तीन धारे झरना
पहिलो दिनको यात्राको बिट दाप्चामा मारियो। हाम्रो बास दाप्चामै भयो। झिसमिसेमै हामी बसेको होमस्टे वरिपरिका छिमेकीका घरमा पालैपालो भाले बास्न थाले।
कुखुराका भाले बासेको सुन्दा रमाइलो लाग्यो। सहर बजारमा हम्मेसी सुन्न पाइँदैन। भाले बासेसँगै अघिल्लो दिनको थकानका बाबजुद सबेरै आँखा अघ्रिए। बिहान झिसमिसेमै झ्यालबाट बाहिर चिहाएँ। मिर्मिरे उज्यालोमा हिमालका शिखरमा सूर्यको किरणले रंग पोत्दै थियो।
दुई सहयात्री दीपक श्रेष्ठ र गोपाल श्रेष्ठ मस्त निन्द्रामै थिए कि कसो । मैले उठाउने कष्ट गरिनँ। छतमा गएर वरिपरि नियाँलेर हेरें। सूर्योदय भयो। कलिलो घामको सुनौलो रंग हिमाल र पहाडमा पोखिए। सुनौलो घामले घर आँगन धपक्क बाल्यो। शिवलाल भाइ हामीलाई दाप्चा बजार घुमाउने प्रतीक्षामा थिए। बिहानको दाप्चा बजार घुमाइसकेर दोस्रो दिनको यात्राको तरखरमा थियौं।
टुप्लुक्क गोपाल श्रेष्ठ, सुदिल श्रेष्ठ आउनुभयो। एक समय दुवै जना काभ्रे जिल्लाका माहिर भलिबल खेलाडी। गोपाल श्रेष्ठ मार्सलआर्टका पनि खेलाडी। अहिले भने गोपाल श्रेष्ठ नमोःबुद्ध नगरपालिकाका वडा नम्बर ८ का वडासदस्य। सुदिल श्रेष्ठ भने आफ्नो व्यापार र समाज सेवामा निरन्तर क्रियाशील व्यक्तित्व।
वडा सदस्य गोपाल श्रेष्ठ, स्थानीय समाजसेवी सुदिल श्रेष्ठ आएसँगै अरु स्थानीय पनि थपिए। साइकल यात्रामा सहभागी अर्का गोपाल श्रेष्ठ, दीपक श्रेष्ठसहित हामी तीन जनासँग भलाकुसारी, तिहार, नेपाल संवतको शुभकामना आदानप्रदान भयो। दाप्चाबारे थप कुरा जान्ने मौका मिल्यो। वि.सं. २०१८ साल ताका महेन्द्र राजमार्ग खुलेसँगै यो बाटो भएर पैदल हिँड्नेको संख्यामा कमी आए छ। पछिल्लो पटक बीपी राजमार्ग खुलेपछि त सुनसान नै भयो। स्थानीयहरू पनि अवसरको खोजीमा विस्थापित हुन थाले। अहिले दाप्चा सुनसान प्रायः छ। दाप्चा पनि एउटा पुरानो सम्पदा हो। यसको संरक्षण आवश्यक छ। दाप्चा सम्पदा संरक्षणका कुरा सुन्यौं । दाप्चालाई पर्यटकीय गन्तव्यका रूपमा विकासका लागि गरेका प्रयासहरू सुनाए। दाप्चालाई पुनस्र्थापनाका भावी योजना सुनाए।
शिवलाल भाइले बिहानको खाजा रोटी, तरकारी र चिया आदि ल्याए। उकालोमा साइकल चढ्ने खुराक। ठट्टा गर्दै मुस्कुराए। कात्तिकको आखिरी हप्ता। न्यानो घाममा बसेर मीठा गफमा मस्त भयौं। निर्धारित समयमा निस्कन अलि ढिलो भइसकेको थियो। रमाइलो वातावरणले हामी निकै रोमाञ्चित थियौं।
