सरकारले पनि त्यही झल्को दिएको छ। योचाहिँ राजनीतिक दाउपेच, पार्टीभित्रको गुठको कलह, अनि एक–अर्काको इगोलाई लिएर आफू–आफू जुधाजुध गर्दा जनता दाउपेजमा परेका छन्।
मैले यसलाई ‘साँढेको जुधाइ, बाछाको मिचाइ’ भएको ठान्छु। संसद्लाई फेरि ब्युँताउन चुनाव गर्नु पर्यो। चुनाव गर्दा राज्यको ढुकुटी सकिन्छ।
अहिले प्रदेशमा सरकार छ। त्यहाँको सरकारले कोरोना महामारीको भार थेग्न नसकेको अवस्था छ। संसद् विघटनले राज्यलाई अर्बाैं घाटा लागेको छ।
संसद् विघटनपछि देशमा ‘केही’ होला भन्ने जनताले आशंका गरेका थिए। अब त्यो रहेन। किनभने ०६२–६३ को निर्णायक आन्दोलनबाट जनतामा राज्यसत्ता आएपछि जनताले नेताहरूमाथि गरेको विश्वासमा कुठाराघात भएको छ।
संसद् ब्युँतियो भने पनि केही हुने अवस्था छैन। अब जनता अलिक चेतनशील हुनु पर्याे।
कलाकारमा आफूले बोल्नु हुन्न भन्ने सोचाइ छ। त्यसलाई परिवर्तन गर्न आवश्यक छ। एउटा नागरिक भएको हिसावले राम्रो कुरामा आवाज उठाउनु पर्छ।
करिश्मा मानन्धर, अभिनेत्री
सरकार तथा पार्टीमा नेताहरू सत्ता मोहमा फसेको देखियो। हिजोको घटनाले देशलाई राम्रो दिन सकेन। मैले स्टाटसमा नै लेखेको छु।
कठै बरा नेपाली जनता आफूलाई सबै खाले ज्ञान हुँदा–हुँदै पनि सत्तामोहमा लिप्त भएर जुन हदमा पनि जान सक्नेहरूको तमासा हेरेर बस्न बाध्य छौं।
यहाँ कहाँ छ देशप्रेम ? कहाँ छ जनताको भावनाको कदर ? कहाँ छ उनीहरू आफैंले गरेको प्रतिबद्धता ?
जय होस !
पुष ७, २०७७ मंगलबार १७:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।