अन्तर प्रदेश परिषदको बैठक नबस्दा प्रदेश र स्थानीय तहको काममा अबरोध

अन्तर प्रदेश परिषदको बैठक नबस्दा प्रदेश र स्थानीय तहको काममा अबरोध

सुर्खेत : संघ, प्रदेश र स्थानीय सरकारलाई अन्तरसम्बन्धमा जोड्ने र समन्वयकारी भुमिका निर्वाह गर्ने अन्तर प्रदेश परिषदको बैठक लामो समयसम्म बस्न नसक्दा प्रदेश र स्थानीय तहका कामहरु अन्यौलमा परेका छन्। 
 

संविधानमा व्यवस्था गरिएको अन्तरप्रदेश परिषदले प्रदेश र संघीय सरकारका नीति नियममा देखिएका कानूनी जटिलतालाई खुकुलो बनाउन समन्वय गर्नु पर्ने भएपनि लामो समयदेखि बैठक बस्न नसक्दा अन्यौलता बढेको हो। 

अन्तर प्रदेश परिषदको बैठक नबस्दा संघीय सरकारसंग समन्वयमा तथा प्रदेशका बजेट र योजना कार्यक्रम कार्यान्वयनमा समेत समस्या उत्पन्न भएको छ। 

कोरोना भाइरस संक्रमणबाट गुज्रिरहेको कर्णाली प्रदेशमा के कसरी उपचार गर्नेलगायतका काममा संघ र प्रदेश सरकारले प्रत्यक्ष रुपले समन्वय गर्नुपर्ने भएपनि बैठक बस्न नसक्दा त्यो हुन सकेन। सरुवा रोग सम्बन्धि कर्णालीमा हस्पिटल स्थापना योजनामा पनि समन्वय हुने हुँदा त्यो पनि हुन सकेको छैन। 

प्रदेश र संघीय सरकार वा प्रदेश–प्रदेशवीच विवाद भए संविधानमा व्यवस्था भए अनुसार अन्तर प्रदेश परिषदले समन्वय गरि समाधान गर्नुपर्ने हुन्छ। 

संविधानको धारा २३४ मा अन्तर प्रदेश परिषदको व्यवस्था गरिएको छ। संघीय सरकारसंग समवन्य गर्न संविधानमा व्यवस्था गरिएको अन्तर प्रदेश परिषदको बैठक लामो समयसम्म बस्न नसक्दा प्रदेश सरकारले प्रभावकारी कार्य गर्न नसकेको हो। 

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने अन्तर प्रदेश परिषदको कार्यविधि पारित गरेपछि बैठक बस्न सकेको छैन। परिषदका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पार्टीको विवाद व्यवस्थापनमा सक्रिय भएकाले परिषदको बैठक बस्न नसकेको हो। जसले गर्दा संघ र प्रदेश सरकारबीच सहकार्य तथा समन्वय भन्दा तिक्तता बढ्न थालेको छ । 

प्रधानमन्त्री अध्यक्ष रहेको परिषदको बैठक नियमितरुपमा बस्नु पर्ने कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए। उनले संघीय सरकारले प्रदेशमा भूमि स्वामित्व हस्तान्तरण नगर्दा पूर्वाधार निर्माणमा ढिलाईलगायतका समस्या उत्पन्न भएको जनाए। 

‘वर्षमा दुई पटक बैैठक बस्ने गरिएको थियो तर लामो समयसम्म बैठक बस्न नसक्दा प्रदेशमा संघीयता कार्यान्वयमा देखिएका जटिलता, प्रदेश र संघीय सरकारबीच समन्वयमा अभाव छ’ मन्त्री ज्वालाले भने,‘अन्तर प्रदेश परिषदको बैठक नबस्दा विभिन्न अन्यौल्ता तथा कतिपय बुझाईमा समस्या उत्पन्न भएको छ।’  
 

पुष १, २०७७ बुधबार १७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।