विन्टर डिप्रेसनले कटक्क मन

विन्टर डिप्रेसनले कटक्क मन

काठमाडौं : ३५ वर्षकी सकुन्तला रेग्मी (नाम परिवर्तन) अघिल्लो वर्षको जाडोमा मनोविद् गोपाल ढकालकहाँ पुगिन्। चितवनकी सकुन्तलालाई जाडो सुरु हुन थालेपछि तनाव बढ्नेलगायत डिप्रेसनका लक्षण देखिन्थे। गर्मी लाग्न थालेपछि कम हुन्थ्यो। 

शिक्षिकासमेत रहेकी उनी यो समस्या निम्तिएपछि पढाउनै छाडिन्। दुई छोराकी आमासमेत भएकी सकुन्तलालाई यस्तो समस्या भएपछि उनका श्रीमानले माइतमा लगेर छाडिदिए। 

मनोविद् ढकालले समस्या पहिचान गरे˗ सकुन्तलालाई विन्टर डिप्रेसनको समस्या भएको रहेछ। त्यसपछि ढकालले जीवनशैली तथा व्यावहारिक जीवनमा गर्नुपर्ने क्रियाकलापबारे मनोपरामर्श दिए। मनोपरामर्शपछि सकुन्तलामा यस्तो समस्या कम हुँदै गएको ढकालले सुनाए।

०००

मनोविद् ढकालकहाँ नै दुई वर्षअघिको जाडोमा ४५ वर्षीय रमेश अधिकारी (नाम परिवर्तन) पनि  मनोपरामर्शका लागि पुगेका थिए। रमेशमा पनि जाडो लागेपछि डिप्रेसनका लक्षण देखिन्थ्यो। तर, गर्मी लागेपछि आफै ठिक हुन्थ्यो। उनमा पनि विन्टर डिप्रेशनको लक्षण भएको ढकालले पहिचान गरे। र, मनोपरामर्श दिए। पछि फलोअपमा ढकालकहाँ पुगेका रमेशको पनि सो समस्या कम भएको ढकालले सुनाए। 

०००

मनोविद् ढकालकहाँ सकुन्तला र रमेशको जस्तै जाडो मौसममा विन्टर डिप्रेसनको लक्षण लिएर मनोपरामर्शका लागि पुग्नेको चाप बढ्छ। 

मनोविद् करुणा कुवँरकहाँ पनि जाडोमा विन्टर डिप्रेसनको लक्षण लिएर बिरामीहरू पुग्छन्। उनले विन्टर डिप्रेसनको एउटा केस सुनाइन्। मनोविद् कुँवरकहाँ मनोपरामर्शका लागि पुगेका ४५ वर्षीय पुरुषमा जाडो मौसम तथा बादल लागेको समयमा तनाव हुन्थ्यो।

कुँवरले ती पुरुषमा हुने विन्टर डिप्रेसनको समस्या सुनाइन्, ‘बादल लाग्दा मुड डिपे्रस हुन्छ भन्नुहुन्थ्यो। तर, मौसम खुल्दा मन खुलेको महसुस गर्नुहुन्थ्यो।’ 

कुँवरले उनलाई मनोपरामर्श दिइन्। त्यसपछि ती पुरुषले पनि आफ्नो जीवनशैली र यो समस्याबाट बच्ने उपाय बनाउन थाले।

०००

त्यसो त मनोचिकित्सक डा. कपिलदेव उपाध्याय पनि जाडो समयमा विन्टर डिप्रेसनको समस्या लिएर मनोपरामर्श तथा उपचारका लागि पुग्नेको संख्या बढ्ने गरेको सुनाउँछन्। तर, मौसमी डिप्रेसन निश्चित समयपछि हराउने उनी बताउँछन्। डा. उपाध्यायले भने, ‘जाडोमा हुने डिप्रेसन गर्मी लाग्न थालेपछि हराएर जान्छ।’

