आमाको साथ
आमा, सबैलाई प्रिय लाग्छ । प्यारो लाग्छ । न्यानो लाग्छ आमाको काख । आड भरोसाको डरिलो पहाड लाग्छ । विश्वासको भण्डारण लाग्छ । संसारका सबैजसो मानिसहरु आमाको आशीर्वादले मात्र सफलताको भागिदार बन्न सक्छ । सबैले आमाकै मुहान हुँदै अघि बढ्ने बाटो तय गरेको हुन्छ ।
सबैभन्दा भाग्यमानी मानिस म थिएँ । जब आमाको काखमा लडिबडी खेल्दै आमाकै हसिलो अनुहार पढिरहेको हुन्थें । आमाको हात समाउँदै मेलापात गइरहेको हुन्थें । कुनै रुखको छहारीमा, कुनै देउरालीमा, कुनै चौतारीमा वा बारीको डिलमै किन नहोस् म आमाकै काखमा बिसाएर शितलता तापिरहेको हुन्थें ।
म हिउँफूलको देशमा खेलिरहेको हुन्थें । हवाइजहाज चलाउँदै स्वर्गीय संसारमा उडिरहेको हुन्थें । मैले कहिल्यै दुःखद सपना देखिनँ; आमाको अँगालोमा निदाउञ्जेल । सुतदा, उठ्दा, बस्दा, हिँड्दा, डुल्दा म सधैं आमाकै साथमा हुन्थें । किनकी म बच्चै थिएँ नि त । अहिले सम्झन्छु । यसरी हर समय आमाको पछिपछि लागिरहँदा मैले आमालाई कति सताएँ हुँला ! अनावश्यक दुःख दिएँ हुँला, तर कहिल्यै झर्को मान्नु भएन किनकी उनी मेरी आमा थिइन नि त ।
आमा बिहान करिब ४ बजे नै उठ्नुहुँदो रहेछ । सँगसँगै म पनि उठ्थें । अँगेनोमा आगो जोरने काम मेरो भागमा पथ्र्यो । आमा पँधेरो जानुहुन्थ्यो । हाम्रो घरमा दुईओटा तामे गाग्रो थियो । पालो सिन्ती पानी ल्याएपछि दुवै गाग्रो टिलीक्क टल्कन्थे । आमाले पानी ल्याउञ्जेलमा म अँगेनामा आगो सल्काएर आगो फुक्ने बाँसको ढुंग्रो काखमा तेस्र्याएइ मादल बजाउँदै गीत गाइरहेको हुन्थें । यो मेरो दिनचर्या थियो । मैले महागायक बन्ने सपना जो पालेको थिएँ । हो म त्यसैको अभ्यास गर्थें, क्या !
आमाले रक्सीको वहान बसाउनु हुन्थ्यो । गाग्रोको पानी भाँडोमा खल्याएर फेरि पँधेरो जानुहुन्थ्यो । ‘कान्छा, वहानको पानी छाम्दै गर्नु है । म ढिलो आए भने पानी फेर्नु,’ आमाले अराउनु हुन्थ्यो ।
प्रायःजसो त आमा नै पानी फेर्न आइपुग्नुहुन्थ्यो । कहिलेकाहीँ मात्र मैले पानी फेर्नु पथ्र्यो । रक्सी पार्दापार्दै घर सिनित्तै लिपपोत भैसकेको हुन्थ्यो । रक्सी ओर्हालेपछि आमाले मलाई सानो स्टिलको कचौरामा दिँदै भन्नुहुन्थ्यो, ‘रक्सी मिठो भयो कि भएन; चाखचाख ।’
‘रक्सी साह्रै मिठो छ, आमा,’ मेरो भनाइले एकाएक आमाको अनुहारमा उज्यालो ढपक्कै बल्थ्यो ।
‘हो, खै ! खै !!’ आमाले मेरो हातको कचौरा खोसेर हातमा थोरै रक्सी चुहाएर सुरुप्प चाख्नुहुन्थ्यो । ल खाँ ! आमाले फेरि मलाई रक्सी थपिदिनुहुन्थ्यो ।
‘रक्सी मिठो भएन छ आमा ।’ मैले एसो भनेको दिन थप्ने रक्सी पाउँदिनथे । तर, खासै मैले यस्तो भनिरहनु पर्दैन थ्यो ।