अघिल्लो दिनको धुले बाटोको यात्राले साइकल धुलोले छपक्कै ढाकेको थियो। छुन पनि सिकसिक लाग्ने। छलफल गर्दै साइकल पनि सफा गर्याैं। दोस्रो दिनको यात्रामा निस्कियौं। यस पटकको हामी के निस्किएका थियौं, तीन धारे झरना ? साइकलमा तीन धारे ? यताबाट हो तीन धारे झरना। त्यता बाटो छैन। बाटोमा विस्मितहरुले बेग्ला बेग्लै सूचना दिए। हामी भने आफ्नै लयमा साइकलको पाउदान निरन्तर चालिरह्यौं उत्तरतर्फ वारपारै देखिने हिमाली श्रृंखला विछट्टै राम्रो। रुटका योजनाकार दीपक श्रेष्ठ दाइ। दीपक दाइको रुट योजना अनुसार गोपाल श्रेष्ठ हाम्रा गाइड। उनले दाप्चाका बेली बिस्तार लगाउँदै अगाडि बढे। ‘ऊ यता बायाँ भीमसेनको मन्दिर, दायाँ कोट कालिका। गैह्रा पाटी, बूढा भीमसेनको मन्दिर, काली कुवा, डराउने पोखरी, तल्लो हटिया।’
हामी उनको पछि–पछि लाग्यौं। तल्लो हटियाबाट बायाँ लागेपछि पानाङ्ग खर्क पुगिन्छ। त्यहाँ बुद्धपार्क बन्दै छ। खर्कबाट चारैतर्फ नियाल्यौं। वरिपरिका पहाडका अति सुन्दर दृश्य। पानाङ्ग खर्कको बस्ती छिचोलेपछि धुले बाटो सुरु भयो। साइकलमा एकजना अगाडि लागेपछि पछाडिकाले बाटो देख्न मुस्किल। ओह्रालो लागेसँगै हिमाली शृंखला ओझेलमा परे।
बुङ्गबुङ्गती धुलो उडे पनि ओह्रालो बाटोमा हुइँकिनुको मज्जा बेग्लै छ। करिब १७ सय मिटरमा अवस्थित दाप्चाबाट झण्डै १० किमि ओह्रालो बाटो झरेर समुद्र सतहबाट लगभग हजार मिटरको उचाईको खाक्सी आइपुग्यौं। १० किमिको यो यात्रा रमाइलो र रोमाञ्चक भयो। फुलबारी दाप्चाको डाँडा र महाभारत पर्वतको खोचबाट कल्कलाएर बगेको रोशी नदी। जति हेरे पनि नथाक्ने आँखा, नभरिने मन।
खाक्सीमा गोपाल श्रेष्ठ अलि भावुक देखिए। उनले आफ्नो बाल्यकाल सम्झिए। पहिले बिजुली नहुँदा कुटानी–पिसानीका लागि पानीघट्ट धाउनु पर्ने। डाँडाका टुप्पामा पानी घट्ट नहुने। घट्ट चलाउने पानी बेसीमा मात्र हुने। उनलाई करिब सात वर्षको छँदा घट्ट जान रहर लागेछ। रहरै रहरमा नाताले मामा पर्ने छिमेकीको साथ लागेर मकै पिन्न घट्टतिर झरे। दाप्चाका गाउँले प्रायः मकैको पिठो पिनेर घट्टतिरै रोटी पकाउथे। घट्टतिरै खाजा खाएर उकालो लाग्थे। मामाले रोटी पकाउन अल्छी गरे। खाजा नखाई उकालो लागे।
उकालो लाग्दै गर्दा भोक लाग्यो। एक पाथी मकैको पिठोको पोका बोकेर उकालो बाटो हिँड्न निक्कै गाह्रो भयो। हात खुट्टा काँप्न थाले। हिँड्न नसकेर थ्याच्च बसेर रुन थाले। अनि मामाले उनको पोको आफैले बोकिदिए। भाञ्जालाई फकाउदै उकालो लागे। भोकले आलस तालस उनी भने घुक्कघुक्क रुँदै मामाको पछि पछि लागेर घरसम्म आएछन्। रोशीको पानी निकै बगेर गइसक्यो। कहाँको त्यो समय। अहिले त बाटोको सञ्जाल निकै विस्तार भएको छ। धेरै सुगम भएको छ। घरघरमा सवारी साधन पुग्ने भइसकेको छ। त्यसैको फाइदा उठाउँदै हामी पनि सहजै साइकल यात्रा गरिरहेका छौं।
