सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम
काठमाडौं : संसारकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर कायम भएको छ। सरकारले पहिलोपटक आफ्नै लगानीमा उचाइ मापन गरी नयाँ उचाइ घोषणा गरेको हो।
मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन्। यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो। अहिले ८ हजार ८ सय ४८.८६ पुगेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
नेपाल आफैले नाप्यो उचाइ
सन १९५४ मा भारतीय सर्भे विभागले गरेको मापनलाई नै हालसम्म सगरमाथाको आधिकारिक उचाइको रुपमा मानिँदै आइएको थियो।
भारतीय सर्भे विभागले सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर रहेको घोषणा गरेको थियो।
तत्पश्चात सन् १९९९ मा अमेरिकाले जीपीएस विधि अपनाएर गरेको मापनबाट २ मिटर बढेर सगरमाथाको उचाइ ८ हजार ८५० मिटर रहेको दाबी गरेको थियो।
त्यस्तै, चीनले सन् २००५ मा गरेको मापनबाट उचाइ घटेर ८ हजार ८४४ मिटर रहेको दाबी गरेको थियो। तत्पश्चात्, २०७२ सालमा आएकोभू–कम्पबाट समेत उचाइ फेरबदल भएकोे चर्चा चलेको थियो।
राष्ट्रिय गौरवको विषयमा अनेकन अफवाह चल्नथालेपछि सरकारले यसलाई प्रतिष्ठाको बिषय बनायो।
सरकारसामु परिवर्तित अवस्थामा नेपाल आफैं मापनमा सक्षम भइसकेको देखाउने अवसर समेत थियो यो। यससँगैं सरकारले आफ्नै लगानीमा पहिलोपटक सगरमाथाको उचाई मापन गर्ने घोषणा ग¥यो। तत्पश्चात आर्थिक बर्ष २०७३÷७४ बाट मापनको प्रकृया अगाडि बढ्यो।
चुचुरोमै पुगेको थियो टोली
नापी विभागको टोली सगरमाथाको चेचुरोमै पुगेर उचाइ मापन गरेको थियो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको नापी विभागले गरेको मापनका क्रममा ८ जेठ २०७६ (बुधबार) मालपोत अधिकृत सहित चार जनाको टोली सगरमाथा पुगेको थियो।
प्रमुख मालपोत अधिकृत खिमलाल गौतमले नेतृत्व गरेको टोलीमा रबिन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल सहभागि रहेका थिए।
उनीहरुले सगरमाथाको चुचुरोमा जीपीएसमार्फत एक घण्टा १५ मिनेट बिताएर भू–उपग्रहबाट प्राप्त संकेत लिएर फर्केको मन्त्रालयका प्रवक्ता तथा सहसचिव जनकराज जोशीले बताए।
यसक्रममा गौतम र कार्की सगरमाथाको चुचुरोमा पुगेका थिए भने भण्डारी र धितालले सगरमाथा आधार शिविरमा रहेर समन्वय गरेका थिए। मापनमा झन्डै ५० जनाको जनशक्ति लामो समय सगरमाथा क्षेत्रमा खटिँदै आएको थियो।
सिरहाबाट लेभलिङ
सगरमाथाको उचाइ मापन गर्ने क्रममा नेपाल–भारत सीमास्थित सिराहको माडरबाट नेपाली टोलीले लेभलिङको काम थालेको थियो।
नेपाल–भारत सीमा नजिक सिराहाको माडरमा आधारभूत ‘फन्डामेन्टल डटम’ बिन्दु स्थापना गरेर थालनी भएको उचाइ मापनको काम २०७६ जेठ ८ गते शिखर आरोहण गरी १ घण्टा १६ मिनेटसम्म जीएनएसएस र जीपीएस विधिबाट गणना गरिएको विभागले जानकारी दिएको छ ।
नापी विभागको टोलीले सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, चुल्यामु र पिकेसम्म करिब २४८ किलोमिटरमा समतल नापीको सर्वेक्षण गर्नेदेखि ३४६ स्टेसनबाट सर्भे गरी तथ्यांक संकलन र प्रशोधन गरेको हो।
मापनमा पुरानादेखि नयाँ विधि
उचाई मापनका क्रममा सगरमाथा क्षेत्रमा पाँच टोलीले काम गरेको थियो। मन्त्रालयका अनुसार यसक्रममा मापनका पुरानादेखि उन्नत विधि अपनाईएको थियो।
टोलीले जीपीएमएसएस विधी (जीपीएस) बाट निरीक्षण, सगरमाथा आसपास रहेका विभिन्न १२ हिमालका चुचुराबाट उचाइ मापनको पुरानो विधि ‘ट्रिगोनोमेट्रिक’ र ‘ग्राभिटी सर्भे’,लेवलिङ लगायतका मापन विधि अपनाएर उचाई नापेको थियो।
कम लागतमै मापन
सहसचिव जोशीका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा सगरमाथाको उचाई नाप्ने योजना अगाडि बढेको थियो।
‘कसरी नाप्ने कुन विधि अपनाउने भन्नेबारे अन्तराष्ट्रिय विज्ञहरुसँग पनि छलफल गरिएको थियो।’ उनी भन्छन,‘मेथोडोलोजी डेभलेपमेन्ट गरेर जनशक्ति व्यवस्थापन, तालिम उपकरण व्यवस्थापन गरेर २०७५-७६ बाट टोली फिल्डमा खट्न थाल्यो।’
उचाई मापनका लागि सुरुवातमा २२ करोड लाग्ने अनुमान गरिएको मन्त्रालयको भनाई छ। तर,विभिन्न अन्तराष्ट्रिय कम्पनीहरुले उपकरणमा अनुदान र सहयोग उपलब्ध गराएसँगै अनुमानित बजेट भन्दा कम लागतमै उचाई मापन सकिएको थियो।
मन्त्रालयले करिव १४ करोड लागतमा मापन सकिएको जनाएको छ। ‘महत्वपूर्ण उपकरणमा अन्तराष्ट्रिय कम्पनीहरुले उपकरण सहयोग र अनुदानमा उपलब्ध गराए। यसले अनुमान भन्दा कम लागतमै मापन सकियो।’ सहसचिव जोशी भन्छन,‘झण्डै १४ करोड लागत लागेको छ।’
मंसिर २३, २०७७ मंगलबार १४:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।