सूर्य अवार्डको तेस्रो संस्करण अर्काे वर्ष अमेरिकामा
काठमाडौं : चलचित्र र गीत–संगीतकर्मीलाई वितरण गरिने सूर्य इन्टरनेसनल अवार्डको तेस्रो संस्करण आगामी वर्ष अमेरिकामा हुँदै छ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण स्थगित अवार्ड सन् २०२१ मा अमेरिकामा आयोजना गरिन लागिएको आयोजक संस्था सूर्य कर्पाेरेसनले जनाएको छ। आयोजकले सामाजिक सञ्जालमार्फत यसको घोषणा गरेको हो।
यसअघि सन् २०२० मा अवार्ड आयोजना हुने भनिएको थियो।
आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले यस पटक अवार्ड कार्यक्रम रोचक र फरक हुने दाबी गरेका छन्। उनका अनुसार अवार्डको तयारी काठमाडौंमा हुनेछ भने नोमिनेसन जापानको टोकियोमा हुने छ।
अवार्डका लागि काठमाडौंमा फर्म खुला गरिने आयोजकले जनाएको छ। उत्कृष्ट तीन मनोनयनमा परेका कलाकार तथा चलचित्रकर्मीलाई जापानको टोकियोमा नोमिनेसन प्रमाणपत्र सार्वजनिक गरिने छ।
यसअघि अवार्डको पहिलो र दोस्रो संस्करणमा जापानको टोकियोमा सम्पन्न भएको थियो।
नेपाली कला, संस्कृतिको प्रवर्द्धन तथा नेपाली गीत–संगीत र चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन अवार्ड महत्त्वपूर्ण हुने अध्यक्ष लामिछानेको दाबी छ।
नेपालको चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचारप्रसार गर्न अवार्डको तेस्रो संस्करण अमेरिकामा तय गरिएको नेपालका लागि संयोजक समीर बलामीले बताएका छन्।
सुर्य अवार्डका ब्राण्ड एम्बेसडर नरेश भट्टराईले नेपाली चलचित्रको प्रवर्द्धन र पर्यटन प्रवर्द्धनलाई समेत टेवा पुग्ने गरी कार्यक्रम गर्दै आइरहेको बताए।
यस वर्षको नोमिनेसन समारोहमा पाँच दर्जन कलाकार सहभागी हुने अनुमान गरिएको छ। यस्तै, अमेरिकामा हुने अवार्ड समारोहमा चार दर्जन कलाकार तथा अतिथिहरू सहभागी गराउने आयोजकको तयारी छ।
अवार्ड समारोहमा संगीततर्फ ६ र चलचित्रतर्फ ६ विधा राखिएको छ, जसमा चलचित्रतर्फ उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, सहअभिनेता र सहअभिनेत्री विधा समेटिएको छ। यस्तै, संगीततर्फ पप, आधुनिक, लोक विधामा अवार्ड वितरण गरिने छ।
यस्तै, अवार्ड समारोहमा दुई दशकभन्दा बढी समयदेखि चलचित्र क्षेत्रमा सक्रिय रहेकालाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’, एक दशकभन्दा लामो समयदेखि चलचित्रमा सक्रिय रहेकालाई ‘चलचित्रकर्मी सम्मान’ र एक दशक निरन्तर चलचित्र पत्रकारिता गरेका पत्रकारलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने छ।
मंसिर २९, २०७७ सोमबार ११:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।