मालपोतमा भीड बढेपछि पालो प्रणाली

मालपोतमा भीड बढेपछि पालो प्रणाली

कार्यालयले जिल्लालाई दुई क्षेत्रमा विभाजन गरेर काम गर्ने जनाएको छ, जसअनुसार वीरेन्द्रनगर नगरपालिका क्षेत्रका सेवाग्राहीको मंगलबारदेखि शुक्रबारसम्म काम गरिने छ।

यस्तै, चौकुने, बराहताल र चिंगाड गाउँपालिका तथा लेकबेसी, पञ्चपुरी र भेरीगंगा नगरपालिका क्षेत्रका सेवाग्राहीको काम भने आइतबार र सोमबार गरिने कार्यालयले जनाएको छ। 

कार्यालय प्रमुख लक्ष्मी खत्रीले सेवाग्राहीको चाप अत्यधिक बढेपछि कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम घटाउन पालो अनुसार काम गर्ने प्रणाली लागू गरिएको बताइन्। 

कार्यालयमा भीड भएपछि सेवाग्राहीले सेवा असहज र ढिलो भएको गुनासोसमेत गरेको उनको भनाइ छ। यो प्रणाली लागू भएपछि सेवा केही सहज र छिटो हुने उनले विश्वास व्यक्त गरिन्। 

नगरपालिकाले खटायो दुई कर्मचारी

वीरेन्द्रनगर नगरपालिकाले मालपोत कार्यालयमा दुई कर्मचारी खटाएको छ।  

कार्यालयले नगरपालिकालाई दुई कम्प्युटर अपरेटरसहित कम्प्युटर र बायोमेट्रिक फिंगर क्यामेरा उपलव्ध गराइदिन पत्र लेखेपछि नगरपालिकाले दुई जना कम्प्युटर अपरेटर खटाएको हो। 

सेवाग्राहीको भीड बढेकाले सेवाप्रवाहमा ढिलासुस्ती भएको भन्दै कार्यालयले गत बुधबार नगरपालिकालाई पत्र लेखेको थियो। 

मालपोत अधिकृत खत्रीले नगरपालिकाबाट जनशक्ति आएकाले उपकरणहरू जोडेर तत्काल काम थालिहाल्ने जानकारी दिइन्। 

भवन अभाव 

कार्यालयलाई भवन अभावको समस्या भएको छ।

भवन अभाव भएपछि पुरानो नापी कार्यालयको भवन प्रयोगको अनुमतिका लागि भूमि सुधार मन्त्रालय तथा कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई पत्राचार गरिएको मालपोत अधिकृत खत्रीले जानकारी दिइन्।

यसबारे केन्द्रले प्रदेश सरकारसँग समन्वय गर्न भनेको उनले बताइन्। 

पश्चिम क्षेत्रमा मालपोत स्थापनाको माग

जिल्लाको पश्चिम क्षेत्रका स्थानीयले मालपोत कार्यालय स्थापनाको माग गरेका छन्। स्थानीय तिलकराम अधिकारीले पश्चिम क्षेत्रमा मालपोत कार्यालय स्थापना गर्न आवश्यक रहेको बताए। 

उनले पश्चिम क्षेत्रमा कार्यालय स्थापना गरिए यस क्षेत्रका वासिन्दालाई मालपोतको कामका लागि जिल्ला जानुपर्ने बाध्यता अन्त्य हुने बताए। 

केही समयअघि जिल्लाको पूर्वी क्षेत्रमा पर्ने गुर्भाकोट नगरपालिकाको मेहेलकुनामा मालपोत कार्यालय स्थापना गरिएको छ। सो कार्यालयबाट सिम्ता र गुर्भाकोट गाउँपालिकाका सेवाग्राहीको काम गर्ने बताइएको छ। 

मालपोत अधिकृत लक्ष्मी खत्रीले पश्चिम क्षेत्रमा कार्यालय स्थापना गर्नेबारे निर्णय केन्द्रबाटै हुनुपर्ने बताइन्। पश्चिममा पनि कार्यालय स्थापना गरिए जिल्लास्थित कार्यालयमा सेवाग्राहीको भीड कम हुने उनको भनाइ छ। 
 

मंसिर २२, २०७७ सोमबार १४:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।