मनोविद् ढकाल, कुँवर र मनोचिकित्सक डा. उपाध्यायको अनुभवमा विन्टर डिप्रेसनको समस्या लिएर मनोपरामर्श तथा उपचारका लागि बर्सेनि व्यक्तिहरू मनोविद् तथा मनोचिकित्सककहाँ पुग्ने गरेका छन्।

०००

अन्य मौसममा नदेखिने तर, जाडो. मौसममा डिप्रेसनका लक्षण देखिनुलाई विन्टर डिप्रेसन भनिन्छ। विन्टर डिप्रेसनलाई मौसमी डिप्रेसन पनि भनिन्छ। मनोविद् कुँवरले भनिन्, ‘मौसम परिवर्तनसँगै डिप्रेसनका लक्षण देखिनुलाई मौसमी डिप्रेशन भनिन्छ ।’ 

डिप्रेशनका विभिन्न प्रकारमध्ये विन्टर डिप्रेशन पनि एक प्रकारको डिप्रशन हो । चिकित्सकिय भाषामा विन्टर डिप्रेशनलाई ‘सिजनल अफेक्टिभ डिसअर्डर’समेत भनिन्छ। गर्मी मौसम सकिएर जाडो सुरु भएसँगै यस्तोे समस्याको लक्षण देखिन्छ। 

कहिलेकाहीँ व्यक्तिको मन दुःखी र खुसी हुनु स्वभाविक हो। मन लामो समयसम्म दुःखी हुँदा निरासा बढ्नुलाई भने मनेचिकित्सक डिप्रेसनका लक्षणका रूपमा लिन्छन्। 

जाडोमा तनाव

हिउँदको समयमा रात लामो हुन्छ भने दिन छोटो हुन्छ। चिसो हुन्छ। घाम कम लाग्छ। हिउँदको समयमा घामको प्रकाश पनि कम हुन्छ, जसले गर्दा सेरोटोनिन जस्तो मस्तिस्क रसायनको उत्पादनमा कमी हुने मनोचिकित्सक तथा मनोविद् बताउँछन्। 

मनोविद् ढकालले भने, ‘सेरोटोनिनको उत्पादनमा कमी हुँदा डिप्रेसनको जोखिम हुन्छ।’ मस्तिष्कमा यो रसायनको सक्रियताका लागि सूर्यको प्रकाशको आवश्यकता हुने मनोविद् बताउँछन्। 

मनोचिकित्सक तथा मनोविद्का अनुसार चिसो मौसममा धुम्म बादल लाग्दा, कुहिरो लाग्दा, शरीरमा सूर्यको प्रकाश कम पर्छ। यस्तो अवस्थामा शरीरमा सेरोटोनिन रासायनिक तत्त्वको कमी हुन्छ, जसले गर्दा व्यक्तिमा डिप्रेसनको जोखिम हुन्छ। 

रातको समयमा मेलाटोनिन मस्तिष्क रसायनको उत्पादन बढ्ने मनोविद् ढकाल बताउँछन्। मनोचिकित्सक तथा मनोविद्का अनुसार चिसो मौसममा यो मस्तिष्क रसायनको मात्रा बढ्छ। 

विशेषगरी डिप्रेसनको समस्या भएका व्यक्तिमा मेलाटोनिन मस्तिष्क रसायनको उत्पादनमा वृद्धि हुन्छ, जसले डिप्रेसनको समस्या थप बढ्दा दैनिक जीवनमा नकारात्मक असर पर्नेतर्फ ढकाल सचेत गराउँछन्। 

अँध्यारोमा मेलाटोनिन मस्तिष्क रसायन निष्कासन हुन्छ, जसले गर्दा चिसो मौसममा निद्रा बढी लाग्ने, खाना बढी रुच्ने, शारीरिक तथा मानसिकरूपमा शिथिलता तथा आलस्य हुने जस्ता लक्षण तथा व्यवहार  देखिन्छन्। 

