अराजक सत्तापक्ष, लाचार प्रतिपक्ष
![अराजक सत्तापक्ष, लाचार प्रतिपक्ष](https://www.ukeraa.com/images/news/16082229081608222908.jpeg )
काठमाडौंः नेकपाभित्र चर्कदै गरेको किचलोकैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको संबैधानिक परिषद्को बैठकमा उनकै पार्टीबाट निर्वाचित सभामुख अग्निप्रसाद सापकोटा सहभागी भएनन्।
कारण थियो पार्टीभित्र सहमति नै नगरी एकलौटी नियुक्तीको प्रयास। तर त्यही बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवा भने सहभागी भए।
सभामुख सहभागी नहुँदा कोरमै नपुगेर बैठक स्थगित भयो। यसकै झोकमा प्रधानमन्त्री ओलीले संबैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर सभामुखसँगै प्रमुख प्रतिपक्षी दलको नेता नआए पनि बैठक बसेर निर्णय गर्नसक्ने ब्यवस्था गरे। यसको चर्को आलोचना भयो। तै पनि बैठक बस्यो।
यसले आन्तरिक राजनीति चर्कदै गएपछि अन्तत प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिने निर्णयमा पुग्न बाध्य भए। उनलाई बाध्य पार्ने प्रमुख प्रतिपक्षी दलको भूमिका भन्दा पनि पार्टीकै नेताहरुको दबाब प्रमुख कारण थियो।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोध त गर्यो तर दवावमुलक थिएन त्यो। उसले प्रधानमन्त्रीले जे भन्यो त्यो खुरुक्क मान्ने न राष्टपतिलाई दबाब दिनसक्यो न त प्रधानमन्त्रीलाई नै। मुखैमा आएको संसद अधिवेशन बोलाउन समेत प्रभावकारी भूमिकाखेल्न नसकेको अवस्थामा बरु नेकपाकै नेताहरुले विशेष महाधिवेशनको कार्ड फालेर प्रधानमन्त्री ओलीलाई पछाडि हट्न बाध्य बनाए। उनी हटे पनि।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहबीच सहमती भयो। अध्यादेश फिर्ता हुने भयो भने दाहाल समूहले विशेष महाधिवेशन बोलाउन राष्टपतिलाई बाध्य पार्ने प्रकृया पनि रोके। यी सबै प्रकृयामा प्रमुख प्रतिपक्षी दल र अन्य विपक्षी दलसमेत रमिते मात्र बने।
यी सबै घटनाक्रमले निरन्तर खवरदारी गर्नुपर्ने प्रतिपक्ष नै सत्ताको साझेदारजस्तो देखियो। ‘देशमा प्रतिपक्ष पनि छ र ?’ भन्ने माहौल बन्यो। उता बरु नेकपाकै एक पक्षको भूमिका सशक्त प्रतिपक्ष झै देखियो। प्रधानमन्त्री ओलीको गलत कदम सच्याउन नेकपाकै नेताहरुको भूमिका निर्णायक बन्यो। राष्टपति ब्यक्तिको महत्वाकांक्षा केन्द्रित कामलाई उजागर गर्न पनि कांग्रेस भन्दा नेकपाकै नेताहरुको भूमिका प्रभावकारी देखियो।
राष्टप्रमुखको विवादित भुमिकालाई उजागर गर्न र सरकारको स्वेच्छाचारी कामलाई रोक्न सडक र सदनबाट प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने दायित्व बोकेको प्रमुख प्रतिपक्ष र अन्य विपक्षी दल निक्कै कमजोर देखिए। मुलुक प्रतिपक्षविहिन झै बन्यो। जसले सरकारलाई थप अराजक बनाउँदै लग्यो।
संसद बोलाउनुपर्ने समयको मुखैमा प्रधानमन्त्री ओली संबैधानिक परिषद्जस्तो महत्वपूर्ण निकायको संरचनालाई नै प्रभाव पार्नेगरी अध्यादेश ल्याउन नहिच्किचाउनु अनी पहिल्यै विवाद भएर फिर्ता भएको अध्यादेश दोहोरिएर आउँदा पनि ल्याप्चे लगाउन राष्टपति नहिच्किचिनुको प्रमुख कारण प्रमुख प्रतिपक्षी दलको कमजोर उपस्थिती थियो। प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दल कमजोरहुँदा सरकार अराजक बन्दै गयो।
राजनीतिक बिश्लेषक पुरञ्जन आचार्य प्रमुख प्रतिपक्षी कांग्रेसले जनताको विश्वास आर्जन गर्ने सुनौलो समय चुकाएको बताँउछन्। उसले ढिलो गरी मात्र आफ्नो भूमिका खोजेको बताए।
‘सरकारमा जाने लोभ,नियुक्तिको लोभमा पर्ने र कम्युनिष्ट फुट्छ भन्ने लोभमा कांगेस प्रस्तुत हुन हुँदैन थियो। जनताको बोलि बोल्नुपर्ने समयमा कांग्रेसको भूमिका कमजोर देखियो,’ विश्लेषक आचार्य भन्छन ।