रक्सी स्वाट्ट पारेपछि, मेरो रियाच सकिन्थ्यो । तातो पानीले हातमुख धुन्थें । यति बेलासम्म आमाले जाँडको वहान अँगेनोमा बसाएर रक्सी जर्किनमा भर्दै गर्नु हुन्थ्यो । औंला भाच्दै नाफा नोक्सानको हिसाबकिताब गरिसक्नुहुन्थ्यो ।
झिसमिसे उज्यालोमा म आमासँगै खोल्मा पुग्थें । हाम्रो घरभन्दा दुईकान्ला तल खोल्मा थियो । खोल्माको माथ्लो तला जानको लागि (हाम्रो एउटा खुट्टा अट्ने जत्तिको) सानो डल्लै सल्ला काठको भर्याङ बनाइएको थियो । म त्यहीबाट खोल्मामाथि चढ्थें । आमाले गाई गोबर सोहोरिसकेपछि भन्नुहुन्थ्यो– ‘कान्छा लु घाँस झार ।’
हाम्रो गोठमा ‘रिठू’ नाम गरेको कालो गाई थियो । त्यही गाईले पाएको एउटा गोरु (गोरुको नाम बिर्से) र एउटा ‘माझी’ नाम गरेको बाछी थियो । साथमा एउटा दुहुनो भैंसी थियो ।
खोल्मामुनि बाख्राको खोर र टात्ना थियो । त्यहाँ एउटा बुढी माउबाख्रा दुईओटा बोका दुईओटा पठ्याङ्ग्री र दुईओटा पाठापाठी थिए । आमाले यी बाख्राहरूलाई खोरबाट निकालेर टाँत्नामा बाँधी घाँस लगाइदिनुहुन्थ्यो अनि हामी घर आउँथ्यौं । आमाले मझेरीमा मान्द्रो ओछ्याएर कोदो जाँड फिजाउनु थाल्नुहुन्थ्यो वासिम पैदाउनको लागि । अँगेनोमा बसाइरहेको दूध उम्लिएर पोखिएला भनी म हेर्थे वासिम सिप्दाइसकेपछि । मलाई स्टिल गिलासमा दूध दिएर; आमा खाजाको धन्दामा लाग्नुहुन्थ्यो। यतिकाम गरिसक्दा सायद बिहानको ७/८ बजिसकेको हुँदो होला । ‘खाना खाएर स्कुल जानू है ।’ भन्दै आमा मेलापात जानुहुन्थ्यो ।
खाँदै गरेको दूध नमिठो लाग्थ्यो । कासे थालमा पस्किराखेको भात, बोटुकोको तरकारी, हेर्थें । त्यसै–त्यसै अमन भएर आउँथ्यो । (दाल र भात प्रायः सबैको एउटै थालमा हुन्थ्यो। तर, आमा हुनञ्जेल मेरो भागको भात र दाल कहिल्यै एउटै थालमा हुँदैनथ्यो । भात कासे थालमा र तरकारी वा दाल बोटुकोमा अलग अलग गरेर दिनुहुन्थ्यो) आधा जति भात गिलासमा हाल्थें र चम्चाले खान्थें । कहिलेकाहीँ तरकारीसँग अलिकति भात खान्थें र खोपीमा छोपेर राखिदिन्थें । हातमा कापी किताब च्यापेर लगाइरहेको सर्टको गोजीमा रेन्को डटपेन भिरी; म स्कुल जान्थें ।
न्यास्रो, उदास र बिरानो भयो; मेरो लागि स्कुल । किनकी स्कुलमा आमाले जस्तो माया गर्ने कोही थिएनन् । बरु छुच्ची गुरुआमा थिइन् । जसको बोली मेरो आमाको जस्तो मसिनो र मिठास थिएन । लयात्मक र हावाको संगीतसँग मेलखाने खालको स्वर थिएन । बरु, धोद्रो र तिखो आवाजको एकदमै कडा र कर्कस थियो । जसको आवाजले मात्रै कोलाहलपूर्ण कक्षा एकाएक शान्त हुन्थ्यो । जसको स्वर सुन्नासाथ म तर्सन्थें । कयौपटकको बानीले मात्रै म तर्सन छोडेँ।
मलाई स्कुल जान पटक्कै मन थिएनँ । तैपनि मैले आमालाई यो कुरा भन्न सकिनँ । मैले आमासँग हरेक कुरा सजिलै भन्न सक्थें । मलाई मनलागेको कुरा माग्थें, पाउथें । आमाले सक्ने जति मागेको कुरा मैले कहिल्यै नपाउला भनेर पीर मान्नु परेन । तर, आमाले पुर्याउन नसक्ने कुरा मागे भने आमाले पहिल्यै भन्नुहुन्थ्यो– ‘कान्छा तँलाई त्यो कुरा चाहिँदैन । म किनिदिनु पनि सक्दिनँ ।’
