सांसद् रिझाउने दौडधुपमा नेकपाका दुवै गुट  

सांसद् रिझाउने दौडधुपमा नेकपाका दुवै गुट  

काठमाडौं : संसद् विघटनपछि आइतबारबाट तीव्र बनेको राजनीतिक दौडधुपले सोमबार थप गति लियो। नेकपाभित्रको किचलोले तोकिएको समयअगाडि नै प्रतिनिधि सभाको ‘हत्या’ भयो। त्यसैले सोमबारको दौडधुपमा पनि नेकपाकै नेताहरू बढी सक्रिय हुनु स्वभाविकै थियो। 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल समूहको आह्वानमा आइतबार बसेको स्थायी समितिको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै अनुशासनको कारबाही गर्ने निश्कर्ष निकालेका थिए।

त्यसैको प्रभाव हुन सक्छ– प्रधानमन्त्री ओली सोमबार बिहानैबाट सक्रिय भए।  उनले सोमबार बिहान करिव ९ बजे आफू निकटका सांसदलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर संसद् विघटनको बाटो रोज्नुको फेहरिस्त सुनाए। 

पार्टीमा खिचातानी बढेको र बहुमतको आधारमा पेल्दै आफूविरुद्ध अविश्वासको प्रस्तावै दर्ताको प्रयास गरेपछि बाध्य भए नयाँ जनमत लिन संसद् विघटन गर्नुपरेको उनको दाबी थियो। नेकपामा कूल एक सय ७४ सांसद् छन्। ओलीले डाँकेको बालुवाटार भेलामा ८० भन्दा बढी सांसद् उपस्थित रहेको ओली पक्षको दाबी छ। 

बालुवाटार भेलामा सहभागी नेकपा सांसद खगराज अधिकारीले बालुवाटार भेलामा उल्लेख्य सांसद उपस्थित भएको दाबी गरे। 

यता बालुवाटारमा भेला भइरहँदा उता दाहाल र नेपाल समूह आन्तरिक गृहकार्यमा थिए। संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा प्रवेश गराएर कानुनी उपचार खोज्न सक्रिय थिए।

ओली आफू निकटका सांसद्सँग परामर्श गरिरहँदा दाहाल–नेपालले भने संसद् ब्यूँताउन सकिन्छ की भनेर संवैधानिक कानुनका जानकारहरूसँग परामर्श गरेका थिए। छलफलमा संवैधानिक कानुनका जानकारहरूले प्रधानमन्त्री ओलीलाई संसद् विघटन गर्ने कानुनी अधिकार नभएको सुझाएका थिए। उनीहरूले त संविधानले संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएकाले संसद् विघटन भएको मान्न नसकिने समेत तर्क सुनाएका थिए।

त्यसैको प्रभावले सञ्चारकर्मीसँग कुरा गर्दा नेता नेपालले संसद् विघटनै नभएको दाबी गरेका थिए।

सोमबार बिहान भएको सो छलफलमा दाहाल, नेपालसँगै झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेता सहभागी थिए। छलफलमा पूर्वमाओवादी समूहका रामबहादुर थापा आएनन् भने पूर्वएमालेका नेता तथा नेकपा उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएनन्।

परामर्शमा नेपाल बार एसोसियसनका अध्यक्ष चन्डेश्वर श्रेष्ठ, पूर्वअध्यक्ष शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौला, मुक्तिनारायण प्रधानलगायत सहभागी थिए।

दिउँसो १ बजे दाहाल–नेपाल समूहले संसद् भवन नयाँ बानेश्वरमा आफू निकटका सांसदहरूको भेला गर्याे। भेलामा ९० भन्दा बढी सांसदहरू नेता नेपालको दाबी छ। 

भेलाले प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक उपचार खोजिने निष्कर्ष निकालेका थिए। भेलाले प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक उपचार खोजिने निश्कर्ष निकालेको थियो। यस्तै, भेलाले प्रधानमन्त्री ओलीले कानुनभन्दा बाहिर गएर संसद् विघटन गरेको ठहर गर्दै  यसको कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निश्कर्षसमेत निकाल्यो।  

