बोरामा पैसा

बोरामा पैसा

काठमाडौं : राजधानीको धापासी हाइटबाट करिब दुई सय मिटर अघि बढेपछि एउटा गल्ली आउँछ। चार फिटे उक्त गल्लीमा ५० मिटरजति हिँडेपछि सिलाइ मेसिन (कल)को खुट्टुटु... खुट्टुटु...आवाज अलि वरैबाट सुनिन्छ। 

बिहान ९ बजे हामी त्यहाँ पुग्दा साढे दुईतले घरको कम्पाउडमा केही महिलाहरू नयाँ कपडा धोए जसरी जतनले पुराना बोरा धुँदै थिए। भित्रबाट सिलाइ मेसिनको एकनासे आवाज आइरहेको थियो। आवाज आइरहेको ठाउँ शतिमिलनको कार्यालय हो। यहाँ हामीले फाल्ने गरेको बोराबाट आकर्षक सामग्रीहरू तयार हुन्छ।

०००

हामी पुगेको एकछिनपछि हातमा ठुलठुला दुई डायरी बोकेर नुवाकोटकी ३० वर्षीया प्रकृति मैनाली भुइँतलामा ओर्लिइन्। उनले कर्मचारीको हालखवर सोधिन्। र, हामीलाई स्वागत गरिन्। 

‘नोबेल पुरस्कार वितरण समारोहमा बोराबाट बनेका हाम्रा उत्पादन पनि प्रदर्शनमा रहने भएकाले त्यसको तयारीमा छौं,’ प्रकृतिले आफ्नो व्यस्तताको राज भनिन्। 

उनले बोकेका डायरीमा शतिमिलनको कारोबार र योजनाहरू छन्। ‘फ्याकिएको सामग्रीबाट पैसा कमाउन योजना पनि चाहिन्छ नि।’ 

एमबिए गरेकी प्रकृति शतिमिलन नामक संस्थाकी को–फाउन्डर हुन्। यो संस्थाले महिलाहरूलाई उद्यमशील बनाउन सीप सिकाउने र व्यावहारिक तालिम दिने गरेको छ। साथै संस्थाले हिंसामा परेका महिलालाई मनोपरामर्श दिँदै आएको छ।

युवा तथा खेलकुद मन्त्रालयबाट प्रदान गरिने वर्ष प्रतिभा पुरस्कारसमेत पाएकी प्रकृतिले हाम्रो लागि चिया बनाइदिन सहकर्मीलाई अनुरोध गरिन्। र, हातको डायरीलाई भर्याङमा राखिन्। 

‘उत्पीडनमा परेका दिदिबहिनीलाई सीप सिकाउँछौं, परामर्श दिन्छौं,’ उनी भन्छिन्।  

उत्पीडित महिलालाई परामर्श दिन शतिमिलनमा रहेका तीन महिलासँगै प्रकृति पनि सोही घरमा बस्छिन्। प्रकृति भन्छिन्, ‘उनीहरूको सुरक्षाको लागि पनि बस्नै पर्छ नि।’ 

प्रकृतिको आफ्नो घर भने बालुवाटार हो।

पारिलो घाममा चिसो बोरालाई सुकाउँदै प्रकृतिले हामीलाई बोरा माहात्य सुनाइन्। भनिन्, ‘साधारण बोरा सजिलै पाइन्छ। अलि रंगिविरंगी बोरा पनि पाइन्छ। तर, जुटका बोरा पाउनै मुस्किल।’

सर्वसाधारण, किराना पसल र बोरा बिक्रेतासँग प्रकृतिले बोरा किन्ने गर्छिन्। ‘बोरा सजिलै पाइन्छ। तर खोजेझैं पाउन गाह्रो,’ उनी थप्छिन्, ‘पाएको बोरालाई सफा गर्न झन् गाह्रो छ।’ 

आफूले खोजेजस्तो सलक्कको बोरा नपाउँदा गुणस्तर जोगाउन कठिन हुने गरेको प्रकृतिको अनुभव छ। 

‘धुँदा पनि विचार गरेर गर्नुपर्छ, सिलाउनलाई त विशेष सीप नै चाहिन्छ,’ उनी भन्छिन्।  चिसो बोरा सुकाएर प्रकृतिले हामीलाई शक्तिमिलनको घर डुलाइन्। 
‘अहिले १५ वटा कल सञ्चालनमा छन्। यहाँ सबै महिला दिदिबहिनी मात्र काम गर्छौं,’ उनी भन्छिन्। 

