कोरोना महामारीबीच खुलेका विद्यालयले पालना गरेनन् स्वास्थ्य मापदण्ड

कोरोना महामारीबीच खुलेका विद्यालयले पालना गरेनन् स्वास्थ्य मापदण्ड


कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीबीच सञ्चालित उक्त विद्यालयको अनुगमनका क्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको नगरपालिकाले जनाएको छ।  

नगरपालिकाले गत असोज १९ गते कक्षा ६ देखि १२ सम्मको पठनपाठन सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएको थियो। निर्देशन अनुसार कक्षाकोठामा २५ जनाभन्दा बढी विद्यार्थी राख्न नपाउने उल्लेख थियो। 

तर, विद्यालयले एउटै कक्षाकोठामा ५० जनासम्म विद्यार्थी राखेको पाइएको नगरपालिकाले जनाएको छ। 

नगरपालिकाले निर्देशन नमान्ने विद्यालय सञ्चालक तथा प्राचार्यमाथि कारबाही गर्ने जनाएको थियो। 

नगरपालिकाकी शिक्षा प्रमुख अञ्जु पाण्डेले विद्यालयलाई पहिलो पटक सुधारका लागि निर्देशन दिएको बताइन्। दोस्रो पटक यही गल्ती दोहोरिए कारबाही गर्ने उनको भनाइ छ। 

यहाँका विद्यालय सञ्चालक तथा प्रधानाध्यापक कोरोना नियन्त्रणमा त्यति गम्भीर नभएको उनले बताइन्। 

नगरपालिकाले गरेको अनुगमनबारे बुझ्न खोज्दा उपप्रमुख रिताकुमारी मिश्रले फोन उठाइनन्। 

संकटमोचन विद्यालय मात्रै होइन, जनकमपुर धाममा सञ्चालन भएका अधिकांश विद्यालयले स्वास्थ्य मापदण्ड पालना नगरेको नगरपालिकाले जनाएको छ। 

नगरपालिकाले विद्यालय अनुगमन समिति गठन नहुँदा निर्देशन कार्यान्वयन हुन नसकेको शिक्षा शाखा प्रमुख पाण्डेको भनाई छ। त्यसकारण नगरपालिकाले छिट्टै अनुगमन समिति गठन गरी अनुगमनलाई प्रभावकारी बनाउने उनको भनाइ छ। 

निर्देशिकाविपरीत पठनपाठन

जनकपुरधाम उपमहानगरपालिका–११ स्थित जनता प्राथमिक विद्यालयमा सरकारको निर्देशिकाविपरीत पठनपाठन भइरहेको पाइएको छ। 
आइतबार विद्यालयका शिक्षकले बाल विकासदेखि कक्षा ५ सम्मको विद्यार्थीलाई समेत विद्यालयमै पढाइरहेको पाइएको हो। 

प्राथमिक विद्यालयका विद्यार्थीलाई टोलटोलमा सिकाई केन्द्र निर्धारण गरेर एउटा केन्द्रमा १५ जना बालबालिका राखेर सहजीकरण गर्न विद्यालयलाई निर्देशन दिएको छ।

विद्यालयका प्रधानाध्यापक धनविर ठाकुरले सिकाई केन्द्रमा शिक्षक जाँदा विद्यार्थी नभेटिएको कारण विद्यालयमा बोलाएर पठनपाठन गराएको स्वीकार गरे।

‘गाउँमा शिक्षक जान मान्दैनन्। गए पनि न विद्यार्थी भेटिन्छन् न त अभिभावक,’ उनले भने, ‘अपडेटको लागि विद्यालयमा बालबालिका बोलाएको थिएँ। त्यस दिन पठनपाठन नगर्न शिक्षकलाई भनेको थिएँ। म विद्यालयबाट छिट्टै निस्किएँ। शिक्षकहरूले पठनपाठन सञ्चालन गर्नुभएछ।’ 

सरोकारवालाले देखाएनन् चासो 

कोरोना कहरबीच विद्यालयका शिक्षक–अभिभावक र सम्बन्धित जनप्रतिनिधि विद्यार्थीलाई सिकाउन लागेका छन्। 

तर, अधिकांश सामुदायिक विद्यालयका शिक्षक, अभिभावक र सम्बन्धित जनप्रतिनिधिले यसबारे चासो दिएका छैनन्, जसका कारण सिकाई प्रभावकारी हुन सकेको छैन। 

कोरोना महामारीको अवस्थामा यी तीनै सरोकारवाला सक्रिय नभए वैकल्पिक शिक्षा प्रभावकारी नहुने शिक्षाविद्हरू बताउँछन्। वैकल्पिक शिक्षाका अनुगमनको जिम्मेवारी पाएका जनप्रतिनिधि पनि सक्रिय नभएको देखिएको छ। 
 

मंसिर २६, २०७७ शुक्रबार ०८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।