चराजस्तै देखिने फूल 

चराजस्तै देखिने फूल 

‘वर्ड अफ प्याराडाइज’ अर्थात् ‘स्वर्गको चरा’ जस्तै देखिने भएकाले यो फूलको नाम पनि ‘वर्ड अफ प्याराडाइज’ रहेको पाइन्छ।

यो फूल यति बेला विशेषगरी सहरी क्षेत्रका घर तथा बगैंचामा फुलेको देखिन्छ। नर्सरीहरूमा यो फूल फुलेको देख्न सकिन्छ। 

काठमाडौँको गोठाटारस्थित अग्रिम नर्सरीमा पनि यतिबेला वर्ड अफ प्याराडाइज फुलिरहेको छ। यो फूल विशेषगरी भदौमा फुल्न सुरु भई फागुनसम्म राम्रो फुल्छ। त्यसो त यो लामो समयसम्म फुल्ने फूल हो। 

अग्रिम नर्सरीका सञ्चालक अम्बरबहादुर खड्काले भने, ‘३/४ महिना नै फुल्छ।’ 

हेर्दा सुन्दर देखिने र लामो समय फुल्ने भएकाले यो फूलका शौखिनहरू फूल फुलेको समयमा असाध्यै लोभिने गरेको खड्काले अनुभव सुनाए। एउटै फूल करिव दुई महिना टिक्छ। 

उनले भने, ‘फुलेको समयमा त राम्रै व्यापार हुन्छ।’ 

बेमौसममा पनि फाट्टफुट्ट फुलिरहन्छ। एक बोट फुलेको वर्ड अफ प्याराडाइजको मूल्य औसतमा करिब चार सय रूपैयाँ पर्छ। 

वनस्पति विभागका पूर्ववैज्ञानिक अधिकृत कुवेरजंग मल्ल पनि फूल अत्यन्तै सुन्दर देखिने भएकाले फूलका शौखिनहरूको नजरमा यो फूल परिहाल्ने बताउँछन्। पूर्ववैज्ञानिक मल्लले भने, ‘वर्ड अफ प्याराडाइज फुल्दा सुन्दर चरा आकारको देखिन्छ।’ 

गार्डेनमा वर्ड अफ प्याराडाइज फुल्दा स्वर्गको चरो आएर बसेको जस्तै देखिने भएकाले यो फूलले लोभ्याइहाल्ने उनी बताउँछन्। 

गार्डेनमा धेरै बोट यो फूल रोप्दा फुलेको समयमा रंगिविरंगी चराहरू बसेको जस्तै देखिन्छ। बिहान–बेलुका घामका रश्मीले फूलमा चुम्दा त झन् स्वर्गमा नै बसेको अनुभूति हुने अग्रिमका खड्कालाई अनुभूति हुन्छ।

फुलाउन सहज

त्यसो त यो फूल फुलाउन पनि धेरै कठिन नहुने हर्टिकल्चर विशेषज्ञ बताउँछन्। यो फूल बढ्दै जाँदा झ्याङ फैलन्छ। त्यसैले एक बोटबाट धेरै वटा बिरुवा बनाउन सकिन्छ। 

पूर्ववैज्ञानिक मल्लले भने, ‘बिरुवा फैलँदै गएपछि एउटै झ्याङलाई छुट्याएर धेरै बनाउन सकिन्छ।’ 

काठमाडौंको स्वयम्भूस्थित मुस्कान नर्सरीका महेन्द्र सुवेदी पनि एउटै बोटबाट धेरैवटा बिरुवा बनाउन सकिने बताउँछन्। उनले भने, ‘धेरैवटा बिरुवा निस्किएका छन् भने छुट्याएर बिरुवा बढाउन सकिन्छ।’ 

तर, फुलिसकेपछि चैत/वैशाखमा छुट्याउनु उचित हुने सुवेदी बताउँछन्।

बीउबाट पनि यसको बिरुवा उत्पादन गर्न सकिन्छ। तर, बीउबाट उत्पादन गर्दा फुल्न करिव चार वर्र्ष लाग्छ। मउ बोटबाट बिरुवा छुट्याएर रोप्दा भने एकै वर्षमा फुल्छ। त्यसैले छुट्याएर रोप्ने चलन नै बढी रहेको हर्टिकल्चर विशेषज्ञ बताउँछन्। 

यो फूल घाममा राम्रो फुल्ने भएकाले घाम भएको ठाउँमा रोप्न मल्लको सुझाव छ। चिसोमा पनि फुल्छ। तर, कम फुल्छ । यो फूल बाहिरी न्यानो वातावरणमा फुल्ने अत्यन्तै आकर्षक तथा सुन्दर फूल हो। काठमाडौं उपत्यका लगायतका सहरमा यो फूल राम्रोसँग फुल्छ। 

पानी जम्ने ठाउँमा यो फूलको गाना कुहिएर बिरुवा नै मर्ने भएकाले पानी नजम्ने ठाउँमा रोप्न हर्टिकल्चर विशेषज्ञको सुझाव छ। मल्लले भने, ‘पारिलो ठाउँमा राम्रोसँग फुल्छ। यसलाई घामले असर गर्दैन।’

वर्ड अफ प्याराडाइज गमलामा रोपेर पनि फुलाउन सकिन्छ। तर, ठूलो गमला आवश्यक हुन्छ। यसका जरा धेरै हुने भएकाले गमलामा जरा भरिँदा राम्रोसँग नफुल्न सक्छ। जमिनमा रोप्दा भने फैलने ठाउँ पाउँछ। त्यसैले जमिनमा नै रोप्नु उचित हुने पूर्ववैज्ञानिक मल्लको सुझाव छ। 

शृंगारिक फूल

राम्रोसँग सप्रेको वर्ड अफ प्याराडाइजको बोट झण्डै पाँच फिट अग्लो हुन्छ। फैलँदै जाँदा झ्याङ हुन्छ। वर्ड अफ प्याराडाइज फूललाई ‘कट्रेलिट्जिया रेजिन’ नामले समेत चिनिन्छ। यसलाई ‘क्रेन फ्लावर’समेत भनिन्छ।  अध्ययन अनुसार शृंगारिक तथा सौन्दर्ययुक्त (अर्नामेन्टल) यो फूल दक्षिण अफ्रिकाको ‘स्ट्रेलिट्जियसे’ परिवारअन्तर्गत पर्छ। 

झ्वाट्ट हेर्दा यो फूलको पात सुन्तोले र निलो मिश्रित रङको हुन्छ। फूलमा पहेंलो, सुन्तोले, रातो, हरियो र निलो जस्ता करिव पाँचवटा रङको मिश्रण देखिन्छ। फूलको फेद भागमा हरियोको वरिपरि रातो बोर्डर देखिन्छ। त्यसैले यो फूल अत्यन्तै सुन्दर र मनमोहक देखिन्छ। यो फूल विश्वका विभिन्न मुलुकमा फैलने क्रममा छ।
 

मंसिर २६, २०७७ शुक्रबार ०१:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।