फस्टाउँदै मत्स्य पर्यटन
जिल्लाको सबैजसो क्षेत्रमा माछापालन भए पनि खासगरी छपिया क्षेत्रमा व्यावसायिक माछापालन गर्नेहरू धेरै छन्। माछाका थरिथरिका परिकारको स्वाद लिने बढ्दै जाँदा यस क्षेत्रमा पर्यटकलक्षित गतिविधि बढ्दो छ।
माछापालनमा छपिया देशकै प्रख्यात ठाउँ मात्रै होइन, यो ठाउँलाई माछैमाछाको क्षेत्र भनेर पनि चिनिन्छ। ४० वर्ष अघिदेखि माछापालन सुरु गरिएको यो ठाउँमा अहिले माछापालनमा रुचि भएकादेखि घुमन्ते र माछाका स्वाद लिने आन्तरिक पर्यटक आउने गरेका छन्।
माछाको स्वाद चखाउन यस क्षेत्रमा सानादेखि ठूला रेस्टुरेन्ट र रिसोर्टहरू खुलेका छन् भने केही खुल्ने तरखरमा छन्। कृषकले पर्यटकलक्षित गरेर पोखरीमा बोटिङ सञ्चालन गरेका छन्।
शान्त वातावरण, माछा पोखरीमा बोटिङ, खान–बस्नको राम्रो प्रबन्ध, थरीथरीका माछाका परिकार, सहज सडकमार्गले पनि यस क्षेत्रमा आन्तरिक पर्यटक लोभिने गर्छन्। ‘यहाँ घुम्न आउनेलाई हामीले आफ्नै पोखरीबाट झिकेको ताजा माछाको विभिन्न परिकार पस्कन्छौं, कतिपयले आफै फिसिङसमेत गर्ने गर्छन्,’ छपियामा रहेको लुम्बिनी प्यालेस रिसोर्ट प्रालिका सञ्चालक अर्जुन भुसालले भने।
माछापालनमा देशमै प्रख्यात छपिया क्षेत्रमा आन्तरिक पर्यटकको भीड लाग्न थालेपछि कृषकले माछापालनसँगै धमाधम रिसोर्टहरू सञ्चालनमा ल्याइरहेका छन्। पछिल्लो समय यस क्षेत्रमा स्टार होटलसमेत खुलिसकेका छन्।
छपिया क्षेत्रमा एकपटक पुगेर माछाको स्वाद लिएका पाहुना पटक–पटक पुग्ने गर्छन्, बिदाको दिन त यहाँ थेग्नै नसक्ने गरी आन्तरिक पर्यटकको भीड हुने गर्छ।
‘सबै किसिमले सुविधा भएपछि यो क्षेत्र पर्यटकको रोजाइमा परेको हो जस्तो लाग्छ,’ भुसाल भन्छन्, ‘हरेक वस्तु ताजा, स्वस्थ, पारिवारिक वातावरण र मनोरञ्जन छपिया क्षेत्रमा छ,’ भुसालले भने।
अहिले माछापालक कृषकले होटल व्यवसायमा पनि करोडौं लगानी गरिरहेका छन्। ठूलाठूला माछा पोखरीको बीच भागमा खान–बस्नको व्यवस्था गरिएको छ। पोखरीको बीचमा बनाइएका कटेजहरूमा बसेर माछाको परिकार खाना पाउँदा पर्यटक निकै खुसी हुने गरेका छन्। लुम्बिनी प्यालेसले त पोखरीको बीचमा सुत्ने कोठाहरू बनाएको छ।
‘ती कोठाहरूमा डुंगा सयर गरेर जाने–आउने गर्नुपर्छ,’ भुसालले भने, ‘हामीले सुत्ने कोठाबाटै फिसिङ गर्न पाउने व्यवस्थासमेत गरेका छौं।’
शान्त वातावरणमा ताजा माछाका फरक फरक स्वाद लिन पाउँदा आन्तरिक पर्यटक खुसी छन् । ‘छपिया क्षेत्रमा अन्यत्रभन्दा निकै स्वादिष्ट माछा पाइन्छ, स्वादसँगै घुम्न र खान–बस्न पनि राम्रो प्रबन्ध छ,’ शनिबार छपियामा भेटिएका बुटवलका जीवन पौडेलले भने, ‘पहिलेभन्दा धेरै राम्रो भइरहेको छ। पर्यटक लोभ्याउने गरी यहाँ संरचना बनिरहेका छन्।’
छपिया क्षेत्रमा माछाको परिकार खान र माछासँग रम्न रूपन्देहीसँगै, कपिलवस्तु, नवलपरासी, पाल्पा, चितवनबाट समेत आन्तरिक पर्यटक आउने गरेका छन्। छपियामा दैनिक ५ सयको हाराहारीमा आन्तरिक पर्यटक पुग्छन्।
‘मान्छे कोलाजबाट केही पर जान चाहन्छ, जहाँ पारिवारिक वातावरण होस्, सुन्दर, शान्त र स्वादिष्ट परिकार पाइयोस्,’ आरसिएस फिस रिसोर्टका सञ्चालक रमेशचन्द्र मुराउ भन्छन्, ‘छपिया क्षेत्रमा यो व्यवस्था छ। त्यसैले धेरैको रोजाइ परिरहेको छ।’
यहाँ पुग्ने पर्यटकले फ्राई, तन्दुरी, स्टिम, सुप, ताबा, करी, अचार, सुकुटीलगायत माछाका परिकारको स्वाद लिन पाउँछन्। यहाँ सानाठूला गरी दुई दर्जनभन्दा बढी होटल तथा रेस्टुराँ खुलिसकेका छन्। ती सधैं पर्यटकले भरिभराउ हुन्छन्।
सुरुमा माछापालन मात्रै गर्दै आएका यहाँका किसानले ४/५ वर्ष अघिदेखि मत्स्य पर्यटनको योजना अघि सारेका थिए। त्यसयता माछापालनसँगै होटल तथा रेस्टुराँ खुल्न थालेका हुन्। अभियानमुखी माछापालनबाट राम्रो आम्दानी गरिरहेका किसानले माछासँग रम्ने र परिकार खाने पर्यटकलाई तान्ने उद्देश्यले मत्स्य पर्यटनको योजना अघि सारेका थिए।
मुराउ भन्छन्, ‘हामीले जुन उद्देश्यले अभियान सुरु गरेका थियौं, त्यो सार्थक बन्दै गएको छ, पर्यटकहरूले एकपल्ट छपिया क्षेत्रमा पुग्नुपर्छ है भन्न थालेका छन्। यो हामी सबै किसानका लागि खुसीको क्षण हो।’
पुष १, २०७७ बुधबार ०७:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।