महानगरमै थन्कियो पिसिआर मेसिन, प्रयोग गर्ने अस्पताल भेटिएन
काठमाडौं : प्रयोग गर्ने अस्पतालको अभावमा कोरोना परीक्षण गर्ने एउटा मेसिन काठमाडौं महानगरपालिकामै थन्किएको छ।
महानगरसँग भगिनी सम्बन्ध स्थापना गरेको चीनको ल्हासा शहरले सहयोग स्वरुप दिएको चारवटा पिसिआर मेसिन मध्ये एउटा महानगरमै थन्किएको हो।
महानगर प्रमुख विधासुन्दर शाक्यका अनुसार ४ त्यसमध्ये तीन मेसिन कान्ती बाल अस्पत्ताल, वीर अस्पत्ताल र प्रसुति गृहलाई उपलब्ध गराईएको छ। त्यसमध्ये एउटा मेसिन त्यसै थन्किएको हो।
‘हामीले अस्पत्ताललाई आवश्यक परे सम्पर्क राख्न भनेका थियौँ तर, अहिलेसम्म कसैले आवश्यक परेको जानकारी गराएका छैनन्’ मेयर शाक्यले भने। ‘आवश्यक नपरेपछि महानगरमै थन्किएको छ।’
महानगरको शहरी स्वास्थ्य विभाग प्रमुख हरि कुँवर पछिल्लो समय निजी र सरकारी अस्पतालले उन्नत खालका ल्याव सञ्चालनमा ल्याएकाले मेसिन उपयोगमा नआएको बताए।
‘पोर्टेवल ल्याव हो। एकपटकमा धेरै परीक्षण गर्न सकिँदैन। अहिले निजी र सरकारी अस्पतालले उन्नत खालका ल्याव सञ्चालनमा ल्याएका छन्’ उनी भन्छन,‘हामीले अस्पताललाई आवश्यक परे लैजान भनेका छौँ। अहिलेसम्म कुनै अस्पतालले पनि आवश्यक परेको जानकारी गराएका छैनन।’
जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे नेपालमा कोरोना परीक्षणमा उपलब्ध साधन र जनशक्तिको उपयोग हुन नसकेको बताँउछन्।
‘जतिसक्दो परीक्षण गरेर संक्रमितको पहिचान गर्न सके मात्र नियन्त्रण सम्भव हुन्छ’उनी भन्छन,‘हामीकोमा भएको साधन पनि उपयोग हुन नसक्नु दुःखद हो।’
महानगरले यसअघि विभिन्न विदेशी नगरले उपलब्ध गराएका स्वास्थ्य सामग्री लगायत उपकरण विभिन्न अस्पताललाई उपलब्ध गराउँदै आएको छ।
मंसिर २८, २०७७ आइतबार १७:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।