विचित्र लक्षण

मनोचिकित्सक तथा मनोविद्को मत अनुसार डिप्रेसनको किसिम अनुसार फरक˗फरक लक्षण हुन्छन्। मनोचिकित्सक तथा मनोविद्हरू मन दुःखी हुनुलाई डिप्रेसनको पहिलो लक्षणका रुपमा लिन्छन्। ढकाल कतिपय डिप्रेसनमा निद्रा कम लाग्ने र कतिपयमा बढी लाग्ने लक्षण देखिने बताउँछन्। ढकालले भने, ‘मन उदास हुनु, दुःखी हुनु, मन खुसी हुन नसक्नु डिप्रेसनका लक्षण हुन्।’

डिप्रेसन भएको अवस्थामा झर्को लाग्ने, ऊर्जाहिन हुने, घुमघाम गर्न मन नलाग्ने, रुन मन लाग्ने, निर्णय लिन नसक्ने जस्ता लक्षण देखिने डा. उपाध्याय बताउँछन्। 

कतिपय डिप्रेसनमा खाना धेरै रुच्छ भने कतिपयमा खाना खानै मन लाग्दैन। 

मौसमी (विन्टर) डिप्रेसन र अन्य डिप्रेसनमा केही फरक हुने मनोचिकित्सक डा. उपाध्याय बताउँछन्। ‘डिप्रेसनमा खानामा अरुचि हुन्छ। निद्रा लाग्दैन,’ डा. उपाध्यायले भने, ‘तर, विन्टर डिप्रेसनमा भोक बढी लाग्छ। निद्रा बढी लाग्छ।’ 

यस्तो समस्या भएको अवस्थामा खाना बढी खाइने भएकाले शारीरिक तौल पनि बढी हुन सक्ने उनी बताउँछन्। 

विन्टर डिप्रेसनको समस्या भएको अवस्थामा व्यक्ति निरास हुने, काम गर्न मन नलाग्ने जस्ता लक्षण देखिने मनोविद् कुँवर बताउँछिन्। कुँवरले भनिन्, ‘शारीरिक तथा मानसिकरूपमा ऊर्जा कम हुने जस्ता लक्षण देखिन्छन्।’ डिप्रेसनको समस्या भएका व्यक्तिमा विन्टर डिप्रेसनले बढी सताउने मनोचिकित्सक बताउँछन्। 

युरोपिन मुलुकका कतिपय ठाउँमा बढी चिसो हुने भएकाले त्यस्ता ठाउँमा विन्टर डिप्रेसनको प्रभाव पनि बढी देखिने गरेको मनोविद् कुँवर बताउँछिन्। 

‘विशेषगरी दिन धुम्म हुँदा, बादल लाग्दा, चिसो हुँदा मन दुःखी हुन सक्छ,’ मनोविद् कुँवरले भनिन्, ‘गाह्रो महसुस हुन्छ।’ 

मौसम चिसो भइरहने ठाउँमा भने यस्तो समस्या लामो समय हुन सक्ने उनी बताउँछिन्। तर, नेपालमा केही समय मौसम धुम्म भए पनि खुल्ने भएकाले विन्टर डिप्रेसनको समस्या त्यति धेरै नरहेको उनको अनुभव छ। 

तर, इलाममा धुम्म कुहिरो तथा बादल लाग्ने, चिसो हुने जस्ता कारणले निरास तथा उदास महसुस हुने समस्या रहेको मनोविद् ढकाल बताउँछन्, जसले गर्दा डिप्रेसनको जोखिम हुनेतर्फ मनोचिकित्सक तथा मनोविद् सजग गराउँछन्।

चिसो मौसमको सुरु भएपछि डिप्रेसनको लक्षण दुई हप्ताभन्दा बढी देखिनुलाई विन्टर डिप्रेसनको रूपमा लिन सकिने ढकाल बताउँछन्। सामान्य व्यक्तिमा पनि डिप्रेसनका यस्ता लक्षण देखिए पनि निरन्तररूपमा भने यस्ता लक्षण नदेखिने मनोविद्को तर्क छ। 

