नेपाल कोरोना संक्रमण जोखिममुक्त भएको हो र ?
कोरोना संक्रमण विरुद्धको खोप आए पनि संक्रमणको दोस्रो लहरलाई पहिलोझैं विकराल बन्न नदिन जर्मनले पुनः तीन साता बेलुका लकडाउन नै घोषणा गरिसक्यो।
तर, प्रारम्भदेखि नै कोरोना संक्रमणमा कमजोर भएको नेपालमा एकपछि अर्को सार्वजनिक स्थान खोल्ने लहड बढेको छ। बिहीबारबाट सरकारले संक्रमणको दर उच्च रहेको छिमेकी देश भारतसँगको हवाई उडान खुला गरिसक्यो।
बुधबारबाट पशुपति मन्दिर र चिडियाखाना खुला भइसक्यो। सरकारी निकायका गतिविधि हेर्दा कोरोना संक्रमण शून्य विन्दुमा झरिसकेकोझैं देखिन्छ। सार्वजनिक सवारी साधन र सार्वजनिक स्थलको अवस्था उस्तै छ।
राजनीतिक विरोध प्रदर्शनले गति लिएको छ। सत्ताधारी दलमा भेला र बैठकको संख्या रोकिएको छैन। पार्टी प्यालेस, सपिङ मल, होटल अनि रेस्टुराँहरू खुला भइसके।
नेपालमा संक्रमणको अवस्था निष्फिक्री हुने अवस्थामा पुगिसकेको हो र ?
चिकित्सकहरूले यसअघि नै जाडोमा संक्रमणको बढी जोखिम हुने बताउँदै आएका छन्। गर्मीको तुलनामा जाडोमा भाइरस बढी समयसम्म बाँच्न सक्ने भएकाले संक्रमणको जोखिम बढी हुने चिकित्सकको मत छ। तर, जोखिम न्यूनीकरणमा न सरकारी पक्ष न त सर्वसाधारणले नै चासो देखाएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार नेपाल कोरोना संक्रमण नियन्त्रणमा ढुक्क हुनसक्ने अवस्थामा पुगेको छैन। भिडभाड हुने क्षेत्रहरूमा संक्रमण बढिरहेको छ। उनी भन्छन्, ‘महामारीको समयमा हेल्चेक्रयाइँ गर्दा फेरि संक्रमण फैलने जोखिम छ।’
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन पनि युरोप, अमेरिका जस्ता मुलुकमा संक्रमणको अवस्थामा उत्तरचढाव भइरहेकाले कोरोनालाई बेवास्ता गरेर हिँड्न नहुनेतर्फ सजग गराउँछन्। ‘अहिले नेपालको अवस्था ढुक्क हुने चरणमा पुगेको छैन,’ उनले भने, ‘संक्रमणको जोखिम उत्तिकै छ।’
किन हुँदैछ बेवास्ता ?
पछिल्लो समय नेपालमा कोरोना संक्रमित हुनेको संख्या निकै कम देखिने गरेको छ। सरकारी तथ्यांक हेर्ने हो भने संक्रमण नियन्त्रणको चरणमा पुगेकोझैं भान पर्छ। यसले सर्वसाधारणमा संक्रमण नहुने भ्रम बढाएको हुन सक्छ।
कोरोना संक्रमणसम्बन्धी खोप बनेको र परीक्षण सफल भएको समाचार दैनिक सार्वजनिक भइरहेका छन्। अमेरिका लगायतका केही देशमा त खोप लगाउने क्रम सुरु नै भइसकेको छ।
नेपालमा पनि कोरोना खोप ल्याउने बहस चलिरहेको छ। सरकारी अधिकारीले खोप ल्याउने प्रक्रिया अगाडि बढाएको बताइरहेका छन्। यसले सर्वसाधारणमा कोरोना संक्रमण भए पनि खोप लगाउन पाइन्छ भन्ने विश्वासले चहलपहल बढाएको देखिन्छ।
तर, तत्कालका लागि यी दुवै भ्रम मात्र हुन्। नेपालमा न संक्रमणको दर घटेको छ न त तत्काल कोरोना विरुद्धको खोप नै आउने सम्भावना देखिन्छ।
संक्रमित घटेका छैनन्
असोज १ को तथ्यांक अनुसार नेपालमा १० हजार ६ सय ४१ पिसिआर गरियो। एक हजार दुई सय ४६ जनामा संक्रमण देखिएको थियो। परीक्षण गरिएका र संक्रमितको संख्या दाँजेर हेर्दा संक्रमण दर ६.७ प्रतिशत देखिन्छ। सोही दिन चार जनाको संक्रमणका कारण ज्यान गयो। संक्रमितमध्ये मृत्युदर ०.६ प्रतिशत थियो। एक हजार दुई सय ४३ जना निको हुँदा संक्रमणमुक्त हुनेको दर ७१.१ थियो। सक्रिय संक्रमित ७१.३ प्रतिशत थिए।
असोज १५ सम्म आइपुग्दा परीक्षण गरिएकामध्ये संक्रमण दर बढेर ७.७ प्रतिशत पुग्यो। मृत्युदर ०.६ प्रतिशत रह्यो।
