आदेश नमानेको दिन
हो ! मैले आदेश नमानेको दिन
घडी टक्क अडिने छ
ग्रिनबीच समयको शून्यतामा
म पृथ्वीको विपरीत ध्रुवमा उभिने छु
जम्नेछन् यहाँका हरेक वस्तु
अनि मभित्र राता कोइला बल्ने छन्
यतिञ्जेल बन्द भएका आँखा खुल्ने छन् ।
आश्चर्यचकित भएर हेर्नेछन् मान्छेहरू
मलाई असर नहुन सक्छ अरुको विचारको
कहिल्यै नगरेका कामहरू गर्न थाल्ने छु
उनीहरूले खोजेको जस्तो सहज नहुन सक्छु
मान्छेहरू गम्भीर भएर सोच्नेछन्
अनि म शून्य शून्य भएर सोच्न छोडिदिने छु
महासमाधिमा जस्तै
अषिम आनन्दमा लीन हुन पनि सक्ने छु ।
म धर्मको विरुद्धमा उभिने छु
मान्छेहरू मलाई पापी–अधर्मी भन्ने छन्
मनबाट प्रेम सिद्धिने छ
माया, दया, करुणा रित्तिने छ
सहनशीलता, त्याग, समर्पण सकिने छ ।
उनीहरु भन्नेछन्
यो अब कहाँ मान्छे रही र ?
बहुलाही छ ! पूरै बहुलाही छ !
पागल करार गरेर सम्झाउने छन्
तिमी त पृथ्वी हो नि
सहनु पर्ने छ
सहँदै सहँदै आफ्नो कक्षमा हिँड्नु पर्ने छ
सूर्यको तेजलाई स्वीकार्दै
उसको वरिपरि घुम्नुपर्ने छ
अन्तरिक्षमा मात्र घुमिरहनुपर्ने छ ।
फेरि अर्को आदेश आउन सक्ने छ !
बिथोलिने छ यहाँका प्रकृति
ध्वस्त हुनेछ संरचना
तिमी त देवी हौ नि, आमा! जगदम्बा !
बचाउनु छ सृष्टि
फर्कनुपर्छ पुरानै बाटोमा
कसरी प्रतिकार गरौं म
देवी नबनेर मात्र मान्छे बन्न चाहन्छु ।
माफ गर प्रिय वैज्ञानिक ग्यालिलियो
म पृथ्वी बनी सधैंभरि
तिमीले पत्ता लगाएको कक्षमा
सूर्यको वरिपरि घुमिरहन असमर्थ छु ।
तिमीलाई थाहा नै छ
मेरो वरिपरि चन्द्रमा घुमिरहेको छ
शीतल आभा छर्दै
म धित मरुञ्जेल उसको सौन्दर्य हेर्न
आफ्नै मर्जीमा, स्वतन्त्रबाहिर निस्केको छु
भो ! नरोक मलाई
अब सधँं
तिम्रो आदेश मानिरहन कदापि सक्दिनँ ।
मंसिर २०, २०७७ शनिबार १७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।