तब मलाई थाहा भइसक्थ्यो मैले जिद्दी गर्नुको कुनै तुक छैन । सबै कुरा खुलस्त आमाको अगाडि भन्न सक्ने म, खै किन हो कुन्नि ‘स्कुल जान्नँ’ भन्नै सकिनँ । आमाले मेरो बालमस्तिष्कमा के त्यस्तो चिज हालिदिनु भएको थियो । जसले स्कुल जान मन नलाग्नुको कारण मैले कहिले भन्न सकिनँ ।
स्कुल जाँदाजाँदै सोच्न थाल्थें– छुट्टी कतिखेर हुन्छ होला ।
स्कुलमा मेरो साथीसंगती नै थिएन । सबै आ–आफ्नै शैलीमा खेल्थे, रुन्थे, कराउथे । छुट्टी भएपछि घरतिर कुद्थे ।
आइतबार, सोमबार र शुक्रबारको दिन आमाले रक्सी पार्नुहुन्नथ्यो । हरेक आइतबार बिहान रक्सी ठेक्कामा लैजानु पथ्र्यो । सोमबार र शुक्रबार बिहानचाहिँ किन रक्सी पार्नुहुन्नथ्यो ? मैले सोधिनँ । शायद आमाले थकाइ मार्नुभएको होला । आमा पनि थाक्नुहुन्छ र ? अहँ थाक्नुहुन्नथ्यो । हरेक सोमबार र शुक्रबार भाँडा र फोसीमा घडाबाट वासिम खल्याएर माझ्नुहुन्थ्यो । घाममा सुकाउनुहुन्थ्यो । भँडारमा बाँसको ताट उठाएर लहरै चारओटा घडा चारै भुसुङ्गामा राखिएको थियो । एउटाचाहिँ पित्रघडा थियो । त्यो घडाले वर्षमा दुईपटक बाहेक कहिल्यै ठाउँ छोड्नु परेन । उभौली पित्र गर्नुभन्दा दुई–तीन महिनाअगाडि उक्त घडा सफा हुन्थ्यो र पित्रजाँड लगाइन्थ्यो । उभौली पित्र सकिएपछि फेरि जेठ महिनामा सफा हुन्थ्यो र उधौली पित्रको जाँड लगाइन्थ्यो । बाँकी तीन ओटा घडालाई हरेक हप्ताको दुईपटक सफा गर्नुहुन्थ्यो ।
अरु दिन आमाले मलाई उठाउनु पर्दैनथ्यो। तर, आइतबार कहिलेकाहीँ उठाउनु पथ्र्यो । यो दिन मैले अँगेनोमा आगो बाल्नु पर्दैन । आमाले पनि रक्सि पार्नु पर्दैन । किनकी हरेक आइतबार आमा र म गुँरासे जान्थ्यौँ ।
जिप टर्च बालेर आमाले मलाई दिँदै भन्नुहुन्थ्यो– ‘राम्ररी देखा है । यहाँ रक्सी घोप्टिएला ।’
थुम्सेमा दुई जर्किन रक्सीसँगै मिलाएर हाल्नुहुन्थ्यो । कहिलेकाहीँ बढी भएको रक्सी बोटलहरूमा हालरे थुम्सेको चेपचेपमा लगाई बोटल नफुटोस् भनेर बर्की मिलाउँदै खाँद्नुहुन्थ्यो । थुम्से जुरुक्क उचालेर गग्रेटोमा राख्नु हुन्थ्यो र पिथ्युमा बोक्दै भन्नु हुन्थ्यो–‘राम्ररी अँगालो लगा हैँ ।’
आमा हिँड्नुहुन्थ्यो । म ढोकामा तालकुचीले अँगालो लगाउथें । छिडीमा तालकुची लुकाएर आमाको पछिपछि टर्च देखाउँदै हिँड्थें । कोल्टेमाको खरबारी उकालो लाग्दा आमा स्वा...स्वा.. गर्दै सास फेर्नुहुन्थ्यो । म चुपचाप पछिपछि हुन्थें । खरबारी कटेपछि भष्मेबारी हुँदै सतिवेर र अङ्गेरीको पोत्थ्रापोथ्रीको साथ चिलाउने र सल्लाघारी छिचोलेपछि मूलबाटो आइपुग्थ्यौँ । मूलबाटो आइपुग्नासाथ चिउरीधाँडमा हामी बिसाउथ्यौं । आमाले पोल्टाबाट सुर्ती निकाल्नुहुन्थ्यो र चिउरीको पातमा सुर्ती बेरेर झुलोचक्मकबाट आगो पारी सुर्ती खानुहुन्थ्यो ।
