रियालिटी सो ‘कथाकुथुंग्री च्याम्पियन’को अडिसन सुरु

रियालिटी सो ‘कथाकुथुंग्री च्याम्पियन’को अडिसन सुरु

काठमाडौं : रियालिटी सो ‘कथाकुथुंग्री च्याम्पियन’को अडिसन आज सुरु भएको छ।

सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडको आयोजनामा हुने रियालिटी सो कथाकुथुंग्री च्याम्पियनको औपचारिक घोषणा गरिएको हो।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका कारण सुरुमा अनलाइन माध्यमबाट अडिसन लिइने आयोजकले जनाएको छ। 
आयोजकका अनुसार पहिलो चरणको अडिसनपछि सातै प्रदेशका सहभागीहरूबीच प्रतिस्पर्धा गराइने छ।  

देशका कुनाकाप्चामा लुकेर बसेका कला संस्कृतिलाई जगेर्ना गर्नका लागि कथाकुथुंग्री च्याम्पियन रियालिटी सो गर्नु परेको कार्यक्रम संयोजक चन्द्रप्रसाद पाण्डेले बताए। 

पाण्डेका अनुसार पछिल्लो समय विश्वभर कोभिड–१९ ले जनजीवनलाई प्रभावित पारेको विषम परिस्थितिलाई मध्यनजर गर्दै अभिनय कलामा रुचि राख्ने व्यक्तिहरूलाई स्टोरी टेलिङ (कथावाचन)मार्फत कला प्रस्तुत गर्ने मञ्च निर्माण गरिएको हो। 

कोरोना कालमा बन्द रहेको रंगमञ्च, चलचित्र क्षेत्रका लागि वैकल्पिक मञ्चको रूपमा कथाकुथुंग्री च्याम्पियनले केही टेवा पुग्ने पाण्डेको भनाइ छ। 

रियालिटी सोमा पहिलो हुनेलाई दुई लाख, दोस्रोलाई एक लाख ५० हजार र तेस्रोलाई ५० हजार रूपैयाँसहित अन्य आकर्षक पुरस्कार प्राप्त गर्ने छन्। 

कार्यक्रम सफल बनाउन विभिन्न नाट्य समूह, सहकारी संघ संस्था, शैक्षिक संघसंस्थाको सहकार्यमा सम्पन्न गर्ने तयारी रहेको सूचना चौतारी सञ्चार सहकारी संस्थाका अध्यक्ष विपिन शर्माले जानकारी दिएका छन्।

रियालिटी सो कथाकुथुंग्री च्याम्पियनमा निर्णायकमा वरिष्ठ कलाकार लक्ष्मी गिरी, रंगकर्मीद्वय आर.के. मेहता र सरिता साह रहने छन्। 
प्रतियोगितामा भाग लिन पाउने कथाकुथुंग्री च्याम्पियनका परिकल्पनाकार प्रकाश थापाले बताए। 

प्रतियोगितामा सातै प्रदेशका कथा र प्रतिभाहरूलाई प्रकाशमा ल्याउन र मुलुकको सामाजिक सांस्कृतिक, भौगोलिक मौलिकताको परिचय स्थापित गर्न प्रतियोगिता आयोजना गरिएको थापाले बताए। 

मंसिर २४, २०७७ बुधबार १३:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।