सत्तापक्षकै सभामुखको विश्वास नगरेको संबैधानिक परिषद् बैठकमा समेत कांग्रेेस आफ्नो उपस्थिति देखाउनुलाई सत्ता साझेदारको जस्तो झल्को दिने गलत काम भएको उनले बताए।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा भने पछिल्लो समय कांगेसले सडकमा आफ्नो उपस्थिति प्रस्तुत गरेको र सांसद अधिवेशन सुरु गर्न सरकारलाई दवाव दिएको दाबी गरे पनि उनले यस अगाडि आफ्नो दलको भूमिका कमजोर रहेको भने स्विकार गरे।
‘यसअघि भूमिका नदेखिए पनि पछिल्लो समय सडकमा आएका छौँ। सांसदको नियमित अधिवेशन चलाउन माग गरेका छौँ,’ शर्माले भने।
न सांसद चलाउने कष्ट,न सडकमा उपस्थिति
मंसिर २९ गते प्रमुख प्रतिपक्षी दल कांगेस एक्कासी सडकमा देखियो। तर, सडकमा ओर्लिनुको कारण न कुनै जनजीविकाका सवाल थिए। न सरकारको शसक्त विरोधको बिषय नै। कारण थियो तनहुँमा पुल उद्घाटन गर्न गएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको बिषयमा देशव्यापी प्रदर्शन।
यसले कांग्रेस सडकमा त देखियो ।तर, शसक्त भूमिकामा नदेखिँदा विवादमा मात्र आयो। अन्य प्रतिपक्षी दलले समेत यो समयमा सडकमा उपस्थिति देखाँउन सकेनन।
धेरै समस्यालाई सम्बोधन गर्ने थलो ६ महिनादेखि बन्द छ। असार १८ मा बाट संसदको अधिवेशन भएपछि अबिधेशन बोलाउन प्रतिपक्षीको भूमिका शसक्त देखिन सकेको छैन। प्रतिपक्षले हस्ताक्षर संकलन गरेर सरकारलाई दवाव दिनसक्ने संबैधानिक व्यवस्था रहेपनि यसलाई समेत उपयोग गर्न चाहेनन।
संकटको समयमा संसद चल्थ्यो भने धेरै बिषयलाई सम्बोधन गर्न सकिने अवस्था थियो। तर, प्रतिपक्षी दलहरुले सांसद चलाउने दवाव दिने कष्ट गरेनन्। कांग्रेसले मंसिर १९ मा मात्र बिज्ञप्ति निकालेर संसद अधिवेशन बोलाउन माग गरेको छ। उसले चाहे राष्टपतिसमक्ष अधिवेशन माग गरेर बाध्य बनाउनसक्छ। तर त्यतातिर जाने उसको मुड देखिन्न।
कांग्रेस प्रवक्ता शर्मा केही हप्ताका लागि एउटा बिषयमा मात्र केन्द्रित हुने ‘बिशेष अबिधेशन’ को साटो नियमित अधिवेशन नै चलाउन दबाब दिईरहेको बताए।
प्रतिपक्षको भूमिका धान्दै सत्तापक्ष
केहि दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषदसम्बन्धी अध्यादेश’ संबैधानिक नियुक्तिको तयारी थाले। राष्ट्रपतिबाट जारी भएको अध्यादेशको नेकपाभित्रैबाट चर्को बिरोध भयो। पार्टी भित्रकै दवावका कारण सरकार अध्यादेश फिर्ताको निर्णय लिन बाध्य भयो।
सत्त्ताधारी पार्टी नेकपाकै भित्रकै खवरदारीका कारण सरकारले कतिपय निर्णय फिर्ता लिन बाध्य भएको छ। यस्ता कदममा नेकपा भित्रबाटै चर्को बिरोध हुने गरेको छ।जतिबेला प्रतिपक्ष कांगेस लगायतले कुनै प्रतिक्रिया दिन भ्याएका हुँदैनन। यस्तो अवश्थामा समेत संविधानको रक्षा गर्न प्रतिपक्षी दलहरु चुकेका देखिन्छन। कांगेस प्रवक्ता शर्मा अध्यादेशबारे के गर्ने भन्ने छलफल हुने क्रममै सरकारले फिर्ताको निर्णय गरेको बताँउछन।
कांग्रेसले बास्तै गर्दैन : जनता समाजवादी
सांसदमा दोस्रो प्रतिपक्षी दल जनता समाजवादीले कांग्रेसको प्रतिपक्षको भूमिका शसक्त नहुँदा समस्या आएको बताँउछन। जनता समाजवादी पार्टीका कार्यकारीणी सदस्य केशव झा प्रतिपक्षका भूमिकाका सवालमा कांग्रेसले सहकार्य गर्न नचाहेको आरोप लगाँउछन।
‘कांगेसले बाहिर भनेजस्तो सहकार्यको प्रस्ताव पनि गरेको छैन। हामीले राखेको प्रस्तावलाई पनि मतलव राख्ने गरेको छैन।’उनी भन्छन,‘हामीले आफ्नो तर्फबाट सरकारलाई दवाव दिईरहेका छौँ। सडकमा निस्कने अवश्था पनि कहाँ थियो र?’उनी भन्छन।
एक्लो राप्रपा
सांसदमा एक मात्र सांसदको प्रतिनिधित्व रहेको तेस्रो प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने एक्लै सरकारलाई खवरदारीमा लागेको छ। राप्रपा नेता मोहन श्रेष्ठ प्रमुख प्रतिपक्षि दल कांग्रेस र जनता समाजवादी समेट्न अग्रसरता लिन नसकदा प्रतिपक्षको भूमिका कमजोर देखिएको आरोप लगाँउछन।
‘एक जनाको प्रतिनिधित्व रहेपनि सरकारलाई खवरदारी गर्ने, ज्ञापनपत्र वुझाउने र खवरदारी गर्ने काम गरिरहेका छौँ।’उनी भन्छन,‘संगठित रुपमा नभएपनि एक्लै सक्ने गरिरहेका छौँ।’
पुष २, २०७७ बिहीबार २२:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।