बिहेको अघिल्लो दिन श्वेताले भनिन् : ‘खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेकी छु’

बिहेको अघिल्लो दिन श्वेताले भनिन् : ‘खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेकी छु’

भोली मंसिर २२ गते बिहे गर्न लागेकी श्वेताले आफूले पहिलो श्रीमान गुमाउँदा भोग्नु परेको पीडा र भावी जीवनका बारेमा मार्मिक स्टाटस पोष्ट गरेकी छिन्। 

‘आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु। विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु। मेरो अतितलाई सहर्ष स्वीकार गरी मसँगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु। म, जीवनको दुःखद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु।’

नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन्। स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ। विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन्। 

नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन्। तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो। 

यस्तो छ श्वेताको फेसबुक स्टाटस

म : जीवनको नविन यात्रामा 
जीवनका विभिन्न आरोह–अवरोह, उकाली–ओराली, सुख–दुःख अनि हाँसो–रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु। जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पीर, ब्यथा, दुःख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु। ‘अचानोको पीडा खुकुरीलाई थाहा हुन्न भनेझैं समयको दुस्चक्रले ममाथि प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पीडाहरु केवल मलाई मात्र थाहा छ। 

म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जसमा  तिखा काँडा, ठूलाठूला पत्थर अनी  आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन्। मैले मेरो जीवनको बाटोमाथि छरपस्ट ति काँडाहरुलाई पन्छाउनु पर्नेछ। पत्थरहरुलाई फुटाउनु पर्नेछ अनि आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ। के म यसो गर्न सकुँला र ? आँफैसंग प्रश्न गर्थें। आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें ‘कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघी बढ्नुपर्छ’ अतः मैले मृत्युलाई रोजिनँ, जीवनलाइनै रोजें। अनि जिन्दगीका हरेक समस्याहरुसंग जुध्दै क्रमशः अगाडि बढ्दै गएँ।

एक्लै जीवन काट्न सकिन्छ भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखी एक्लै हिँडीरहेकी थिएँ म। 
मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु। अब उठ्नै सक्दिन कि भन्ने कम्जोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ। महिनै पिच्छे करिव हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरिरले एक गिलास पानीसंगै औषधिको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ। मनभित्र गाँठो परेर बसेका अब्यक्त  बहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथि बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ। तर, मैले मेरा बहहरु ब्यक्त गर्ने को संग ? मैले  साथीसंगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पीडालाई महसुस गर्न सक्ने कोही देखिनँ। आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पीडा पोखेर माइतीलाई थप तनाव दिनुहुन्न भन्ने मनन् गरें। अत : मेरो हरेक दुःखमा म एक्लै रोएँ, पींडाहरुमा आँफै सम्हालिएँ अनि अनेकन समस्याहरुसंग एक्लै जुधिरहें। 

मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैसिहरुले एउटा जीवनसाथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर, एक पटक पुछिएको सिउँदोमाथि पुन : सिन्दुर भर्न आँट गर्ने कुनै  निस्वार्थी हातहरु पाईन्छ र ? फुटेको चुरासंगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको  धनी कोही भेटिन्छ र ? अनि विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुनः फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाईएला र ? लौ,भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी ब्यक्ती पनि पाइयो रे, अनी के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्वीकार गर्ला र ? म मेरा हितैसिहरुलाई प्रश्न गर्थें। 

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु। विगतको पींडालाई भुलाउने एउटा बहाना पाएकी छु। मेरो अतितलाई सहर्ष स्वीकार गरी मसंगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु। म, जीवनको दुःखद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु। त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन।

अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन। तर, मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनि साथीसंगतीहरु, अग्रज र दिग्गज ब्यक्तित्वहरुलगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौसला, साहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु। यती हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवश्य छ। के यो पुरुष प्रधान समाजले मेरो यो  निर्णयलाई स्विकार गर्ला र ?

मलाई थाहाछ ‘श्वेताको आँखामा आँसु मात्रै देखिनु पर्छ’ भन्ने सोच बोकेका दुईचार जना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ। श्रीमती स्वर्गीय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ। तर, मप्रति साहनुभुती राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनि संधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सदभाव र सुवेक्षाले मप्रित रिस र इर्ष्याको सोच राख्ने  दुईचार जनाले स्वतः हार खानेछन्।

अतः कोरोनाको सन्त्रासका बीच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य ब्यक्तित्वहरु, संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु। महामारीको यो माहौलमा सिमित ब्यक्तिहरुलाई साँक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दैगर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वाश लिएकी छु ।

उही तपाईंकी छोरीचेली 
 श्वेता खड्का

मंसिर २१, २०७७ आइतबार १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।