नेकपा नेता दाहाल-नेपालको निगरानीमा अनुसन्धान विभाग र प्रहरीको ब्युरो

नेकपा नेता दाहाल-नेपालको निगरानीमा अनुसन्धान विभाग र प्रहरीको ब्युरो

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको प्रस्ताव स्वीकार गर्दै चुनावको नयाँ मिति घोषणा गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाका प्रधानसेनापतिसँगै गृह मातहतका तीनै सुरक्षा सङ्गठनका प्रमुखलाई बालुवाटारमा बोलाए।

बेलुकातिर बालुवाटार पुगेका सेना प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई उनले निर्देशन दिए‘सरकारले चुनावको मिति घोषणा गरिसकेको छ। आवश्यक सुरक्षा तयारी गर्नुहोला।’

बैठकमा सहभागी स्रोतका अनुसार प्रधानमन्त्री ओली तनावमा थिए। उनले धेरै बोलेनन्। चारै सुरक्षा प्रमुखहरू पुगेपछि बैठक हलमा चिया आयो। प्रधानमन्त्रीले चारै जनासँग चिया सकिनेबेलासम्म कुरा गरे।

चिया खादै गरेका सुरक्षा प्रमुखहरूसँग कुरा गर्दा उनले के कस्तो सुरक्षा चुनौतीहरू आउन सक्छन् त्यसको आङ्कलन गरेर पूर्व तयारी गर्न र सङ्गठनका सदस्यहरूलाई चुनाव केन्द्रित सुरक्षामा केन्द्रित गर्न निर्देशन दिएका थिए।

दाहाल–नेपाल समूह मुख्य चुनौती

प्रधानमन्त्रीको निर्देशन लिएर फर्किएका सुरक्षा प्रमुखहरूले आइतबार र सोमबार समेत सङ्गठनका निर्णायक तहमा रहेका अधिकृतहरूसँग सुरक्षा चुनौतीबारे छलफल गरेका थिए।

स्रोतका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको मूल्याङ्कनमा नेत्रविक्रम चन्द विप्लवले समेत संसद् विघटनको स्वागत गरेको, राजतन्त्र पक्षधर समूह चुनावमा जान तयार रहेको र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि सामान्य विरोध प्रदर्शन गरी चुनावकै तयारी गर्ने निष्कर्ष निकालेका थिए।

‘अहिलेको अवस्थामा मुख्य सुरक्षा चुनौती सरकारको विरोधमा नेकपाकै असन्तुष्ट समूहबाट हुनसक्ने प्रदर्शन र गतिविधि हुनसक्छ,’एक उच्च सुरक्षाअधिकारीले उकेरासँग भने‘ विप्लव पनि सुरक्षा खतराका स्रोत हुन्। उनले तत्काल स्वागत गरे पनि निर्वाचनको माहौल बन्दै गए हिंसात्मक घटना गराउन सक्ने देखिन्छ।’

सुरक्षा सङ्गठनमा भएका छलफलमा राष्ट्रपतिले निर्वाचनको मिति घोषणा गरे पनि सर्वोच्च अदालतमा रिटहरू परेको र अन्य दलहरू छलफलमा रहेकाले तत्काल आक्रामक सुरक्षा रणनीति नअपनाउने निष्कर्षमा पुगेका छन्।

तत्काल विरोध प्रदर्शन हुनसक्ने स्थानहरूमा सुरक्षाकर्मीको सङ्ख्या बढाउने, मुख्य नाकाहरूमा सुरक्षा सतर्कता बढाउने र मुख्य गरी विप्लवको गतिविधि निगरानीमा राख्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको तयारी छ।

सोही अनुसार आइतबारबाटै सहरी क्षेत्रका मुख्य चोकहरूमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो भइसकेको छ। सोमबार समेत विरोध प्रदर्शन हुनसक्ने काठमाडौँका अधिकांश स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सङ्ख्या बाक्लो थियो।

नेताहरूको निगरानीको जिम्मा राअबीलाई

विपक्षी नेताहरूको गतिविधि निगरानीको जिम्मा राष्ट्रिय अनुसन्धान विभागले पाएको छ। पहिला गृह मन्त्रालय मातहत रहेको विभाग अहिले प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष मातहतमा पुगिसकेको छ। विभाग स्रोतका अनुसार आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको सूचना समेत विभागबाटै बालुवाटार पुगेको थियो। आइतबारबाट विभागले आफ्ना कर्मचारीलाई नेकपाका दाहाल र नेपाल समूहका प्रमुख नेताहरूको गतिविधिमा बढी केन्द्रित गरेको छ।

‘नेकपाका सांसदहरूमाथि पनि निगरानीको निर्देशन आएको छ,’ जानकार स्रोतले भन्यो‘नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलका प्रमुख नेताको निगरानी पनि बढेको छ।’

स्रोतका अनुसार नेताहरूको निगरानी बढाउन विभागको सिंहदरबार मा रहेको कार्यालयका विशेष सेक्सनै राखेर सक्रिय बनाइएको छ। राजनीतिक गतिविधि हेर्न विभागमा पहिला पनि छुट्टै डकेस् भने थियो।

नेपाल प्रहरीले पनि गम्भीर प्रकृतिको सङ्गठित अपराध हेर्ने विशेष ब्युरोलाई आन्तरिक गतिविधि केन्द्रित गरेको छ। मुख्य त ब्युरो पछिल्लो समय विप्लव समूहको निगरानी र नेताहरूको खोजीमा बढी सक्रिय थियो। बदलिँदो राजनीतिक घटनाक्रमसँगै ब्युरोको काँधमा राजनीतिक जोडघटाउँ र नेताको दैनिकी निगरानी गर्ने जिम्मेवारी समेत थपिएको छ।

प्रधानमन्त्री ओलीको विपक्षमा रहेका नेताहरूको निगरानीमा व्यक्तिगत सुरक्षामा खटिएका प्रहरी अधिकारीहरू समेत परिचालित हुने गरेका छन् नै। स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोको जनशक्ति समेत राजनीतिक निगरानीमा परिचालित भइसकेका छन्।

उच्च सतर्क छौँ : गृह

गृह मन्त्रालयले मातहतका निकायलाई उच्च सतर्कता अपनाउन औपचारिक रूपमै निर्देशन दिइसकेको छ। मन्त्रालय प्रवक्ता चक्र बहादुर बुढाका अनुसार सबै जिल्लाका सुरक्षा प्रमुखहरूलाई समेत सुरक्षा अवस्थाको मूल्याङ्कन गरेर परिचालन बढाउन निर्देशन गइसकेको बताए।

‘अहिले यती नै भनेर प्रहरी परिचालन गरिएको छैन। तर सबै जिल्लामा सुरक्षाको अवस्थामा सुधार गर्न र परिचालन बढाउन निर्देशन गइसकेको छ’ उनले उकेरासँग भने।

प्रदर्शन स्थल निगरानीमा

काठमाडौँ उपत्यकामा विशेष गरी माइतीघर मण्डला, शिहदरबार, बालुवाटार, नयाँबानेश्वर लगायत प्रदर्शन हुनसक्ने क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। 

प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवर संसद् विघटन हुँदा प्रदर्शन हुनसक्ने भएकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताए।

नेपाल सशस्त्र बलका प्रवक्ता राजु अर्यालले देश भर आन्दोलन भइरहेको अवस्थालाई नै ध्यानमा राखेर सुरक्षा परिचालन गरिएको बताए। ७ वटा प्रदेशका प्रहरी कार्यालयलाई सुरक्षाको जिम्मा दिएको उनले बताए। 

 

पुष ६, २०७७ सोमबार १९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।