विश्वासपात्रले दुरुपयोग गर्छन् उच्चपदस्थको सामाजिक सञ्जाल

विश्वासपात्रले दुरुपयोग गर्छन् उच्चपदस्थको सामाजिक सञ्जाल

घटना : १ 

‘नयाँ व्यावसायिक यात्रामा अघि बढ्न मातृकाजीलाई सफलताको अग्रिम शुभकामना। हामी दुवैले कोरोना संक्रमण जितेपछिको पहिलो भेटमा उहाँले खुसी हुने योजना सुनाउँदा दुवै जना दंग...!’ 

प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्याण्डलबाट उनका प्रेस सल्लाहकार सूर्य थापाले केही हप्ताअघि गरेको ट्विट हो यो। थापाले पत्रकार मात्रिका पौडेलसँगको फोटो सहितको शुभकामना ट्विट गरेका थिए। पछि थापाले उक्त ट्विट झुक्किएर पोस्ट भएको भन्दै माफी मागेका थिए। 

घटना : २ 

गत पुसमा प्रधानमन्त्री ओलीले आफ्नो ट्विटर ह्याण्डलबाट भारतीय कांग्रेस आईकी नेत्री सोनिया गान्धीले नागरिकता कानुनविरुद्ध बोलेको भिडियो रिट्विट गरे। त्यसपछि भारतीय मिडियाले उक्त विषय उठाएपछि प्रधानमन्त्रीको सचिवालयले भुलवश भिडियो रिट्विट भएको र त्यस विषयमा छानबिन गर्ने बताएको थियो। तर, छानबिनबारेको प्रगति सार्वजनिक भएन। 

प्रधानमन्त्रीको ट्विटर ह्यान्डल दुरुपयोग भएका यी दुई उदाहरण मात्र हुन्। उच्चपदस्थहरूको सामाजिक सञ्जाल अकाउन्ट बेलाबेला दुरुपयोग हुने गरेका छन्।  

देशको कार्यकारी प्रमुख राष्ट्रपति विद्यादेवी भण्डारीको ट्विटर ह्याण्डलबाट यसअघि सरकार र पार्टीको ‘भक्तिगान’ ट्विट गरिएको पाइएको थियो। पछि ट्विटर अकाउन्ट ‘ह्याक’ भएर पोस्ट भएको भन्दै त्यसलाई मेटाइएको थियो। 

साइबर सुरक्षाविज्ञ भने राष्ट्रपतिलगायत उच्चपदस्थहरूको सामाजिक सञ्जाल अकाउन्ट ‘ह्याक’ गर्न सहज नभएको बताउँछन्। उच्चपदस्थहरूका आइटी सल्लाहकार हुने भएकाले आममानिसजस्तो उनीहरूको सामाजिक सञ्जाल अकाउन्ट ‘ह्याक’ गर्न सहज नभएको सुरक्षाविज्ञको भनाइ छ। 

राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले राष्ट्रपति ट्विटर ह्याण्डलबाट गरिएका ट्विटबारे आफूलाई जानकारी नभएको बताए। 

किन हुन्छ उच्चपदस्थहरूको सामाजिक सञ्जाल अकाउन्ट दुरुपयोग ? 

उकेराकर्मीको प्रश्नमा जनसम्पर्कविज्ञ लीलानाथ पाण्डे भन्छन्, ‘उच्चपदस्थहरूले आफूलाई नोक्सान हुने काम गर्ने सवाल हुँदैन। उनीहरूका विश्वासपात्रले पदको मर्यादा बुझ्न नसक्दा गल्तीहरू दोहोरिएको हो।’ 

यसले उच्चपदस्थहरूको प्रवृत्तिमाथि प्रश्न उठेको विज्ञहरूको भनाइ छ। साथै यसले अन्तर्राष्ट्रिय स्तरमा देशको छवि राम्रो नबनाउने उनीहरू बताउँछन्। 

अर्का जनसम्पर्कविज्ञ श्रीराम पौडेल उच्चपदस्थहरूले आफ्नो पदको मर्यादालाई ख्याल नगरी सामाजिक सञ्जालमा सामग्री पोस्ट गर्ने गरेको बताउँछन्। यसले उच्चपदस्थहरूले जनसम्पर्कमा अफ्ठयारो भोग्नुपरेको पौडेलको भनाइ छ। उनी भन्छन्, ‘हामी नजानेका कुरा सिक्न चाहँदैनौं। जन्मजात नै सबै कुरामा दक्ष भएजस्तो गर्छौं।’

उच्चपदस्थहरूको सामाजिक सञ्जालको दुरुपयोगले कुटनीतिक, नैतिक तथा सामाजिक रूपमा नकारात्मक प्रभाव पार्ने विज्ञहरू बताउँछन्। 

रोक्ने कसरी ? 

साइवर सुरक्षाविज्ञ सुयस नेपाल उच्चपदस्थहरूको सामाजिक सञ्जाल दुरुपयोग रोक्न उच्चपदस्थहरू वा उनीहरूका सामाजिक सञ्जाल अकाउन्ट चलाउने ‘विश्वासपात्र’लाई सामाजिक सञ्जालको प्रयोग र त्यसले पार्ने प्रभावबारे तालिम आवश्यक रहेको औंल्याउँछन्।

‘उच्चपदस्थहरू वा उनीहरूका ‘विश्वासपात्र’लाई सामाजिक सञ्जाल प्रयोग र त्यसले पार्ने प्रभावबारे तालिमसँगै यसको मर्यादा र आत्मानुसासनको सीमा पनि सिकाइनु जरुरी छ।’

जनसम्पर्कविज्ञ पाण्डे पनि उच्चपदस्थहरूले सामाजिक सञ्जालको प्रयोग गर्दा आफ्नो पदको मर्यादा र आत्मानुशासनको पालना गर्नु पर्ने बताउँछन्।

‘उच्च पदस्थहरूले आफ्नो प्रभाव क्षेत्रलाई बुझ्न जरुरी छ,’ उनी थप्छन्, ‘उनीहरूको सानोभन्दा सानो कुरा जनताको चासोको विषय हो। त्यसकारण उनीहरूले सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषा, शब्द चयन, भाव, आदर र कूटनीतिको सन्तुलन हुन जरुरी छ। यसको पालना नहुँदा नकारात्मक प्रभाव पार्छ।’ 

पुष ४, २०७७ शनिबार १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।