नेकपामा गुट बदल्ने खेल सुरु : दाहाल–नेपाल भेलामा हरिबोल र लालबाबु नजाने
काठमाडौं : प्रतिनिधि सभा विघटनपछि नेकपामा भेला प्रतिस्पर्धा सुरु भएसँगै गुटका नेताहरू गुट बदल्न सक्रिय भएका छन्। बिहान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले डाँकेको निवर्तमान सांसदहरूको भेलामा समेत गुटको प्रभाव देखिएको थियो।
दिउस सिंहदरबारमा आयोजना गर्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा नेता माधव नेपाल गुटको भेलामा समेत सांसद खिचातानीको प्रभाव देखिने भएको छ।
नेकपा विवादमा दाहाल र नेपाललाई साइदिँदै आएका केही सांसदहरू उनीहरूले डाँकेको भेलामा सहभागी नहुने भएका छन्। दाहाल र नेपालको गुटमा रहेका नेता हरिबोल गजुरेल र लालबाबु पण्डितले आफूहरू भेलामा नजाने उकेरालाई बताए।
गजुरलेले उकेरासँग कुरा गर्दै भने,‘आज म कतै जाँदिन ।’ उनले किन नेपाल–दाहाल पक्षका सांसदहरूको भेलामा नजाने निर्णय गरेका हुन् भन्ने भने खुलाएनन्। उनी बिहान ओलीले बोलाएको भेलामा समेत गएका थिएनन्।
नेकपामा माधव गुटमा रहेका सांसद लालबाबु पण्डित पनि सिंहदरबारको बैठकमा नजाने भएका छन् । उनले सिंहदरबारमा हुने भनिएको भेलाका बारेमा आफूलाई जानकारी नभएको दाबी गरे। सांसद पण्डितले भने,‘बैठक त होला । तर, मलाई थाहा छैन ।’
त्यसो त उनी बिहान बालुवाटारस्थित प्रधानमन्त्री निकट सांसादरुको भेलामा पनि गएनन् । उनले बालुवाटारबाट एसएमएस आए पनि आफू नगएको दाबी गरे।
पुष ६, २०७७ सोमबार १३:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।