तीन वर्षभित्र भेरीको पानी सुर्खेत उपत्यकामा 

तीन वर्षभित्र भेरीको पानी सुर्खेत उपत्यकामा 

यस अघिको स्थान उपयुक्त नदेखिएपछि नयाँ ठाउँको अध्ययन सुरु गरिएको छ। खानेपानी आयोजनालाई दीर्घकालीन रुपमा अघि बढाउन विभागको प्राविधिकसहितको टोली अहिले सुर्खेतमा छ। 

पहिले भएको अध्ययनमा भेरी पुुल र झुप्रा खोलाको दोभानबीचबाट पानी पम्पिङ गरेर ल्याइने थियो तर, उक्त ठाउँ उपयुक्त नभएपछि ५७४ मिटर माथिबाट पानी ल्याइने गरी अध्ययन अघि बढाइएको विभागले जनाएको छ। 

उक्त ठाउँबाट पानी ल्याउन सात किलोमिटर पाइपलाइन निर्माण गरिने छ। भेरीबाट चार सय मिटरमाथि पम्पिङ गरेर अमृतडाँडासम्म पानी ल्याउन मात्रै करिब दुई अर्ब लगानी लाग्ने अनुमान गरिएको छ। 

अमृतडाँडामा मात्रै १२ हजार क्यूबिक लिटरको ट्याङ्की निर्माण गरिने छ। अमृतडाँडामा पानी ल्याइसकेपछि वीरेन्द्रनगर उपत्यकामा पानी वितरणका लागि संचरना तयार गर्न चार अर्ब ६३ करोड ७९ लाख नौँ हजार रुपैयाँ लाग्ने अनुमान विभागले गरेको छ।  

विभाग महानिर्देशक सूर्यराज कंडेलले दीर्घकालीन रुपमा कसरी योजना अघि बढ्न सकिन्छ भनेर छलफलमै रहेको बताए।

ठूलो लगानीमा गरिने योजना भएकाले कसरी अघि बढाउन सकिन्छ भनेर विज्ञहरुसँग छलफलमा रहेको भन्दै उनले अब काम तिव्रगतिका साथ अघि बढाउने जानकारी दिए। 

उनले मेलम्ची पछिको दोस्रो ठूलो आयोजनाको रुपमा यस आयोजनालाई हेरिएको उल्लेख गरे। उनले पहिलेको अध्ययनमा हेरिएको ठाउँमा टेष्ट बोरिङको लागि गरिएको संरचना बाढीले बगाएपछि अर्को ठाउँमा हेरिएको जानकारी दिए। 

पहिलेको ठाउँमा घाट पर्ने र खर्चका हिसाबले पनि बढी लाग्ने, प्राकृतिक हिसाबले सबै कुरालाई मध्यनजर गर्दै अर्कोठाउँ हेरिएको उनको भनाइ छ। 

उपत्यकामा भेरीको पानी ल्याउन संघीय, प्रदेश सरकारले पटक पटक बजेट बिनियोजन गरे पनि योजना अघि नबढ्दा फ्रिज हुँदै आएको थियो । 

अहिले सुर्खेत खानेपानी उपभोक्ता संस्थाले वीरेन्द्रनगर उपत्यकामा खानेपानीको सेवा दिइरहेको छ। विभिन्न स्रोत गरेर अहिले उपत्यकामा १५७ लिटर प्रतिसेकेण्ड पानी आउँछ। तर, उपत्यकाको खानेपानी समस्या समाधान गर्न २५७ लिटर प्रतिसेकेण्ड पानी आउनुपर्छ। 

अहिले वीरेन्द्रनगरमा १८ हजारको हाराहारीमा धाराहरु छन्। अबको ३० वर्षलाई मध्यनजर गर्दै वीरेन्द्रनगर उपत्यकामा खानेपानी योजना निर्माण गरिने र तत्कालको समस्या समाधान गरिने गरी दीर्घकालीन योजना अघि बढाउन विभागले सक्रियता देखाएको हो। 

अहिले वीरेन्द्रनगरको जनसंख्या डेढ÷दुई लाख सम्म रहेको र अबको ३० वर्षमा चार लाख पुग्ने अनुमान गरिएको छ। सोही अनुसार नै दीर्घकालीन रुपमा यो योजनालाई अघि बढाइने गरी विभाग लागेको हो।

एक हप्ता भित्र भेरीमा इन्टेक बनाउने ठाउँमा गहिराई नाप्ने र संरचना डिजाइनको काम दुई महिना भित्र सक्ने गरी प्राविधिक टोली अघि बढेको छ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश राजधानीको खानेपानी समस्या समधान गर्न प्रदेश सरकारले पहिलो प्राथमिकता दिएको बताए। उनले खानेपानी समस्या समाधानका लागि संघीय र स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्ने, बजेट व्यवस्थापनमासमेत तयार रहेको जानकारी दिए। 

मंसिर ३०, २०७७ मंगलबार १३:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।