‘अचानोको दुखाई खुकुरीलाई के थाहा’
काठमाडौं : सरकारले चलचित्र हल अझै १५ दिन नखोल्न आग्रह गरेपछि चलचित्र निर्माताका रुष्ट देखिएका छन्।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अझै १५ दिन कडाइका साथ नियम लागू गर्न निर्देशन दिएपछि चलचित्रका निर्माताहरु रुष्ट देखिका हुन्।
डा. गौतमले नियमित पत्रकार सम्मेलनमा चलचित्र हल, रात्रिकालिन व्यवसायहरु नखोल्न तथा जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन हुने खालका काम नगर्न संस्था तथा व्यवसायीहरुलाई आग्रह गरेका थिए।
सरकारले अझैं हल खोल्न अस्वीकार गरेको भन्दै चलचित्र संघका महासचिव अशोक शर्मा सरकारले हल खोल्न आनाकानी गरेकोमा आपत्ति जनाएका छन्। उनले ६ महिना अघि नै सरकारलाई हल खुलाउन दबाब मुलक आन्दोलन गर्ने सहमति भएको उल्लेख गर्दै अन्य निर्माताले सहमति नजाउँदा यो नियति भोग्न बाध्य भएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा सरकारलाई लक्षित गर्दै लेखेका छन्,‘हामीले आज भन्दा ६ महिना अघि चलचित्र अद्योगलाई आवश्यक प्रक्रिया अबलम्बन गरि खुलाउनका लागि सरकारलाई दबाब दिन आन्दोलन गर्न छलफल चलायौँ।
देशका अन्य क्षेत्रमा जस्तै हामी कहाँ पनि राजनितिक भयो र आन्दोलनको हावा अर्कैतिर मोडियो। त्यसको नतिजा सबै क्षेत्र खुलिसक्दा पनि आजसम्म हामी।’
चलचित्र निर्माता तथा वितरक सुशिल पोखरेलले पनि सरकारको अभिव्यक्ती र अभिनेता राजेश हमालको भनाईलाई लक्षित गर्दै भने,‘अचानोको दुखाई खुकुरीलाई के थाहा ?’
निर्माता सुशिलले सरकार र अभिनेता राजेश हमाललाई लक्षित गरि लेखेका छन्,‘भोको भन्छ डाडा वारी खाउँ, अघाएको भन्छ डाडा पारी खाउँ। यस्तै उखान चरितार्थ भएको छ हाम्रो चलचित्र क्षेत्रमा। लगानीमा फसेका साथीहरु कहिले हल खुल्ला र हाम्रो उद्धार होला भन्ने आसमा छन् भने लगानी नफसेका साथीहरु चाही ढुक्क छन् र हल खोल्नु हुँदैन भन्दै मिडियाबाजी गर्नमा व्यस्त छन्। के गर्नु हजुर।’
अभिनेता राजेश हमालले चलचित्र भवन खोल्न हतारिनु हुँदैन भन्ने अभिव्यक्ती दिएका थिए। हलबाट कोरोना संक्रमणको जोखिम बढ्ने हुँदा अहिले चलचित्र हल खोल्न हतारिनु हुँदैन भन्ने कुरा हमालले गरेका थिए।
चलचित्र संघका पुर्वअध्यक्ष तथा निर्माता प्रदिप कुमार उदयले हमाल र सरकारको भनाईमा असन्तुष्टि जनाउँदै लेखेका छन्,‘सम्पुर्ण व्यवसायहरु सुचारु भइसकेको अवस्थामा के हलबाट मात्र कोराना फैलने हो ? सरकारले लकडाउन गरेको अवस्थामा स्वीकृति नदिएको अवस्थामा म्युजिक भिडियोमा अभिनय गर्ने निर्माण गर्नेलाई कानुनको उल्लंघन गरेको अभियोग लाग्ने कि नलाग्ने ?’
त्यहि कुरालाई पछ्याउँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले चलचित्र हल, तथा रात्रिकालिन व्यवसाय अझैँ १५ दिन हल नखोल्न आग्रह गरेका हुन्। उनले पुस महिनाबाट केही लचिलो हुने संकेत भने गरेको छन्।
मंसिर २१, २०७७ आइतबार १४:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।