मोटा युवतीहरूको सौन्दर्य प्रतियोगिताको अडिसन पुस २५ मा
प्रतियोगिता आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतले काठमाडौंको बागबजारस्थित ‘द बर्गर हाउस’मा अडिसन लिने जानकारी दिए।
विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण गत वैशाखमा प्रतियोगिताको तेस्रो संस्करण स्थगित भएको थियो।
प्रतियोगितामा १६ देखि ५५ वर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवती र महिलाहरूले भाग लिन सक्ने छन्। ५५ केजीभन्दा माथिको तौल भइ स्पष्टरूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ।
अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरूलाई करिव एक महिना लामो विशेष प्रशिक्षण दिइने आयोजक संस्थाले जनाएको छ। प्रतियोगितामा कोरियोग्राफर रोजिन शाक्यबाट मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइने छ।
आयोजक राजपुतका भन्छन्, ‘प्लस साइज (मोटोपना) का कारण हिनताबोध भएका युवतीहरूलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमता अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको हो।’
प्रतियोगिताको विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वल्र्ड टप प्लस साइज, २०२१’ मा सहभागिता जनाउन पाउने पनि उनले जानकारी दिए।
प्रतियोगिताका उत्कृष्ट तीनले विभिन्न गिफ्ट ह्याम्परसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न फेसन सो तथा सौन्दर्य प्रतियोगिताहरूमा सहभागी हुने अवसर पाउने आयोजक संस्थाले जानकारी दिएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक प्रतिस्पर्धीहरूको निम्ति अडिसन फाराम वितरण भइरहेको राजपुतले बताए।
सच्याइएको
मंसिर २६, २०७७ शुक्रबार १३:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।