दुवै पक्षको भेलामा केही सांसद भने उपस्थित भएनन्। दाहाल गुटका पूर्वमाओवादी नेतासमेत रहेका नेकपा नेता हरिबोल गजुरेलले सोमबारको दुवै पक्षको भेलामा सहभागी नहुने निर्णय लिएको बताए। त्यसैगरी, दुवै पक्षको भेलामा नजाने नेकपाका सांसद् लालबाबु पण्डित पनि हुन्। 

पण्डितले बालुवाटारबाट आफूलाई खबर आए पनि आफू त्यहाँ सहभागी नभएको दाबी गरे। दाहाल–नेपाल समूहको भेलामा त आफूलाई खबर नै नभएको सांसद् पण्डितको दाबी छ। गजुरेल र पण्डित जस्तै अरु केही नेता पनि छन्, जो दुवै समूहको भेलामा सहभागी भएनन्। 

प्रधानमन्त्री ओलीले सोमबारै बेलुका राष्ट्रका नाममा सम्बोधन समेत गरेर संसद् विघटन गर्नुको कारण दाहाल–नेपालको घेराबन्दी रहेको दाबी गरे। ओलीले सम्बोधनका क्रममा आफ्नै पार्टिको खिचातानीका कारण बाध्य भएर संसद् विघटन गर्नुपरेको गुनासो गरेका थिए।

सम्बोधनमा आफ्नै पार्टीले सरकारलाई असहयोग, विरोध र घेराबन्दी गरेपछि ताजा जनादेशका लागि बाध्य भएर आफूले संसद् विघटनको बाटो राजेको दाबी गरेका थिए। उनको सम्बोधन दाहाल र नेपालमाथिको आरोपले भरिएको थियो।

कांग्रेस पनि छलफलमा

सोमबार दिनभर नेपाली कांग्रेसका नेताहरू व्यक्तिगत रूपमा सक्रिय भए पनि संस्थागत रूपमा भने त्यति सक्रिय रहेनन्। उनीहरूले बेलुकातिर छलफल गर्न नेकपामा असन्तुष्ट दाहाल–नेपाल समूहसँगै जनता समाजवादी पार्टीका नेतालाई पार्टी कार्यालय सानेपामा बोलाए। 

संसद् विघटन गर्नु संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकाल्दै संविधानमा संसद् विघटनको प्रावधान नभएकाले पार्टीभित्र आन्तरिक छलफल गरेर थप कदम चाल्ने भन्दै तीन दलको बैठक सकियो।

सर्वोच्चको सहारा

प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने निर्णयका विरुद्ध सोमबारै सर्वोच्च अदालतमा ११ वटा रिट पनि दर्ता भए। रिट कसरी अगाडि बढ्छ पत्तो छैन। सोमबारै नेकपाका दाहाल र नेपाल समूहले प्रधानमन्त्री ओलीलाई कारबाही गर्न निर्वाचन आयोगमा पत्राचार गरे भने बहुमत सांसद् ओलीको विपक्षमा रहेको प्रमाणका लागि सांसदहरूको हस्ताक्षर संकलनसमेत गरे।

छिटपुट आन्दोलन

ओलीको कदमविरुद्ध सोमबार विभिन्न स्थानमा विरोध प्रदर्शन भए। नेकपाकै असन्तुष्ट समूह समर्थक विद्यार्थी, भातृ संगठनका नेताहरू विरोधमा सहभागी थिए। काठमाडौंमा विवेकशील साझा पार्टीका समर्थकले ओलीविरुद्ध प्रदर्शन गरेका थिए।

बामदेव र बादलको अर्कै दाउँ 

नेकपाको किचलोमा दाहाल–नेपाल समूहमा रहेका पार्टी उपाध्यक्ष बामदेव गौतम सोमबार कतै देखिएनन्। उनले विज्ञप्ति निकालेर पार्टी फुटाउन हुने कुनै पनि भेलामा सहभागी नहुने बताए। उता गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ पनि कुनै भेलामा गएनन्। उनले आफू निकटका नेकपा नेता भेला गरेर आफ्नै सरकारी निवासमा छलफल गरे।
 

पुष ६, २०७७ सोमबार २०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।