असोज ३० सम्ममा १६ हजार पाँच सय ३१ पिसिआर परीक्षण भएको थियो। परीक्षण गरिएकामध्ये चार हजार तीन सय ९२ जनामा संक्रमण देखियो, जुन संक्रमण दर १०.१ प्रतिशत हो। २१ जनाको ज्यान गएकाले मृत्युदर ०.६ प्रतिशत पुग्यो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कात्तिक १५ को तथ्यांक अनुसार नौ हजार दुई सय ७९ पिसिआर परीक्षण गरिएकोमा दुई हजार पाँच सय आठ जना संक्रमित भए। असोजको तुलनामा संक्रमण दर बढेर ११.८ पुगेको थियो। १७ जनाको ज्यान गएकाले मृत्युदर ०.५ प्रतिशतमा पुग्यो।
कात्तिक ३० मा ६ हजार चार सय ७६ मात्रै पिसिआर परिक्षण भयो, जसमा एक हजार चार सय ७७ संक्रमित भएको देखिन्छ। परीक्षण गरिएकोमध्ये संक्रमण दर १३ प्रतिशत हो। यो समयमा पनि संक्रमण दर बढेकै देखिन्छ। ६ जनाको ज्यान गयो, जुन मृत्युदर ०.६ प्रतिशत हो।
मंसिर १५ को तथ्यांक हेर्दा नौ हजार नौ सय ११ व्यक्तिमा पिसिआर परीक्षण गरिएकोमध्ये एक हजार चार सय ७४ जना संक्रमित भए, जुन संक्रमित हुनेको दर १३.४ हो। मृतकको संख्या बढेर २९ पुग्यो। मृत्युदर ०.६ प्रतिशत पुग्यो।
मंसिर ३० गते सात हजार एक सय १७ जनामा पिसिआर परीक्षण गरिएकोमा एक हजार नौ सय ९६ जना संक्रमित भए। संक्रमण दर बढेर १३.५ प्रतिशत पुग्यो। १४ जनाको मृत्यु भयो, जुन ०.६८ प्रतिशत हो।
यही सरकारी तथ्यांकले परीक्षण गर्नेको संख्या घटे पनि संक्रमितको संख्या भने बढिरहेको देखिन्छ।
घट्यो परीक्षण
निर्देशक डा. पाण्डे विभिन्न काम तथा पेशा, यात्राका लागि आवश्यक पर्ने व्यक्तिले मात्र अहिले कोरोना परीक्षण गर्ने, तर सामान्य लक्षण भएका संक्रमितहरू कोरोना परीक्षण गर्न नआउने बताउँछन्।
अहिले कन्ट्रयाक ट्रेसिङको काम लगभग रोकिइसकेको छ। निर्देशक डा. पाण्डे कन्ट्रयाक ट्रेसिङका लागि पालिकालाई तालिम दिएर सहजीकरण गरेको, तर कन्ट्रयाक ट्रेसिङका लागि संक्रमितहरू आकर्षित नभएको बताउँछन्। निर्देशक डा. पाण्डेले भने, ‘गाह्रो भएपछि मात्रै अस्पताल पुगेको देखिन्छ।’
टेकु अस्पतालका प्रवक्ता अनुप बास्तोला अस्पतालमा संक्रमितको संख्या कम भएको बताउँछन्। तर, हेलचेक्रयाइँ गरे नेपालमा कोरोनाको दोस्रो लहर आउने जोखिम बढिरहेको उनले बताए।
भाइरसको साइकल
चिकित्सकको मत अनुसार भाइरसको पनि निश्चित साइकल हुन्छ। निश्चित साइकल पूरा भएपछि भाइरस आफै पनि कमजोर हुँदै जान्छ। डा. पुन भन्छन्, ‘कोरोनाको लामो समयदेखिको एउटा गति थियो। त्यो गति सधैं रहन्छ भन्ने हुँदैन।’
अन्य महामारीको इतिहास हेर्दा पनि निश्चित साइकल पूरा भएपछि भाइरस आफै पनि कम भएको देखिन्छ। सार्स, मर्स, विभिन्न किसिमका इन्फ्लुन्जालाई यसको उदाहरणका रूपमा लिन सकिन्छ।
डा. पुन भन्छन्, ‘कुनै पनि महामारी एउटा निश्चित विन्दुसम्म उत्कर्षमा पुग्छ। त्यसपछि कम हुँदै जान्छ।’
चिकित्सकको मत अनुसार कोरोना भाइरस संक्रमित भएर ६० प्रतिशतभन्दा बढी व्यक्तिमा यो रोगविरुद्ध लड्ने क्षमता (एन्टिबडी) बनेको अवस्थामा रोग कम हुँदै गएको मान्न सकिन्छ। यो आधारमा धेरै व्यक्तिमा कोरोना संक्रमण भइसकेको र एन्टीबडी बनेको हुनसक्छ। तर, नेपालमा कति व्यक्तिमा एन्टिबडी बन्यो भन्ने यकिन अध्ययन भएको छैन। त्यसैले संक्रमणको जोखिम घटिसकेको छैन।
सरकारले भने नेपालमा खोप भित्र्याउने प्रक्रिया अघि बढाइरहेको दाबी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७२ प्रतिशत जनसंख्यालाई पुग्ने खोप भित्र्याउनका लागि पूर्वतयारी गरिरहेको दाबी गरेको छ।
तर, खोप नै भित्रिए पनि स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने निर्देशक डा. पाण्डे बताउँछन्। उनले भने, ‘खोप सप्लिमेन्ट्री हैन, कम्प्लिमेन्ट्री हो।’
पुष ३, २०७७ शुक्रबार ०७:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।