कर्णालीमा ४९ जना कुष्ठरोगका बिरामी फेला
तीमध्ये चार जिल्ला (सुर्खेत, दैलेख, जाजरकोट र कालीकोट)मा कुष्ठरोगका बिरामी बढी रहेको अस्पतालले जनाएको छ।
अस्पतालका व्यवस्थापक मंगलप्रसाद थारूका अनुसार कर्णालीका नयाँ संक्रमितमध्ये सुर्खेतका १४, जाजरकोटका १३, दैलेखका ९ र कालीकोटका ६ जना छन्। यस्तै, सल्यानका २ जना, जुम्लाका १ जना र अन्य प्रदेशका ४ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन्।
प्रदेशका हिमाली जिल्लामा भने कुष्ठरोगका बिरामी देखिएका छैनन्।
उमेर समूहका आधारमा नयाँ थपिएका कुष्ठरोगका बिरामीमध्ये १४ वर्ष मुनिका ४, १४ देखि ५९ वर्ष मुनिका ३९ र ६० वर्ष माथिका ६ जना रहेको उनले बताए।
अघिल्लो आर्थिक वर्षमा भने कर्णालीमा ६० जना नयाँ कुष्ठरोगी फेला परेका थिए।
व्यवस्थापक थारूका अनुसार कर्णालीमा बर्सेनि ६०–७० जना नयाँ कुष्ठरोगका बिरामी फेला पर्ने गरेका छन्। नेपालमा भने बर्सेनि तीन हजार नयाँ कुष्ठरोगका बिरामी फेला पर्ने गरेको उनको भनाइ छ।
नेपालमा १६ जिल्लामा कुष्ठरोगी बढी देखिएका छन्। ती सबै तराईका हुन्।
चिसोभन्दा गर्मी बढी हुने तराई तथा भित्री मधेसका जिल्लामा कुष्ठरोग बढी देखिने गरेको उनको भनाइ छ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका कारण कर्णालीमा बिरामीहरू उपचारमा आउने क्रम रोकिएकाले यस वर्ष कुष्ठरोगका नयाँ बिरामीको संख्या कम भएको व्यवस्थापक थारूले बताए।
कोरोनाका कारण यस वर्ष नयाँ कुष्ठरोगी फेला पर्ने क्रम ८९ प्रतिशतले कमी आएको साइनिङ अस्पतालले जनाएको छ।
नेपालमा प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम कुष्ठरोगी भएका कारण निवारण गरिएको छ।
२५ शय्याको अस्पताल स्थापना
सुर्खेतमा कुष्ठरोगका बिरामीको उपचारका लागि २५ शय्याको अस्पताल स्थापना गरिएको छ।
अस्पतालमा कुष्ठरोगका बिरामीबाहेक मेरुदण्ड भाँचिएकाहरूको पनि उपचार हुने गरेको छ। अस्पतालले कुष्ठरोगका बिरामीहरूको खोजीका लागि शिविरसमेत सञ्चालन गरेको छ।
गत वर्ष जाजरकोटको दशेरामा सञ्चालन गरिएको शिविरमा १९४ जनाको जाँच गरिएको थियो, जसमा एक जना नयाँ कुष्ठरोगका बिरामी पत्ता लागेका थिए।
कुष्ठरोगका बिरामीहरूलाई ग्रामीण क्षेत्रमा अवहेलना गर्ने गरेका कारण उपचारमा पहुँच नहुने भएकाले खोजी गर्न आवश्यक रहेको व्यवस्थापक थारूले बताए।
शिविरका साथै कुष्ठरोगबारे जानकारी पनि दिने गरिएको छ। धामी–झाँक्री, आमा समूहलगायत अन्यलाई कुष्ठरोगको उपचारबारे जानकारी गराइएको उनको भनाइ छ।
समुदायमा अझै पनि कुष्ठरोग बिरामीहरू लुकेर बसेको अवस्था रहेको उनले बताए।
मंसिर २३, २०७७ मंगलबार ११:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।