इजरायलको रोजगारी खुलाउने तयारी 

इजरायलको रोजगारी खुलाउने तयारी 
तस्बिर : अमर उजाला।

वैदेशिक रोजगार विभागले इजरायलमा नेपाली कामदार पठाउने सम्बन्धमा बनेको कार्यविधि स्वीकृति भएपछि रोजगारीका लागि इजरायल खुला गर्ने तयारी गरेको हो।

असोज दोस्रो साता भएको नेपाल र इजरायल सरकारबीचको सम्झौतापछि नयाँ प्रक्रियाबाट नेपाली पठाउने योजना अनुसार बनाइएको कार्यविधि स्वीकृतिको चरणमा छ। 

कार्यविधि १० दिनभित्र स्वीकृति भई इजरायलको लागि रोजगारी आह्वान गर्ने विभागको तयारी छ। 

विभागले पहिलो चरणमा केयर गिभर लैजाने तयारी थालेको छ। यसका लागि अनलाइन वा अन्य कुनै माध्यमबाट निवेदन माग गर्ने तयारी थालिएको विभागले जनाएको छ।

सन् २०१५ मा नेपाल र इजरायलबीच नेपालबाट केयर गिभर इजरायल लैजानेसम्बन्धी पाइलट कार्यक्रममा हस्ताक्षर भएपछि थोरै नेपालीले इजरायलमा रोजगारीको अवसर पाएका थिए। 

हालै इजरायली सरकारले सरकारी संरचनामार्फत वृद्ध एवं अशक्त इजरायली नागरिकहरूको हेरचाहका लागि नेपालबाट केयर गिभर लैजान इच्छा देखाएको छ। पछिल्लो समय इजरायल नेपाली कामदारप्रति सकारात्मक भएसँगै २ हजार ५०० भन्दा बढी माग गर्ने आश्वासन दिएको छ।

वैदेशिक रोजगार विभागका अनुसार हाललाई केयर गिभरमा पाँच सय कामदार लैजाने तयारी भइरहेको र पछि क्रमशः दुई हजार नेपालीलाई पठाउने तयारी छ। 

पहिलो चरणमा पाइलटको रूपमा पाँच सय जना कामदार लैजाने विषयमा छलफल भएको विभागमा निर्देशक टीकामणि नेउपानेले बताए। इजरायलले सन् २०१५ पछि नेपाली श्रमिक लैजान रोकेको थियो। 

इजरायलमा कृषि र केयर गिभरको क्षेत्रमा मात्र जाने गरेकोमा अब भने अन्य क्षेत्रका कामदारसमेत जान सक्ने छन्। ‘तर, असोजको सम्झौतापछि पहिलो चरणमा भने वृद्धाआश्रममा रहेका वृद्धवृद्धाको हेरचाहका लागि केयर गिभर लैजाने तयारी गरिएको हो,’ विभागका निर्देशक नेउपानेले भने, ‘विगतमा इजरायल गएर काम गरिरहेका नेपाली कामदारको अनुभवका आधारमा नयाँ थप नेपाली पठाउन लगिएको हो।’

रोकिएको इजरायलको रोजगारी खुलाउन दुई देशबीच एक वर्षदेखि विभिन्न चरणमा छलफल र वार्ता हुँदै आएको थियो। 

लामो समयको छलफलपछि असोजको दोस्रो सातामा नेपाल र इजरायलबीच सम्झौता भएको थियो। 

नयाँ प्रक्रियाबाट इजरायल जाने नेपाली कामदारले एसइई पास गरेको भए १५ महिनाको केयर गिभर तालिम र कक्षा १२ पास गरेको भए ३ महिनाको तालिम लिनु पर्ने छ। तर, इजरायल गएर आएका नेपाली कामदारले यो पटक रोजगारीका लागि आवेदन दिन पाउने छैनन्। 

विभागका अनुसार २५ देखि ४५ वर्ष उमेरका नेपाली नागरिकले इजरायलको रोजगारीको लागि आवेदन दिन सक्ने छन्। कार्यविधि स्वीकृति भएपछि केही दिनपछि विभागले सूचना जारी गर्ने छ। विभागका अनुसार अब इजरायल जाने नेपाली कामदारले १ लाख ३० हजारको रूपैयाँको हाराहारीमा आधारभुत पारिश्रमिक पाउने छन्।

सरकारले इजरायलको रोजगारीमा केयर गिभर बाहेक अन्य क्षेत्रका कामदारलाई समेत लैजाने गरी छलफल सुरु गरेको छ। असोज दोस्रो साता भएको नेपाल र इजरायल सरकार बीचको सम्झौतापछि नेपाल पक्षले केयर गिभरबाहेक अन्य क्षेत्रमा समेत लैजान छलफल अघि बढाएको हो। 

इजरायल सरकारले छिटो र सरलरूपमा नेपाली कामदार पठाउन नेपालसँग अनुरोध गरिरहेको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए।

उनले नेपालबाट कामदार इजरायल लैजाने प्रक्रिया प्रारम्भ गर्न सम्झौता अनुसार बनाइएको कार्यविधिको मस्यौदा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट स्वीकृतिको अन्तिम चरणमा रहेको बताए।

मंसिर ३०, २०७७ मंगलबार ०७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।