सिजन सकिएपछि अनुदानमा आलुको बीउ

सिजन सकिएपछि अनुदानमा आलुको बीउ

कार्यालयका अनुसार त्यसका लागि तीन वटा संस्थाले आवेदन दिए। तीमध्ये जनकपुरधाम उपमहानगरपालिका पुल चोकस्थित गीता एग्रोभेट प्रालिसँग अनुदानको बीउ वितरण गर्न सम्झौता गरियो। उक्त एग्रोभेटले यही मंसिर १५ गतेदेखि बीउ वितरण सुरु गर्याे। 

आलु रोप्ने सिजन सकिएपछि एग्रोभेटले बीउ वितरण सुरु गरेको सरोकारवालाले गुनासो गरिरहेका छन्। 

स्थानीय किसान शनिचर यादवले कात्तिक पहिलो साता वितरण गर्नुपर्ने बीउ अहिले बाँड्नुको औचित्य नरहेको बताए। ‘सरकारले बीउ समयमा वितरण गर्नुपर्छ। अहिले सिजन गएपछि वितरण गर्नुको कुनै औचित्य छैन,’ उनले भने, ‘सिजन गइसकेपछि किन किसानले बीउ लिन्छ? त्यसमा पनि कुहिएको र बजार मूल्यभन्दा बढी तिर्नुपर्ने?’ 

सरकारले औचारिकताको लागि मात्रै बीउ वितरण गरेको भन्दै कार्यालयका कर्मचारीले नैतिक भ्रष्टाचार गरेको उनको आरोप छ। 

प्रदेश २ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका अधिकृत डा. रत्न झाले आलु दुई सिजनमा हुने गरेको जानकारी गराउँदै पहिलो सिजनमा ढिलो भइसकेको बताए। 

प्रदेशका किसान पहिलो सिजनमा नै बढी आलु रोप्ने गरेको भन्दै यसमा कार्यालय चुकेको उनको भनाइ छ। ‘आउने सिजनमा आलु रोप्दा उत्पादन कम हुने सम्भावना हुन्छ। मधेशमा शितलहर आएपछि आलुको विरुवा हुर्कन पाउँदैनन्,’ उनले भने, ‘तुलनात्मक रूपमा बिरुवा हुर्किएपछि रोग र किरा लाग्छ।’ 

उनको अनुसार आलुमा ‘अलटेरेनिया सलोनी’ नामक एक ढुसीले लाग्ने गर्छ। रातिको औसत तापक्रम १५ सेल्सियसभन्दा कम हुनु, सापेक्षिक आद्रता बढी हुनु र जमिनलगायत बिरुवामा ओश पर्नु आदि ढुसी अंकुरणका लागि अनुकूल वातावरण मानिन्छन्। 

तराईमा आलु उत्पादनको लागि दोस्रो सिजन उपयुक्त नभएको उनको भनाइ छ। वातावरण अनुकूल रोग सहन सक्ने जातको बिरुवा रोप्दा खासै असर नपर्ने उनको भनाई छ। 

बटेश्वर गाउँपालिकाका किसान श्रीनारायण महतोले अनुदानमा कुहिएको बीउ पाएको बताए। 

‘मागपत्र दिन आएको बेला प्रतिकिलोग्राम ७० रूपैयाँमा ‘लालगुलाब’ जातको आलुको बीउ दिने आश्वासन दिइएको थियो,’ उनले भने, ‘तर, बीउ प्रतिकिलोग्राम ९० रूपैयाँमा बिक्री गरिरहेका छन्। त्यसमा पनि ५० किलोग्रामको बोरामा १० किलोग्राम कुहिएको आलु निस्कन्छ। आलु पनि फरक जातको छ।’ 

यो ठगी र बेइमानी गरिएको महतोको आरोप छ। 

जनकपुर पेठिया बजारका आलु व्यापारी रामभरोसले आलुको बीउ प्रतिकिलोग्राम ७० रूपैयाँ रहेको बताए। यसको थोकमूल्य भने अझै कम रहेको उनको भनाइ छ। 

भारतीय आलुको मूल्य स्थानीय आलुभन्दा कम रहेको उनले जानकारी दिए। सार्वजनिक खरिद ऐन अनुसार सम्झौता गरी किसानलाई बीउ वितरण भइरहेको उनले बताए। 

गीता एग्रोभेट प्रालिका सञ्चालक सञ्जय पञ्जियारले आलु वितरणमा ढिलो भएको बताए। ‘गत कात्तिकमा नै आलुको बीउ वितरण हुनुपथ्र्यो। अहिले एकदमै ढिलो भयो,’ उनले भने, ‘तर, बजारमा बीउ अभाव छ। त्यसकारण पनि ढिलो भएको छ। सिजन सकिएकाले केही आलु कुहिएकोजस्तो पनि छ।’ 

स्थानीय बजारमा पाइने आलु किसालाई वितरण गर्ने सम्झौता भएको उनले जानकारी दिए। हालसम्म ५० किलोग्रामको ९० वटा बोरा वितरण भइसकेको छ। 

यता, कृषि ज्ञान केन्द्र, धनुषाका कार्यालय प्रमुख शंकरप्रसाद साहले किसानले लगाएको सबै आरोप गलत रहेको दाबी गरे। टेण्डर नपरेका संस्थाले कार्यालयको बदनाम गर्न लागेको उनको दाबी छ। बजारमा बीउ अभावले बिक्री वितरणमा ढिलो भएको उनले स्वीकार गरे। 

उनले किसानलाई नागरिकता र पालिकाको सिफारिसको आधारमा आलु बिक्री गर्ने निर्णय भएको जानकारी दिए। 

मंसिर २२, २०७७ सोमबार ०७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।