‘ओली भनेको गणतन्त्र विरोधी नेता हो, सुहाउँदो कारबाही हुन्छ’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारको सिफारिसमा राष्टपतिले प्रतिनिधि सभा विघटन गरेपछि पार्टीको स्थायी कमिटी बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने सिफारिस गरेको छ। ओलीलाई कस्तो कारबाही होला त ? नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसँग प्रजु पन्तले गरेको कुराकानी :
संसद विघटन भएपछिको अवस्थालाई कसरी हेर्नुभएको छ ?
यो असंवैधानिक, घोर आपत्तिजनक र लोकतन्त्रिक गणतन्त्र माथिको ठाडै प्रहार हो। संविधानमा संसद् विघटन गर्ने अधिकारै छैन। संविधानले नदिएको अधिकारमा आफ्नो मनोमानी गर्नु इतिहासमा एउटा कलंक हो।
हिजो बसेको स्थायी कमिटी बैठकले ओलीलाई कारबाहीको सिफारिस गरेको छ। ओलीलाई कस्तो कारबाही होला ?
कमरेड ओलीलाई कारबाही गर्ने स्थायी कमिटीबाट प्रस्ताव भयो। अब केन्द्रीय समितीले कस्तो कारबाही गर्ने निर्णय गर्छ। उहाँले कम्युनिस्ट आन्दोलनलाई नै धरापमा पर्ने गरि जुन गतिविधि गर्नुभयो, अध्यक्षको नाताले नसुहाउने कुरा मात्रै नभएर पार्टी र कम्युनिस्ट आन्दोलनलाई नै सिध्याउनु भएको छ।
न उहाँ विधिबाट चल्ने न त पद्धतिबाट चल्ने। लामो समयदेखि नै उहाँ पार्टीको विधि पद्धति नमानेर आफ्नो मनोमानी गरिरहनु भएको छ। उहाँ पार्टीले भनेको मान्ने मान्छे होइन, पार्टीले अनुशासनहीन काम गरिसकेपछि टुलुटुलु हेरेर बस्न सक्दैन। त्यसमाथि राष्ट्रघाती, जनविरोधी, लोकतान्त्रिक आन्दोलन विरोधी काम गरेपछि छुट दिने कुरा आउँदैन। त्यसो भएकाले केपी कमरेडलाई सुहाउँदो कारबाही हुन्छ।
तपाईंहरुको गुटले ओलीलाई अविश्वासको प्रस्ताव तथा राष्ट्रपतिलाई महाअभियोग लगाउने सुरसारपछि उहाँले विकल्प नभएर यो निर्णय गर्नुभएको रहेछ नि ?
केपी ओली भनेको झुटको खेती गर्ने मान्छे हो। मान्छेलाई धम्क्याउने, थर्काउने र खेलाउने उहाँको शैलीबाट सबै आजित भइसकेका छन्। समकालीनलाई पनि तनाव दिने, आश्वासान दिने शैली बोकेको नेता हो ओली। यस्तो नेता त कुनै पार्टीमा पनि सुहाउँदैन।
उहाँ गुट स्वार्थ चुर्लुम्मै डुब्ने नेता हो। उहाँ त कम्युनिस्ट विचार बोकेको मान्छे नै हैन। यसै मैले विरोध गरेकी छैन। उहाँको चरित्र, शैली र स्वभाव जुन दिनदेखि जाने, त्यो बेलादेखि नै मैले क्लियर भनेको छु। उहाँ कम्युनिस्ट चरित्र बोकेको मान्छे हैन। गुट गर्ने नयाँ कुरा नल्याउने भिजन पनि नभएको मान्छे हो। यस्तो नेताले भनेको के पत्याउने ? उहाँ जनता र देशप्रति इमानदार हुनुहुन्न। त्यसकारण हामीले केही न केही त गर्नैपर्थ्यो, गर्नु पनि पर्छ।
केपी ओलीले गर्दा नेकपाले बहुमत ल्यायो। अहिले उहाँलाई खेदाउने काम भयो भन्छन् नि उहाँका पक्षधरहरु ?
उहाँले गर्दा चुनाव जितेको हैन। कम्युनिस्ट आन्दोलनले गरेको महत्त्वपूर्ण कामले गर्दा चुनाव जितेको हो। सबै मिलेर ल्याएको गणतन्त्रले गर्दा खेरि दलहरुको नेतृत्वमा जितेको हो। जनता धेरै सुझबुझ छन्। उहाँजस्तो छैनन् नि त। ओलीले गर्दा चुनाव जितेको भन्न सुहाउँदैन।
हिजै अदालतमा रिट पनि परेको छ। अदालतले के गर्छ जस्तो लाग्छ ?
संविधानमा नभएको कुरा अधिकार लिएर गरेको कुरा झुट हो नि त। अदालतले टुलुटुलु हेरेर बस्दैन भन्ने मलाई लाग्छ।
अदालतले टुलुटुलु हेरेर बसेन भने प्रधानमन्त्री र राष्ट्रपति विद्यादेवी भण्डारीलाई के कारबाही हुन्छ ?
ओली कमरेडलाई त भोलि कारबाही हुन्छ। अरु काम पनि हुँदै जाला।
अदालतले अर्कै निर्णय गर्याे भने ?
विधिको शासन मान्छु म। त्यसकारण अदालतले संविधानअनुसार नै निर्णय गर्छ भन्ने लाग्छ।
उसो भए के पार्टी फुट्ला त ?
पार्टी फुट नफुटको कुरै छैन के। एउटा व्यक्तिलाई कारबाही गर्दैमा पार्टी फुट्ने भन्ने त हुँदैन नि। ओली भनेको गणतन्त्र विरोधी नेता हो। गणतन्त्रको आन्दोलनमा हाम्रो टाउको फोरिँदा र हातखुट्टा भाचिँदा ओली कमरेडले गाणतन्त्रविरुद्ध बोल्नुभएको थियो। हामीले उहाँलाई मान्देको न हो। एउटा व्यक्तिको कारणले पार्टी नै फुट्नु पर्छ जस्तो लाग्दैन।
पार्टीभित्र गुटैगुट हुँदा नेकपाले जनतालाई धोका दियो है ?
जनता इमानदार छन्। मलाई व्यक्तिगतरुपमा एउटा गलत नेतृत्वले गर्दा जनतालाई धोका पाएको महसुस हुन्छ। उहाँले गर्दा कम्युनिस्ट पार्टीप्रति नै नकारात्मक धारणा भयो। यो अवस्था भनेको गलत नेताको हातमा सत्ता जाँदा कति दुःख पाइन्छ भन्ने प्रष्टै देखियो।
पुष ६, २०७७ सोमबार १३:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।