चलचित्र छायांकनको प्रतिबन्ध हटाइँदै
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र अभिनेता शिव श्रेष्ठले उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङसँगको भनाई उध्दृत गर्दै यसै साताबाट सरकारले चलचित्र छायांकनको अनुमति दिने बताएका छन्।
उनले भने, ‘चलचित्र क्षेत्र चलायमान बनाउनु पर्ने छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ सकारात्मक देखिनुभएको छ। यसै साताबा चलचित्र छायांकनको अनुमति दिने कुरा गर्नुभएको छ। तर, सिनेमा हल सरोकारवाला संघ–संस्थासँग छलफल गरेर मात्र खोल्ने बताउनुभएको छ।’
चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सूचीकृत गर्न पनि सरकार सहमत देखिएको अध्यक्ष अधिकारीले बताएका छन्। सरकार सिनेमा घर तत्काल खोल्ने पक्षमा नदेखिएको उनको भनाई छ।
यता नेपाल चलचित्र संघले भने विभिन्न माग राखी पुस १० गतेबाट सिनेमा घर सञ्चालन गर्ने बताएका छन्।
चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले हल सञ्चालकले दुई अर्बभन्दा बढी रुपैयाँ घाटा व्यहोरेकाले सिनेमा घर खोल्ने बताएका हुन्। उनले आज पत्रकार सम्मेलनमा सिनेमा घर जसरी पनि सञ्चालन गरिने बताएका हुन्।
चलचित्र संघका महासचिव अशोक शर्मा सरकारले सिनेमा हल सञ्चालन गर्दा कुनै अवरोध गरे धर्ना बस्ने बताउँछन्। यति गर्दा पनि नभए चलचित्रकर्मीले गिरफ्तारी दिने उनले चेतावनी दिए।
मंसिर २९, २०७७ सोमबार २२:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।