रुपन्देहीका चार ठाउँमा अत्याधुनिक हाटबजार बन्दै
भैरहवा : रुपन्देहीको बिभिन्न चार ठाउँमा अत्याधुनिक र व्यवस्थित हाटबजार निर्माण गरिने भएको छ।
सैनामैना नगरपालिकाका–३ स्थित मुर्गिया, वडा नम्बर ८ को शान्तिटोल र वडा नम्बर १० सालझण्डीको पानबारी तथा शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा हाटबजार निर्माण हुने भएको हो।
फर्साटिकरमा हाटबजार निर्माणका लागि शुद्धोधन गाउँपालिकाले डीपीआर तयार गरी टेण्डर गरेको। एक विघा ६ कट्ठा क्षेत्रफलमा निर्माण हुने हाटबजारमा ७ वटा ब्लक हुने छन्। जहाँ फरक–फरक प्रकारका सामान विक्री कक्ष बनाइने छ।
गाउँपालिका अध्यक्ष किशुनचन चौधरीका अनुसार हाटबजारका दुइवटा ब्लकमा मार्केट स्टल रहने छ। यहाँ खुल्ला रुपमा २४ वटा पसल राख्न सकिने छ। मार्केट स्टलकै बीचमा रहेको छाता आकारको २ वटा खुल्ला एरिया मार्केट रहने छ। त्यसमा पनि खुल्ला रुपमा सामानहरु विक्री गर्न सकिने छ।
त्यसैगरी छुट्टाछुट्टै ४८ वटा स्टलको लागि वाल उठाएर सेपे्रट ब्लक बनाइने छ।
हाटबजारमा होलसेल सटर ५ वटा हुने छ। डीपीआर अनुसार माछामासु विक्रीको लागि २२ वटा स्टल रहने छन्।
दूध र डेरीसँग सम्बन्धित १२ वटा स्टल छुट्याइएको छ। अन्य खुद्रा तथा किराना बजार, तरकारी, कपडालगातयका सामान राख्ने गरी ठाउँहरु छुट्याइएको छ। ठेलामा सामान विक्री गर्नेहरुको लागि ६ वटा ठेला राख्ने ठाउँ पनि बनाइएको चौधरीले जानकारी दिए।
सैनामैनाका तीन ठाउँमा लामो समयदेखि साघुँरो र जोखिममा रहेर व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई एकीकृत रुपमा बजार व्यवस्थापन गर्ने उद्देश्यले अत्याधुनिक हाटबजार संचालनमा ल्याउने तयारी गरिएको नगरप्रमुख चित्रबहादुर कार्कीले बताए।
मुर्गियामा निर्मित साप्ताहिक हाटबजार र शान्तिटोलमा रहेको हाटबजार केही दिनमै संचालन आउने उनले जानकारी दिए।
पानबारीमा निर्माण भइरहेको हाटबजार भने आगामी आर्थिक वर्षदेखि संचालनमा ल्याउने गरी काम भइरहेको छ। नगरप्रमुख कार्कीका अनुसार करिब एक विघा १४ कठ्ठामा मुर्गियाको हाटबजारमा साढे चार सय जति व्यापारी अट्ने गरी निर्माण अन्तिम चरणमा छ। यहाँ ५८ वटा सेड छन्।
हाटबजारमा पर्खाल, नाली, सडक स्तरोन्नती, इन्टरलक टायल गर्नेदेखि शौचालय निर्माण सम्मका कामहरु हुँदैछन्।
हाटबजार सञ्चालनमा आइसकेपछि व्यवसायीहरुको स्वास्थ्यमा असर नपर्ने नगरप्रमुख कार्कीको भनाई छ। मुर्गियामा हाटबजारका लागि लुम्बिनी प्रदेश र सैनामैना नगरपालिकाको साझेदारीमा करिब तीन करोडको लागतमा काम भइरहेको छ।
करिब एक विघा क्षेत्रफलमा निर्मित कलौनी शान्तिटोलको हाटबजारमा पनि प्रदेश सरकार र नगरपालिकाको तीन करोडको लागतमा करिब ५२ वटा सेड तयार भएका छन्।
यहाँ पनि नाली निर्माण, शौचालयलगायतका कामहरु भएका छन् भने इन्टरलक टायलको काम अन्तिम चरणमा छ। सालझण्डीको पानबारीमा भने नगरपालिकाको ४० लाखको लागतमा साप्ताहिक हाटबजार बन्न लागेको हो। पानबारीमा करिब १२ सेड मात्र बनाइने छ।
शुद्धोधनमा हाटबजार प्रवेश गर्न चार वटा प्रवेशद्वार राखिने छ। दुई वटाबाट प्रवेश गर्न र अर्को दुई वटाबाट निस्कन मात्र पाइने शुद्धोधन गाउँपालिकाका प्रवक्ता राजेन्द्र कंडेलले बताए।
बजारमा मुल्य सूचिसहितको डिसप्ले बोर्ड पनि राखिने छ। हाटबजार भित्र तीन वटा पार्किङ क्षेत्र, दुइवटा चौपारी र २ वटा शौचालय भवन पनि बन्नेछन्। उपभोक्ताहरुलाई विश्राम गर्न मिल्ने प्रतिक्षालय पनि बनाइने छ।
हाटबजार निर्माणको लागि कुल ६ करोड ७९ लाख ९३ हजार १ सय ६८ रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
पुष ७, २०७७ मंगलबार १४:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।