शतिमिलनमा काम गर्ने महिलाहरू बढीजस्तो गृहिणी छन्। ‘आर्थिक अवस्था कमजोर भएका, शोषण तथा दमनमा परेका साथीहरू हुनुहुन्छ,’ उनले सुनाइन्। 

महिलाहरू आर्थिकरूपमा सबल भएपछि परिवारले हेर्ने नजर फेरिँदा प्रकृतिलाई खुसी लाग्छ। 

‘अवस्था हेरेर सीप सिकाउने र उद्यमशील हुन प्रेरित गर्ने कार्यशाला सञ्चालन गर्ने गरेका छौं,’ उनले भनिन्। 

शतिमिलनले दिएको सीपले २० भन्दा बढी महिलाहरू स्वरोजगार भइसकेका छन्। ‘हामी सीपमा जोड दिन्छौं। मानसिकरूपमा उनीहरूलाई दह्रिलो बनाउन सहयोग गर्छौं,’ उनी भन्छिन्।

‘फ्यालिएको चिजको सदुपयोगले केहीको ओठमा हासो ल्यायो नि,’ प्रकृति थप्छिन्, ‘कम लगानीमा पनि महिलाहरू उद्यमशील बन्न सक्छन्।’ 

२५ हजार रूपैयाँबाट सुरु गरेको व्यवसायले राम्रो आम्दानी गर्दै आएकी प्रकृति अचेल हरेक बोरामा पैसा देख्छिन्। भन्छिन्, ‘६ वर्ष भयो बोराबाट विभिन्न सामाग्री उत्पादन गर्न थालेको। अहिले त बोरा देख्यो कि यसलाई यस्तो बनाउँछु, यस्तो गर्छु भन्ने दिमागमा आइहाल्छ।’ 

तर, सुरुवाती दिनमा उनलाई निकै गाह्रो भएको थियो। ‘बोरा किराना पसलबाटबाट ल्यायो। डिजाइनिङसम्बन्धी ज्ञान थिएन,’ उनी भन्छिन्।

काम गर्दागर्दै प्रकृती बोरा देख्नेबित्तिकै उपयोगिता पहिचान गर्ने भइसकेकी छन्। ‘तर, भाग्यवश हाम्रो सुरुवाती सामान नै विदेश पुग्यो,’ उनले सुनाइन्। 

शतिमिलनले उत्पादन गर्ने २५ भन्दाबढी बोराजन्य सामग्री वार्षिक ३० हजारभन्दा बढी निर्यात हुने गरेको छ।

मनोपरामर्शको लागी शतिमिलनमा बस्दै आएकी दाङकी एक किशोरीले चिया ल्याइदिइन्। हामीले चियाको चुस्कीसँगै पहिलो तलााको लागि भर्याङ चढ्यौं।

भर्याङ चढ्दै गर्दा भित्तामा शतिमिलनको पहिलो उत्पादनदेखि संस्थासँग जोडिएका व्यक्तिसम्मका तस्बिरहरु थिए। ‘यहाँ (भित्तामा) हाम्रो पहिलो उत्पादनदेखि संस्थापकहरूको तस्बिर मात्रै छैन, हाम्रो विकास चरण पनि छ,’ उनले भनिन्।  

‘पहिलेदेखि व्यापार गर्छु भन्ने थियो। तर, के गर्ने भन्ने थिएन,’ उनी थप्छिन्, ‘त्यसैबीच हामीले होमस्टे सञ्चालन गर्याैं। र, त्यहाँ पाहुना आएका एक जोडीसँग सहकार्य भयो।’ 

महिला तथा बाल अधिकारकर्मी समेत रहेका पतिको सामाजिक कार्यलाई नजिकबाट नियालिरहेकी प्रकृतिलाई बोराजन्य उत्पादनले व्यवसायी त बनाउने पक्का भयो। ‘पर्यावरणलाई पनि फाइदा हुने भयो, व्यापार पनि हुने भयो,’उनले भनिन्। 

त्यसपछि उनलाई महिलाका समस्या समाधान गर्न आफ्नो तर्फबाट केही गर्न सकिन्छ भन्ने लाग्न थाल्यो। 