‘म सुर्ती खाउन्जेल टर्च निभा । एकछिन भएपनि टर्चको ब्याट्री टिकाउनुपर्छ,’ आमाले मलाई यसरी अभ्यास्त गराइसक्नुभएको थियो । अब भनिराख्नु पर्दैन थियो । आमाले सुर्ती (बिडी) खाउञ्जेल आफै बलिरहेको जिप टर्च निभाउथें । चारैतिर अँध्यारो हुन्थ्यो; सिवाय जून लागेको रातबाहेक । उसो त हामीलाई जूनेली रात नै राम्रो लाग्थ्यो । जिप टर्चमा ब्याट्री खर्च गर्नु पर्दैनथ्यो ।
ठूलो झ्याम्म परेको चिउरीको रुख थियो । साथमा बाँसका झ्याङ र अरु रुखहरू पनि भएको । दिउँसो पनि अँध्यारो हुने यो ठाउँमा किन किन मलाई डर लाग्थ्यो । आमासँग हुँदा मलाई यहाँ कहिल्यै डर लागेन । सम्झन्छु, किन डर नलागेको होला ? साथमा आमा हुनुहुन्थ्यो, हैन र !
चकमन्न अँध्यारोमा आमाले सूर्तीको सर्को तान्दा चम्केको आगोको उज्यालोले आमाको अनुहारमात्रै देखिन्थ्यो । सर्को तान्न छोड्न साथ झ्याप्प अँध्यारो हुन्थ्यो र जूनकिरी जस्तै सुर्ती आमाको दाहिने घुडाँमा झरेर अडिन्थ्यो । सूर्ती सकिएपछि जूनकिरीलाई ढुंगामा किचिमिची पारेर मारिदिनुहुन्थ्यो । म पिलिक्क जिप टर्च बाल्थें । हामी मूलबाटै मूलबाटो तेस्रो हिँड्न थाल्थ्यौं ।
करिब २०/२५ मिनेट हिँडेपछि एसेलुखर्क गाउँको पुछार हुँदै आम्बोटे पँधेरो पुग्थ्यौ । त्यहाँ ठूलो वरको रुख थियो । बाटो छेउ कुनामा कुवा बनाइएको थियो । तल्लो एसेलुखर्कका गाउँलेहरूले यहीँ पँधेरोको पानी खान्थें । अलि अगाडि वरपीपलको चौतारो थियो । हामी त्यो चौतारो हुँदै अगाडि बढ्थ्यौं । गोद्राखाभन्दा अगाडि देउराली थियो । हामी देउराली जानु पर्दैनथ्यो । गोद्राखाभन्दा वरैको खोल्सीबाट मूलबाटो छोडेर हामी फेरि उकालो बाटो लाग्थ्यौं । जुनबाटो एसेलुखर्कका गोठाला जाने बाटो थियो । अर्थात यो बाटो गाईबाख्रा चर्न जाने बाटो थियो । यो ठाउँ साह्रै उराठलाग्दो थियो । जंगली पोथ्रापोथ्री केही थिएन । ढुंगेनी माटो भएको भिरालो यो ठाउँमा सल्लाको रुख लगाइएको थियो । मैले थाहा पाउँदादेखि यी सल्लाहरू जस्ताको तस्तै र जत्राको तत्रै थिए । ‘आमा यहाँको सल्लाहरू कहिल्यै बढ्दैन ?’ अनायसै मैले एकपटक आमालाई यो प्रश्न गरेको थिएँ ।
‘सल्ला बढोस् नबढोस्; तिमीचाहिँ बढेर ठूलोमान्छे बन्नु पर्छ है ।’ रक्सीको भारी बोकेर हिँड्दाहिँड्दा स्वा...स्वा... गर्दै आमाले मलाई यसो भन्नुभएको थियो । सधैं ‘तँ’ भन्नुहुने आमाले मलाई ‘तिमी’ भन्नुभयो । मलाई अचम्म लाग्यो ।
