घरेलु तथा साना उद्योगमा बढ्दै लगानी

घरेलु तथा साना उद्योगमा बढ्दै लगानी

भैरहवा : रुपन्देहीमा पछिल्लो समय घरेलु तथा साना उद्योगमा लगानी बढ्दै गएको छ। कोरोना महामारीबीच पनि जिल्लामा लगानी गर्नेहरु बढीरहेका छन्।

थोरै लगानीमा संचालन गर्न सकिने र उर्जा खपत तथा कामदार सहजै पाइने भएपछि घरेलु तथा साना उद्योगहहरुमा लगानीकर्ताहरु आकर्षित भएका हुन। जिल्लामा अहिले १५ हजार १२ वटा घरेलु तथा साना उद्योगहरु सञ्चालनमा छन् । ती उद्योगहरुमा झण्डै ३० अर्ब लगानी भएको छ।

‘रुपन्देही आर्थिक तथा पर्यटकीय हब बन्दै गइरहेको छ।यहाँ हरेक दृष्टिले लगानीका लागि उपर्युक्त ठाउँ छ’घरेलु तथा साना उद्योग कार्यालय रुपन्देही प्रमुख लक्ष्मण लम्सालले भने‘ त्यसैले पनि थोरै लगानीमा उद्योग संचालन गर्नेहरु बृद्धि भएका हुन।’

जिल्लामा पछिल्ला वर्षहरुमा खाद्यान्न, काठजन्य,ग्रिल, स्टिल,आल्मुनियम,कृषिजन्य, पर्यटकजन्य उद्योगहरु बढी खुल्ने गरेका छन्।यससँगै हस्तकला,सिलाइकटाइ ब्युटिपार्लर जस्ता कम लगानीमा सञ्चालन गर्न सकिने उद्योगहरु पनि बढी मात्रामा खुलेका छन्।

खासगरी कोरोना महामारी सुरु भएयता लगानी सुरक्षित हुने देखिएपछि कृषि तथा पशुपालनमा लाग्ने ह्वात्तै बढेको छन्। ‘कोरोनाले धेरैलाई कृषिमा लाग्न प्रेरित गर्यो, अझ कयौंले कृषि उद्योग दर्ता गररे नै व्यवसायिक तरकारीखेती,माछा,बाख्रा, गाईभैसी पालनमा लाग्नुभएको छ’,लम्सालले भने,‘अहिले दैनिक ४÷५ वटा कृषिसम्बन्धी उद्योग दर्ता हुँदै आएका छन्।’

जिल्लामा साना तथा घरेलु उद्योग अन्तर्गत हाल ६ हजार ६६७ उत्पादनमूलक,४ हजार २२६ सेवामूलक,२ हजार ३१४ पर्यटनजन्य,१ हजार८०४ कृषि तथा वनजन्य र सूचना तथा संचार उद्योग एउटा संचालनमा छन्।

यीमध्ये पछिल्लो डेढ वर्षमा मात्रै १ हजार ९४८ उद्योग नयाँ खुलेको घरेलुको तथ्यांक छ। स्वदेशमा दक्ष जनशक्ति नहुँदा जिल्लामा संचालित ठूला उद्योगहरुमा भारतीय नागरिक बढी रोजगाररत छन्। तर, होटल तथा रेस्टुरेण्ट,छाला जुत्ता उद्योग, सःमिल,सिलाइकटाई,हस्तकला, धातुजन्य उद्योग, खाद्य तथा पेय, इन्जिनियरिङ वर्कसप, फर्निचर, कृषि तथा पशु फार्म, निमार्ण जस्ता घरेलु तथा साना उद्योगमा भने नेपाली बढी रोजगाररत छन्।

जिल्लामा संचालित घरेलु तथा साना उद्योगहरुमा मात्रै ३२ हजारले ३ सय १० जनाले रोजगारी पाएको सरकारी आँकडाले देखाउँछ। यीमध्ये २४ हजार ९ सय १९ पुरुष छन् भने ७ हजार ३ सय ९१ महिला छन्।

राज्यले श्रमप्रधान तथा उर्जा खपत न्यून हुने प्रकृतिका उद्योगलाई घरेलु र पाँच करोडसम्मको स्थिर पूँजी लगानी हुने उद्योगलाई साना उद्योग अन्तर्गत राखेको छ।विशेषगरी पछिल्ला वर्षहरुमा रोजगारीका लागि विदेश गएर फर्केका र युवापुस्ताले साना तथा घरेलु उद्योगमा बढी मात्रामा लगानी गर्ने गरेका छन्।

यससँगै मुलुकमा स्थिरताको अपेक्षा र रुपन्देही लगानीका हिसावले राम्रो जिल्ला भएकाले पनि यहाँ घरेलु तथा साना उद्योगहरुमा लगानी गर्नेहरु उल्लेखरुपमा बढेका छन्।उद्योग व्यापार संगठन रुपन्देहीका उपाध्याक्ष रामचन्द्र रेग्मीले अपेक्षाकृतरुपमा जिल्लामा लगानी भइरहेको बताउँदै यो समग्र जिल्ला, प्रदेश र मुलुकका लागि राम्रो सन्देश भएको बताए।

उनले भने,‘राज्यपक्षबाट अझै धेरै सुविधा दिन बाँकी छ, जुन किसिमले लगानी भइरहेको छ, त्योअनुसार सेवासुविधा सरकाले दिएको छैन,यसलाई बढाएमा थप लगानी बढ्ने छ।’

उनले उद्योग दर्ता गर्दा उद्योगी व्यवसायीले धेरै झन्झट व्यहोर्नु परेको बताउँदै त्यसलाई सहज गरानुपर्ने बताए। ‘कर्जा प्रवाहमा सहजता तथा उद्योमैत्री वातावरण र बजारीकरणलाई थप व्यवस्थित गर्ने हो भने लगानी झनै बढ्ने देखिन्छ’, उपाध्यक्ष रेग्मीले भने,‘सरकारै पिच्छे लिइने दोहोरो तेहोरो कर हटाउनुपर्छ।’

रुपन्देहीमा बजारीकरण राम्रो छ।चाहे माछा होस्, चाहे हरियो तरकारी र दूध,हरेक बस्तुको विक्रीवितरण राम्रो छ।
संचालनको अन्तिम तयारीमा रहेको गौतमबुद्ध विमानस्थल,विशेष आर्थिक क्षेत्र, मुलुककै दोस्रो ठूलो भन्सार नाका, बुद्ध जन्मस्थल लुम्बिनी जस्ता कारणले पनि जिल्लामा लगानी बढ्दो छ।

‘हरेक दृष्टिले यहाँ व्यवसाय गर्न सहज छ।भारतसँग सीमा जोडिएकाले कच्चापदार्थ ल्याउँदा निकै सहज हुन्छ, अन्य सामानहरु खरिद र विक्री सजिलो छ। बजारीकरण,सडकमार्ग,यातायातको सहज पहुँच छ, त्यसैले पनि रुपन्देही सानादेखि ठूला सबै व्यवसायीको रोजाईमा छ’लम्सालले भने।

 

मंसिर २१, २०७७ आइतबार ०६:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।