विन्टर डिप्रेसनको समस्या भएका व्यक्तिले आफ्नो ज्यानको समेत ख्याल गर्न जान्दैनन्। यस्ता लक्षण देखापरिरहँदा नकारात्मक सोचको विकास हुँदै जान्छ, जसले आत्महत्यासम्मको जोखिम हुने ढकाल बताउँछन्। डिप्रेसनको समस्याले दैनिक जीवनमा प्रभाव पर्ने नै भयो। 

कलिलो र पाकोमा समस्या

बालबालिका, महिला तथा पाको उमेरका व्यक्तिमा विन्टर डिप्रेसनको समस्याले बढी सताउने मनोविद् ढकाल बताउँछन्। वयस्क व्यक्तिको सवालमा १५ देखि ५५ वर्ष उमेर समूहमा यो समस्या बढी देखिने गरेको ढकाल सुनाउँछन्। 

जाडो मौसममा बालबालिका, महिला तथा पाको उमेरका व्यक्तिमा सूर्यको प्रकाश बढी आवश्यक पर्छ। तर, सूर्यको प्रकाश कम हुँदा यस्तो समस्या निम्तन सक्नेतर्फ मनोचिकित्सक तथा मनोविद् सजग गराउँछिन्। 

न्यानो घाम, आनन्द मन

सामान्य किसिमका विन्टर डिप्रेसन मनोपरामर्शले ठिक हुने मनोचिकित्सक बताउँछन्। घाम कम हुने तथा ‘भिटामिन–डी’ लगायतका भिटामिनको कमीले यस्तो समस्या बढ्छ। त्यसैले दैनिक करिव एक घण्टा घाममा बस्न डा. उपाध्यायको सुझाव छ। उनले भने, ‘कपडा लगाएर घाममा बस्दा लाभ मिल्दैन। सिसाभित्र छिरेको घाममा बस्दा पनि लाभ हुँदैन।’ 

त्यसैले प्रत्यक्ष घाम लागेको ठाउँमा शरीरको भाग घाममा देखाएर बस्दा विन्टर डिप्रेसनको समस्याबाट बच्न सकिने मनोचिकित्सक तथा मनोविद्को मत छ। यस्तो समस्याबाट बच्न उज्यालो कोठामा बस्नुपर्ने हुन्छ।

जाडो मौसममा घाममा बसेर तेल लगाउने, बदाम खाने, सुन्तला खाने, निबुवा लगायतका फलफूल खानाले पनि शरीरमा ‘भिटामिन–डी’ प्राप्त हुने मनोविद् ढकाल बताउँछन्, जसले विन्टर डिप्रेसनको समस्याबाट बच्न सकिन्छ। बिहानै उठेर घामको किरणमा व्यायाम गर्नाले पनि सेरोटोनिन सक्रिय रहने भएकाले बिहानै उठ्नु लाभदायक हुने मनोविद्को तर्क छ। 

विन्टर डिप्रेसनको समस्या हुन नदिन र भइहाले पनि छुटकारा पाउनका लागि जीवनशैलीमा पनि परिवर्तन गर्नुपर्ने हुन्छ। आराम, शारीरिक व्यायाम, खानपान, आत्मविश्वास, सहयोग तथा भेटघाट गर्नाले यस्तो समस्याबाट छुटकारा पाउन सकिने मनोचिकित्सक तथा मनोविद्को सुझाव छ। 

मनोचिकित्सकका अनुसार यस्तो समस्याबाट बच्न मन तातो पानी पिउनुपर्छ। झोलिलो मोलिलो पदार्थ सेवन गर्नुपर्छ। माछा, आलसलगायत ओमेगा–३ खानुपर्छ। 

विन्टर डिप्रेसन भएको अवस्थामा औषधि पनि प्रयोग गर्नुपर्ने हुन सक्छ। उपाध्यायले भने, ‘लाइट थेरापी विधि अपनाएर पनि विन्टर डिप्रेसनको उपचार गरिन्छ।’

मंसिर २४, २०७७ बुधबार ०७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।