तंग्रिँदै पर्यटन क्षेत्र

तंग्रिँदै पर्यटन क्षेत्र

सरकारले अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध फुकुवासँगै पर्यटन आगमन बढाउन सुरु गरिएको अभियान, कोरोना महामारीबाट अति प्रभावित क्षेत्रका लागि गरेको सहुलियत ऋणको व्यवस्था र निजी क्षेत्रबाट पर्यटन भित्र्याउन भएका प्रयासले कोरोना महामारीपछि थला परेको पर्यटन क्षेत्र तंग्रिने अवस्थामा पुगेको हो। 

कोरोना महामारीका कारण २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ मनाउन थालिएको ‘भ्रमण वर्ष–२०२०’ को सुरुवातमै ठूलो झड्का बेहोर्नुपरेको थियो। 

महामारीको सबैभन्दा बढी असर पर्यटन क्षेत्रलाई परेको मानिन्छ। तथ्यांक अनुसार देशले मासिक ७ अर्ब रूपैयाँसम्म घाटा बेहोरेको छ। 

पर्यटनले लय समात्न थालेसँगै निरास भएका व्यावसायी उत्साहित हुन थालेका छन्। यससँगै सरकारी र निजी क्षेत्रको सहकार्यमा प्रचारात्मक कार्यक्रमसमेत सुरु हुन थालेका छन्। साथै पर्यटकीय गतिविधि पनि सञ्चालनमा आउन थालेका छन्। 

सहुलियत ऋणको व्यवस्था 

सरकारले पर्यटन क्षेत्रलाई कोरोना महामारीका कारण ‘अति प्रभावित क्षेत्र’ घोषणा गरेर सहुलियत ऋणको व्यवस्था गरेको छ। मन्त्रीपरिषद्ले श्रमिकको पारिश्रमिक भुक्तानी र व्यवसायको निरन्तरताको लागि कात्तिक २७ गते ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ स्वीकृत गरेको छ।

यससँगै नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई ऋण उपलब्ध गराउन निर्देशन दिइसकेको छ। 

कार्यविधिले ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, र्याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पा, होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होमस्टे, रिसोर्ट, तथा रेस्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्षलाई अति प्रभावितको रूपमा परिभाषित गरेको छ। 

त्यस्तै, साहसिक पर्यटन (स्किङङ्ग, ग्लाइडिङ्ग, वाटर र्याफ्टिङ, हट एयर व्यालुनिङ, क्यानोइङ, प्यारासेलिङ, घोडचढी, हात्तीचढी, बञ्जी जम्पिङ, हिमाल आरोहण र अवलोकन लगायत) गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार, हवाई तथा पर्यटकीय यातायातलाई समेत अति प्रभावित मानेर सहुलियत ऋण पाउने व्यवस्था गरेको छ। व्यावसायीले यसलाई सकारात्मक रूपमा लिएका छन्। 

पर्यटन पुनर्उत्थानका लागि ‘देश दर्शन’

महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई गतिशील बनाउन पर्यटन पुनर्उत्थान अभियान सञ्चालनमा ल्याइएको छ। सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत नै ‘देश दर्शन कार्यक्रम’ घोषणा गरेको थियो। 

कार्यक्रममा आन्तरिक पर्यटनलाई चलायमान बनाउने लक्ष्य लिएको छ। निजी क्षेत्रसँगको सहकार्य र समन्वयमा ‘देश दर्शन कार्यक्रम’ सञ्चालन भइरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको पर्यटन पुनर्उत्थान कार्यदलले आन्तरिक पर्यटनलाई चलायमान बनाउने पर्यटकीय गतिविधि सार्वजनिक गरी यो कार्यक्रम सञ्चालन गरेको हो।

मन्त्रालयले देश दर्शनको सम्बन्धमा मोडालिटी र कार्यविधि बन्ने क्रममा रहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमलप्रसाद भट्टराई कार्यविधि बन्ने क्रममा रहेको बताउँछन्। ‘मन्त्रालयले कोरोना महामारीदेखि नै छलफल तथा अन्तक्र्रियालाई निरन्तर गरिरहेको छ,’ उनी भन्छन्, ‘स्वास्थ्य मापदण्ड तयार भएको छ। देश दर्शनको मोडालिटी र कार्यविधि बन्ने क्रममा छ।’  

सहसचिव भट्टराई सरकारी कर्मचारीलाई बिदाको व्यवस्था गरेर गतिविधि बढाउनेबारे छलफल भइरहेको बताउँछन्। ‘कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिनेबारे पनि छलफल भइरहेको छ,’ उनी भन्छन्। 

कार्यदलका संयोजक एवं नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी महामारीबाट सुरक्षित रहँदै पर्यटकीय गतिविधि अगाडि बढाउन सर्भे गर्ने, निर्णय तहलाई सुझाव दिने, ‘देशदर्शन संवाद’ कार्यक्रम र सुरक्षा सचेतनासम्बन्धी कार्यक्रम गरिरहेको बताउँछन्।

‘महामारीबाट सुरक्षित रहेर पर्यटकीय गतिविधि बढाउन अन्तर्राष्ट्रिय अभ्यास र नेपालको सम्भावनाबारे सर्भे गरेका छौं। निर्णय तहमा आवश्यक सुझाव दिने र छलफललाई निरन्तरता दिइरहेका छौंं,’ उनी भन्छन्।  