‘महिलाहरू आर्थिकरूपमा कमजोर भएका कारण धेरै समस्या परेको देखिरहेको थिएँ। त्यस्तै समस्यामा परेको महिलामा सीप विकास गरेर रोजगारी सृजना गर्न यो व्यवसाय उपयुक्त लाग्यो,’ उनले सुनाइन्।

त्यसपछि उनले सीप भएका र सीप सिक्न सक्ने महिलाहरूलाई भेला गरिन्। ‘बोरा धुनेदेखि सिलाउने, मिलाउने सबै काम गर्न सजिलो छैन,’ उनी भन्छिन्। 

तर, राज्यले सिलाइबुनाईमा मोटो रकम खर्च गर्दै आएको प्रकृतिलाई थाहा थियो। ‘उनीहरूको सीपमा निखारता नभए पनि सीप विकास भइसकेको थियो। हामीले यहाँ (शक्तिमिलन)मा ल्याएर पनि तालिम दियौं।’ 

त्यसपछि व्यापारी बन्ने सपनामा प्रकृतिले महिला उत्थानलाई पनि जोडिन्। अहिले प्रकृति विइस् नामक महिला उद्यमशील संस्थाको फाउन्डरसमेत छिन्।

तातो चियाको कप खाली भइसकेको थियो। प्रकृति शतिमिलनको भित्री कथा सुनाइरहँदा महिलालाई उद्यमी बनाउन सबैले सक्दो प्रयास गर्नुपर्नेमा जोड दिइरहेकी थिइन्।

शतिमिलनका उत्पादनको भण्डार रहेको पहिलो तल्लाको एक कुनामा प्रकृतिको कुर्सी छ। बीच भागमा लामो टेबल छ। भित्तामा विभिन्न शब्दहरू छन्। र, त्यही छन् शतिमिलनको सबै उत्पादन।

‘ल्यापटप कभरदेखि हाते पर्ससम्म, खकान भएकोदेखि नभएका ठुला, साना विभिन्न मोडलका झोलासम्म, स्कुल ब्यागदेखि सपिङ ब्यागसम्म हाम्रा उत्पादन छन्,’ उनी थप्छिन्, ‘विभिन्न ब्राण्डको स्वदेशी तथा विदेशी अनेक आकारप्रकारका बोराहरूबाट सामान उत्पादन हुन्छ।’ 

त्यसले ति बोरा उत्पादकलाई पनि फाइदा दिने प्रकृति बताउँछिन्।

‘हामीले नौलो काम गरेका होइनौं, धेरैले बेवास्ता गरेको काम गरेको हो,’ उनी भन्छिन्। तर, नेपालमा यसका सोचेजस्तो ग्राहक नहुनु भने दुःखद् भएको प्रकृति बताउँछिन्।

‘बृहत उत्पादन गर्न सकिँदैन, अनि उत्पादन महँगो पर्न जान्छ,’ उनले भनिन्। 

प्रकृतिलाई नेपाली उपभोत्तासँग गुनासो छैन। ‘हाम्रो बजार र उत्पादनले मेल खाइरहेको छैन,’ उनी भन्छिन्। 

त्यसैले पनि स्थानीय बजारसँग गुनासो गर्नुको अर्थ छैन जस्तो प्रकृतिलाई लाग्छ। 

‘महिला आर्थिकरूपमा सबल नभएसम्म उनीहरूमाथि हुने विविध हिंसाका घटना  रोकिँदैन,’ उनी भन्छिन्। 

महिलामाथि हुने आर्थिक परनिर्भरता हटाउन दीर्घकालसम्ममा देशव्यापी रूपमा सीप र व्यवसाय बढाउने प्रकृतिको योजना छ। ‘हामीले पसल पनि राखेका छैनौं। बिस्तारै उत्पादन बढाउँदै, रोजगारी बढाउँदै जाने उद्देश्य छ,’ उनले योजना सुनाइन्।  

‘शतिमिलनको मुख्य धेय भनेकै सीप सिकाउने र स्वरोजगार बनाउने हो,’ उनले थपिन्।  रोजगारी दिनुभन्दा सीप दिनु ठुलो हो जस्तो प्रकृतिलाई लाग्छ।

‘सीप सिक्न चाहनेलाई सिकाउन तयार छौं। यस्ता कम मुल्यबाट सुरु गर्न सकिने व्यवसायमा महिलाहरूको सहभागिता धेरैभन्दा धेरै भए हुन्थ्यो,’ उनी भन्छिन्। 
 

मंसिर २५, २०७७ बिहीबार ०७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।