कर्णालीको पर्यटकीय स्थलमा बढ्यो चहलपहल

कर्णालीको पर्यटकीय स्थलमा बढ्यो चहलपहल

सुर्खेत : कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका कारण ९ महिनादेखि सुनसान रहेका कर्णालीका पर्यटकीय क्षेत्रहरू खुलेपछि चहलपहल बढ्न थालेको छ।  
 

सुर्खेतको काँक्रेविहार, बुलबुले र देउती बज्यै, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल, सल्यानको कुभिण्डे दह खुला गरिएपछि चहलपहल बढेको हो। 

लकडाउन खुलेसँगै हवाई र सडक मार्गबाट रारा जानेहरू बढेका छन्। एक महिनायता सुर्खेतसहित जुम्ला, कालीकोट, बाँके, बर्दिया, रूपन्देही, कैलालीलगायत जिल्लाबाट कर्णाली घुम्न आउनेको संख्या बढ्दै गएको छ। 

कर्मचारी, व्यापारी र विद्यार्थी समूहमा घुम्न आउन थालेपछि यहाँका पर्यटन स्थलमा चहलपहल बढेको वीरेन्द्रनगर नगरपालिका–९ का वडाअध्यक्ष सुरेश मानन्धरले जानकारी दिए। 

उनले भने, ‘लकडाउन खुलेपछि त आन्तरिक र बाह्य पर्यटक आउनेको संख्या धेरै नै छ।’ मानन्धरका अनुसार सुर्खेत पुगेपछि थोरै समयमा धेरै पर्यटकीय स्थलको घुमघाम गर्न सकिने भएपछि भीडभाड बढ्न थालेको हो।

देउती बज्यैमा बिहान भीडभाड लाग्छ भने काँक्रेविहार र बुलबुले तालमा दिउँसो पर्यटकहरू घुमघाम गर्ने गरेका छन्। यी तीनै स्थलमा दैनिक आठ सय भन्दा बढी पर्यटक आउने गरेको वडाध्यक्ष मानन्धरले बताए। 

‘काँक्रेविहारमा दैनिक पर्यटकहरूको संख्या बढ्दै गएको छ,’ मानन्धरले भने ‘अहिले राराको सिजन हो। त्यसैले पनि रारा जाने पर्र्यटक सुर्खेतका पर्यटकीय स्थलमा आउने गर्छन्।’ 

काँक्रेविहारसँगै बुलबुले ताल अवलोकन गर्नका लागि विभिन्न जिल्लाबाट घुम्न आउनेको संख्या बढेको छ। बुलबुले टिकट काउन्टरका कर्मचारी डिल्लीप्रसाद न्यौपानेले दैनिक हजा भन्दा बढी आन्तरिक र बाह्य पर्यटक बुलबुलेमा आउने गरेको बताए। उनका अनुसार कर्णालीका सुर्खेत, दैलेख, जाजरकोटसँगै सुदूरपश्चिम, गण्डकी र बाग्मती प्रदेशबाट घुम्न आउन थालेका छन्। 

‘रारा घुम्न आउने उपयुक्त मौसम यही हो,’ उनले भने, ‘शनिबार र बिदाको दिन बढी चहलपहल हुन्छ, पर्यटकसँगै स्थानीय व्यापार बढेको छ ।’ 

रारा घुम्न जानेमध्ये अधिकांशले सुर्खेतको पर्यटकीय स्थल काँक्रेविहार, बुलबुले र देउती बज्यै मन्दिर पनि जाने गरेको उनको भनाइ छ। उनका अनुसार लकडाउन हटेपछि आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकको आगमन पनि उतिकै हुने गरेको छ। 

बुलबुलेमा तालमा बगैँचा, शान्ति पार्क, पिकनिक स्थलको पनि व्यवस्था गरिएको छ । तालबाट निस्किएको पानीबाट परम्परागत १० धारा बनाइएको छ, जहाँ पर्यटकले नुहाइधुवाइ गर्न सक्छन्। बुलबुलेमा एक करोड नौ लाखको लागतमा स्वतः सफा हुने सार्वजनिक शौचालय समेत निर्माण गरिएको छ ।

सुर्खेत आउने पर्यटकका लागि बुलबुले ताल, काँक्रेबिहार र देउती बज्यै प्रमुख आकर्षक स्थल मानिन्छ । अझ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भएसँगै सुर्खेतका पर्यटकीय स्थान रोजाइमा पर्न थालेका छन्। 

होटल व्यवसायी संघ, सुर्खेतका जिल्ला अध्यक्ष गोरख रावतले तिहारलगत्तै आन्तरिक पर्यटकसँगसँगै बाह्य पर्यटकको आगमन भइरहेको बताए। उनले रारा जाने पर्यटकहरू बढ्न थालेका यहाँका होटलहरूमा चाप बढ्न थालेको जानकारी दिए। यसले पर्यटन क्षेत्र रिकभर हुने अवस्थामा पुगेको उनको भनाइ छ। 

उनका अनुसार कोरोनाका कारण आवागमनमा ठप्प भए पनि पछिल्लो समय आन्तरिक पर्यटकको आवागमन र चहलपहल बढ्न थालेको छ। अध्यक्ष रावतले भने, ‘कोरोनामा शून्य भएको पर्यटन क्षेत्रमा केही आशा र उत्साहको परिदृश्य देखिन थालेको छ, नयाँ गन्तव्यको पहिचान, पूर्वाधार विकास, प्रचारप्रसार र प्रवद्र्धन गर्न सके छिट्टै यहाँका जिल्लामा पर्यटन चहलपहल बढ्ने छ।’

बुलबुले ताल यही मंसिर ४ गतेदेखि खुला गरिएको हो। त्यसलगत्तै ताल अवलोकन गर्नेहरू आउन थालेका छन्। यस्तै काँक्रेविहार पनि अवलोकनका लागि तिहारलगत्तै खुला गरिएको हो । 

रारा जानका लागि गाडीहरू बुक गरेर लिने क्रम बढेको छ। रारामा पर्यटकहरूको चहलपहल बढेपछि बजार पनि खुलेको छ। 

मंसिर २८, २०७७ आइतबार ०७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।