बैंकले सेयरधनीलाई दिने लाभांशमा भारी गिरावट
काठमाडौं : नेपालमा सञ्चालित वाणिज्य बैंकले आफ्ना सेयरधनीलाई दिने लाभांशमा भारी गिरावट आएको देखिएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणले नेपालमा समेत प्रभाव पारेको र यसले बैंकको मुनाफामा समेत खुम्चिन पुग्दा सेयरधनीलाई दिने लाभांशमा गिरावट आएको हो।
यति बेला बैंकहरुले गत आर्थिक वर्ष २०७६÷७७ मा कमाएको मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरिरहेका छन्।हालसम्म १४ वटा बैंकले लाभांशसम्बन्धी सूचना सार्वजनिक गरिसकेका छन्। तीमध्ये ६ वटाको बुकक्लोजसमेत भइसकेको छ।
बाँकी ८ वटा बैंकको भने सञ्चालक समिति बैठकले गरेको लाभांशसम्बन्धी निर्णय सार्वजनिक भएको हो।नेपाल धितोपत्र बोर्डमा सूचीकृत भई नेपालको सेयर बजारमा कारोबार हुने कम्पनीले लाभांशसम्बन्धी निर्णय गर्दा तत्कालै सार्वजनिक रुपमा जानकारी गराउनुपर्ने व्यवस्था छ।
नेपालमा हाल २७ वटा वाणिज्य बैंक सञ्चालनमा छन् । तीमध्ये राष्ट्रिय वाणिज्य बैंकमा पूर्णतया सरकारी बैंक हो । यसमा सर्वसाधारणको सेयर नभएको र नेपाल धितोपत्र बोर्डमा सूचीकृत पनि नभएकाले यो बैंकले लाभांशसम्बन्धी निर्णय सार्वजनिक गर्नुपर्दैन।
बाँकी १२ वटा बैंकले लाभांशसम्बन्धी निर्णय गरिसकेका छैनन् । उनीहरुले पनि केही दिनमै लाभांशसम्बन्धी निर्णय गर्न सक्ने सम्भावना छ।लाभांश घोषणा गरिसकेका बैंकमा हिमालयन बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमान्डू, सिद्धार्थ बैंक, कुमारी बैंक, सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन्।
यस्तै सिटिजन्स बैंक, एभरेस्ट बैंक, माछापुच्छ बैंक, सिद्धार्थ बैंक, नेपाल बंगलादेश बैंक र सनराइज बैंकले पनि लाभांश घोषणा गरिसकेका छन्। यी बैंकको लाभांशसम्बन्धी तथ्यांक विश्लेषण गर्दा अघिल्लो वर्षको तुलनामा औसतमा ३०.५ प्रतिशतले गिरावट आएको देखिएको छ।
यी बैंकहरुले आर्थिक वर्ष २०७५÷७६ मा कमाएको मुनाफाबाट औसतमा १९ प्रतिशतका दरले सेयरधनीलाई लाभांश वितरण गरेका थिए । यसपटक भने यो दर १३.२ प्रतिशत छ।
अघिल्लो वर्षको तुलनामा यसपटक कुमारी बैंकले मात्रै लाभांश बढाएको छ । अघिल्लो वर्ष १०.५२ प्रतिशत लाभांश वितरण गरेको कुमारीले यसपटक १४ प्रतिशत लाभांश दिएको छ।
लाभांशमा सबैभन्दा बढी गिरावट एभरेस्ट बैंकमा देखिएको छ । यो बैंकको लाभांशमा झन्डै ५८ प्रतिशतले गिरावट आएको छ । एभरेस्ट बैंकले गत वर्ष २५ प्रतिशत लाभांश दिएकोमा यस वर्ष १०.५३ प्रतिशतमात्रै लाभांश दिने प्रस्ताव गरेको छ।
त्यस्तै सनराइज बैंकको लाभांशमा ४७.६, स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांशमा ४७.४, नेपाल एसबिआइ बैंकको लाभांशमा ४३.८ र ग्लोबल आइएमई बैंकको लाभांशमा ४०.६ प्रतिशतले गिरावट आएको छ। सानिमा बैंकले ३५.४, माछापुच्छ्रे बैंकले ३५, नेपाल बंगलादेश बैंकले २९.८, सिटिजन्स बैंकले २६.७, हिमालयन बैंकले ९.१, बैंक अफ काठमान्डूले ५.९ र एनआइसी एसिया बैंकले ५ प्रतिशत लाभांश घटाएका छन्।
लाभांश घोषणा गरेका बैंकमध्ये सानिमा, माछापुच्छ«े, सिटिजन्स, बैंक अफ काठमान्डू, एनआइसी एसिया र कुमारी बैंकको बुक क्लोज भइसकेको छ । बाँकी आठवटा बैंकको बुकक्लोज हुन बाँकी छ ।
लाभांश घोषणा गर्न बाँकी बैंकहरुमा कृषि विकास, सिभिल, सेन्चुरी कमर्सियल, लक्ष्मी र मेगा छन् । यस्तै नबिल बैंक, नेपाल बैंक, एनसिसी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र प्रभु बैंकले पनि सेयरधनीलाई दिने लाभांश घोषणा गर्न बाँकी छ ।
कोरोना संक्रमणको सम्भावित जोखिम रोक्न गत चैतदेखि सरकारले मुलुकभर लकडाउन जारी गरेको थियो । तीन महिनासम्म पूर्ण लकडाउन र त्यसपछि आंशिक लकडाउन गरिएको थियो।
अझै पनि मुलुकको आर्थिक गतिविधि पूर्ववत् अवस्थामा फर्किन सकेको छैन । जसका कारण बैंकहरुको व्यवसायमा पनि असर प¥यो । चैतयता बैंकहरुमा निक्षेप थुप्रियो भने कर्जा लगानीको वातावरण बन्न सकेन।
यसले बैंकको लागत बढ्दै गयो । कोरोनाका कारण उद्यमी व्यवसायी पनि समस्या पर्दा बैंकहरुलाई पुराना कर्जाको साँवा ब्याज उठाउन समेत समस्या भयो।
उता नेपाल राष्ट्रबैंकले ऋण र त्यसको ब्याज उठाउन उद्यमी व्यवसायीलाई दबाब नदिन निर्देशन दियो। राष्ट्रबैंकको निर्देशनअनुसार एटिएम प्रयोग निःशुल्क बनाइयो भने सेवा शुल्कमा पनि कटौती हुन पुग्यो।यी सबैका कारण बैंकको नाफा खुम्चिन पुग्दा सेयरधनीलाई दिने लाभांशमा समेत असर देखा परेको छ।
मंसिर २१, २०७७ आइतबार ०८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।