भौगोलिक सुन्दरता, रमाइला सम्झना, मीठा कुरा गर्दै हामी खाक्सीबाट गाउँ छिचोलेर खोल्चामा पुगियो। फराकिलो खोल्चा भएकाले ट्रक सजिलै चल्ने रहेछ। खोल्चाको दुवैतर्फ झ्याम्म परेको रुख। खोल्चा भने सुरुङ्गजस्तो। यहाँबाट यात्रा गर्दाको बेग्लै रमाइलो भयो। सानो उकालो कटेर अलि पर पीपलटार पुग्यौं। चियाको तलतल मेटाउन चिया पसलमा रोक्कियौं। हामीसँग पसल आसपासका सानाभाइ बहिनीहरू निकै झ्याम्मिए। निकै राम्रा, हसिला, रसिला। किन हो कुन्नी साइकलमा त्यति विधि चासो यी साना भाइबहिनीहरूलाई। साइकलमा चलेको चिन्ता भन्दा उनीहरूलाई चोट लाग्ला भन्ने चिन्ता।
चियापानपछि यात्रा पुनः चालु भयो। पीपलटारबाट हामी फलामे साँघुतर्फ लाग्यौं। रोशी नदी वारि नमोःबुद्ध नगरपालिका पारि रोशी गाउँपालिका। फलामे साँघु काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा पर्छ। दाप्चाबाट खाक्सी, पीपलटार हुँदै फलामे साँगु रोशी पुलसम्म पुग्दा करिब १५ किमि दूरी तय हुन्छ। पुल तरेर फराकिलो फाँट छिचोल्दै काफल डाँडातर्फ उक्लियौं। जति जति उकालियौं उति उति हिमाली शृंखला देखिँदै गए। फलामे साँगुबाट काफल डाँडा तीन धारे झरना जाने तीन वटा बाटो छ। फलामे साँगुबाट चण्डी डाँडा, गुम्बा गाउँ, पुरानो गाउँ, भुसुने हुँदै काफल डाँडा, तीनधारे झरना पुग्ने बाटो सजिलो तर अलि लामो पर्छ। बीचको बाटो नारायणटार, भुसुने हुँदै काफल डाँडा, तीन धारे झरना जाने अलि ठाडो उकालो, तर छोटो। भुसुनेबाट करिब १५ मिनेट हिँडेपछि महभीर रानी झरना पुगिन्छ। ठाडो उकालो लागे तीन धारे झरना।
भुसुनेबाट उकालो लाग्दै गर्दा बाटोमा खाजाघर देखेपछि भोक जाग्यो। भोक मेटाउन यतै अलमलियौं। खाजा घरका सञ्चालक अमर तामाङ्गले झटपट खाना खुवाए। अमरले जंगलमा घाँस दाउरा गर्न जाँदा सानैदेखि झरना देखेका थिए। यदाकदा सहर आउँदा गाउँमा झरना भएको सुनाउथे। प्रविधिको विकाससँगै मोबाइलबाट पनि फोटो खिँच्न मिल्ने भयो। मोबाइल फोनमा झरनाको फोटो कैद गरे। धेरैलाई देखाए।
२०७७ भदौमा भने एकाएक सामाजिक सञ्जालमा तीन धारे झरना छताछुल्ल पोखियो। तीन धारेमा चहलपहल ह्वात्तै बढ्यो। मोटरसाइकल, गाडी, पैदलयात्रीले बाटो खचाखच भरियो। बर्खामा हिलाम्मे भएर लड्दैपड्दै आन्तरिक पर्यटकले खचाखच भरियो। फलामे साँघुदेखि काफलडाँडासम्मै खुद्रा पसल, चिया पसल, खाजा घर, बास बस्ने ठाउँ, अस्थायी होमस्टेले भरियो। पाहुना राख्न हम्मेहम्मे भयो। बारीका उत्पादनले पाहुना सत्कार धा
न्नै मुस्किल। कुरा सुन्दै उकालोलाई पुग्ने ऊर्जा भर्याैं।
मंसिर २०, २०७७ शनिबार ११:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।