देउराली सिरानमा पुगेपछि थुम्सेको भारी बोकेर नै आमा देउरालीतिर फर्की एकछिन उभिनुहुन्थ्यो । म पनि त्यसै गर्थें र सरासर तेस्रोबाटो हिँड्न थाल्थ्यौं । बाटो वरिपरि स–साना गुराँसका बोटहरू हुन्थे । लगभग हामी गुराँसे पुग्न लागेका हुन्थ्यौं । डाँडो कटेपछि ठूलठूला रुखहरू झुरुप्प भएको ठाउँमा पुगिन्थ्यो । त्योभन्दा अलि अगाडि बाटोमाथि आयुर्वेद अस्पताल थियो । अस्पतालको गेट छेउबाट अगाडि गएपछि आहाल थियो। आहाल अगाडि बाटो छेउ वरपीपल थियो । वरपीपलभन्दा अगाडि अलिक मास्तिर रेनुका फुपुको दोकान थियो । हो, हाम्रो गन्तव्य यहीँसम्मको हुन्थ्यो ।
हामी पुग्दा; दोकानमा रेडियो नेपालबाट बिहानीको श्रृति मधुर धुन बजिरहेको हुन्थ्यो । कहिलेकाहीँ आरती गीत बज्न थालेको हुन्थ्यो । फुपूले आमाको थुम्से समातिदिनु हुन्थ्यो । आमा भारी बिसाउनु हुन्थ्यो । एकैछिन भलाकुसारी चल्थ्यो ।
धन्य रेनुका फूपु हुनुहुन्छ र आमाको कर्मले सार्थकता पाएको छ । सपना पूरा हुने मौका मिलेको छ । पाखोबारीको कमाईले नभरिएको हाम्रो पेट भरिएका छन् । बेलाबेला हाम्रो शरीरमा नयाँ लुगा पहिरिने साइत जुरेको छ । मेरो रहरले पखेटा हाल्न पाएको छ । स्कुल जाने बाटो बनेको छ ।
मैले धेरैपछि मात्रै थाहा पाएँ । मधेसमा त दुग्ध सहकारी संस्थाहरू हुँदोरहेछ । गाउँगाउँमा दूध संकलन केन्द्र राखिएको हुँदो रहेछ । कृषकहरूले उत्पादन गरेको दूध सहकारीले घरघरै गएर किनिदिँदो रहेछ । सरकारले पनि यस्ता किसानहरूलाई प्रोत्साहित गर्दो रहेछ । सहुलियत दरमा ऋण उपलब्ध गराउँदो रहेछ । तर, रक्सी उत्पादन गर्ने किसानलाई चाहिँ किन सरकारले खेदो खनेको होला । बिदेशी ब्राण्डको रक्सी खुलेआम बजारमा छ्यापछ्याप्ती बिक्री वितरण भइरहेको छ । कृषिप्रधान मुलुकको किसानले उत्पादन गरेको रक्सीलाई किन बिक्री वितरण गर्न रोकेको हो ? घरेलु रक्सीको व्यापारले लाखौं बालबच्चाको भविष्य सुनिश्चित भइरहेको छ । तर, सधैं राज्यबाट लुकीलुकी, भागीभागी । जाँड–रक्सीबिना यो देशको धेरैभन्दा धेरै जनताको संस्कार संस्कृति चल्दैन । सांस्कृतिक विरासत बोकेका जनताका लागि सरकारले किन विधिविधान बनाउन चाहँदैन । मैले अहिले पनि बुझेको छैन । सरकारले किन किसानले उत्पादन गरेको रक्सीलाई प्रतिबन्ध लगाउँछ ? रेनुका फुपूको दोकानमा रक्सी खपत गर्ने आखिर तिनै पुलिसहरू हुन्थे ।
फुपूले हामीलाई दूध हालेको खुबै मिठो चिया खान दिनुहुन्थ्यो । यति बेलासम्ममा उज्यालो भुइँभरी छरिसकेको हुन्थ्यो । आमाले खाली जर्किन र केही बोतलहरू थुम्सेमा हाल्नुहुन्थ्यो । मैले हातमै समाइरहेको जिप टर्च पनि थुम्सेमै हाल्नुहुन्थ्यो र हामी घर फर्किने तरखरमा हुन्थ्यो । फुपूले रातो पहेंलो धर्काभएको मुखभरी हुने मिठाई दिनुहुन्थ्यो । म मिठाईलाई मुखको ओल्लो ओडार र पल्लो ओडार खेलाउँदै आमाको अघिअघि हिँडिरहेको हुन्थें । करिब ६/७ बजेतिर हामी घर आइपुगेका हुन्थ्यौं । तर, मेरो मुखको मिठाई कहिल्यै घर आइपुग्थेन ।
मंसिर २०, २०७७ शनिबार १४:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।