सञ्चालनमा आउँदै अन्तर्राष्ट्रिय उडान 

सरकारले अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध हटाएसँगै नेपालमा उडान भर्ने सवै बिमान कम्पनीलाई उडान अनुमति दिएको छ। ती उडानले यात्रु अभाव र संक्रमणको जोखिमका कारण तत्काल नियमित उडान सञ्चालनमा ल्याउन सकेका छैनन्, क्रमशः सञ्चालनमा आउने तयारीमा छन्। 

प्राधिकरणका प्रवक्ता राजकुमार श्रेत्री दैनिक १२ देखि १५ उडान भईरहेको बताँउछन। ‘हामीले सबै विमान कम्पनीलाई उडान अनुमति दिएका छौँ। क्रमशः सञ्चालनमा आउने तयारीमा छन्,’ उनी भन्छन, ‘सामान्य अवस्थामा ५० वटासम्म उडान हुन्थे। अहिले दैनिक १५ वटासम्म उडान भर्ने गरेका छन्।’

त्यस्तै, नेपाली र भारतीयले मात्रै यात्रा गर्न पाउने गरी ‘एयर बबल अवधारणा’अन्र्तगत नेपाल–भारत उडानसमेत सञ्चालन हुने भएको छ। मन्त्रालयले अनुमति दिएसकेकाले पुसअगावै उडान सञ्चालनको तयारीमा रहेको प्राधिकरणको भनाइ छ। सरकारले गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध खुला गरेको थियो। 

प्रमोसन प्याकेज बनाउँदै बोर्ड 

नेपाल पर्यटन बोर्डले कोरोना महामारीपछि पर्यटन भित्र्याउन विभिन्न प्रचारात्मक कार्यक्रम अगाडि बढाएको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी महामारीपछि पर्यटन पुनर्स्थापना गर्न बोर्डले प्रचारात्मक अभियान सुरु गरेको बताउँछन्। 

‘संकटमा पहिलो चरणमा प्रचारात्मक कार्यक्रम आवश्यक पर्छ। सोही अनुसारका प्याकेज बनाइरहेका छौं,’ उनी भन्छन्, ‘बोर्डले पहिलो पटक खाडी मुलुक लक्षित गरी प्याकेज तयार पारेको छ। साथै चिनियाँ पर्यटक आकर्षित गर्न ‘वि च्याट’मार्फत प्रचार गर्ने र युरोपलगायतका अन्य क्षेत्रका लागि प्याकेजको तयारी गरिरहेका छौं।’

बोर्डले प्रत्येक प्रदेशमा प्रदेश कमिटी गठनसँगै कार्यालय स्थापना गरेको छ। त्यस्तै, बोर्डले अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका र नेपालबारे अध्ययन अनुसन्धान गरेका अनुसन्धानकर्ता र वैज्ञानिकलाई सहमागी गराएर प्रचार रणनीति तयार गरिरहेको छ। 

आन्तरिक पर्यटनको चहलपहल

लकडाउन खुलेसँगै चितवन पोखरा सहितका पुराना पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। यसले व्यावसायी उत्साहित बनेका छन्। 

कोरोना महामारीकै बीचमा केही नयाँ पर्यटकीय गन्तव्यहरू चर्चामा आएका छन्, जसमा ‘बाहुवली झरना’को नामबाट चर्चामा आएको काभ्रेपलाञ्चोकको तीनधारे झरना, तनहुँको मानहुँकोट लगायत छन्। 

अनएराइभल भिसा खुलाउने तयारी 

अध्यागमन विभागले अनएराइभल भिसा (विमानस्थलमा आइसकेपछि उपलब्ध गराइने भिसा) जारी गर्ने तयारी थालेको छ। यसअघि अत्यावश्यक काम, विदेशी कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थामा कार्यरत विदेशी संस्थाका प्रतिनिधिलाई यो भिसा उपलब्ध गराइन्थ्यो। 

अध्यागमन विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा (साउनदेखि मंसिर १७ सम्म) ३ हजार ८ सय विदेशी नेपाल भित्रिएका छन्। उनीहरू पर्यटन, कूटनीतिक लगायतका विभिन्न भिसामा नेपाल आएका हुन्। 

विभागका प्रवक्ता रामचन्द्र तिवारी विभागले सबैसँगको समन्वयमा मापदण्ड पूरा गरेर अनएराइभल भिसा जारी गर्न लागिएको बताउँछन्। ‘अहिलेसम्म पर्यटन मन्त्रालयको सिफारिसमा आएकालाई मात्रै भिसा जारी गर्ने गरिएको छ,’ उनी भन्छन्, ‘सबैसँगको समन्वयमा स्वास्थ्य मापदण्ड जारी गरेर अनएराइभल भिसा जारी गर्ने तयारी थालिएको छ।’  

पर्यटन व्यवसायीले लामो समयदेखि स्वास्थ्य मापदण्ड पूरा गरेर भिसा खुलाउन माग गर्दै आएका थिए। विभागले हवाई मार्ग मार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र यस्तो भिसा लिने सुविधा पाइने विभागले जनाएको छ। यसले पनि थलिएको पर्यटन क्षेत्रले पुनर्जीवन पाउने विश्वास लिइएको छ। 

मंसिर २३, २०७७ मंगलबार ०८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।