दिउँसो प्लम्बिङ, राति पेन्टिङ 

दिउँसो प्लम्बिङ, राति पेन्टिङ 

काठमाडौं : ब्रह्म मुहूर्तमा नित्यकर्म सकेर काठमाडौं पेप्सिकोलाका दिनेश थापा भगवान गणेशलाई धुपबत्ती चढाउँछन्।

त्यसपछि स्वर्गीय राजा वीरेन्द्रको पाँच वर्षदेखि बनाउँदै आएको अपूरो (उनको भाषामा) पेन्टिङलाई पूजा गर्छन्।

अनि मात्र सुरु हुन्छ उनको आमा ग्यालरीको भुइँ पुछ्ने, पेन्टिङ सजाएर राख्ने र ग्राहक कुर्ने बिहानी दैनिकी। दिनेशको बिहानीलाई ऊर्जा थप्न ७ बजे आइपुग्छन् सेतो पाना, कलम र कुची लिएर केही विद्यार्थी। 

दिनेश कक्षा सकेर ९ बजे ग्यालरीकै आडको चिया पसलमा पुग्छन्। त्यसपछि सुरु हुन्छ उनको मोबाइलको डिस्प्लेमा देश–दुनिया चहार्ने काम। 

करिब दुई घन्टा उनी देश विदेशका समाचार, साथीभाइसँग भुल्छन्। ‘देश–विदेशमा के कसो भइरहेको छ भन्ने कलाकारले जान्नुपर्यो नि,’ मुसुक्क हास्दै उनी भन्छन्।

घाम तालुमाथि उक्लिन थालेपछि दिनेशको अर्काे दिनचर्या सुरु हुन्छ। ‘त्यसपछि बोरिङ खान्ने, धारा बनाउनेलगायत प्लम्बिङको काम गर्न मान्छेका घर–घर जान्छु,’ उनी भन्छन्। 

उनले यो काम गर्न थालेको १४ वर्ष भइसक्यो। 

दिनेशले प्लम्बिङ बासँग सिकेका हुन्। 

‘हामी चार दाजुभाइ थियौं। घरको आर्थिक अवस्था राम्रो थिएन। बालाई सहयोग हुन्छ भनेर प्लम्बिङको काम गर्न थालें,’ उनी भन्छन्।  

एसएलसी दिएको भोलिपल्टबाट काममा हिँड्न थालेको उनी बताउँछन्। ‘प्लस टु पढ्दा नै प्लम्बिङमा एक लेभलको काम गर्न सक्ने भइसकेको थिएँ,’ दिनेशले सुनाए।

यो काममा उनी आफ्ना दाइहरूको ‘गुरु’ हुन्।

प्लस टु पढ्दै गर्दा दिनेशलाई हस्तकलामा रुचि भयो। त्यसपछि उनले हस्तकला गरे। ‘हस्तकला रुचि भएपछि भगवानको आकृति, साना घरहरू बनाउन थालें,’ उनी भन्छन्।

उनको यो सिलसिला ब्याचलर्स इन आर्ट्स पढुञ्जेलसम्म कायम रह्यो। ‘प्लम्बिङबाट कमाइ भइरहेकै थियो। हस्तकलाबाट पनि अलि अलि कमाइ हुन थाल्यो,’ उनी सुनाउँछन्। 

ब्याचलर्स इन आर्ट्स सकेको भोलिपल्टै उनी फेरि त्यही विषयअन्तर्गतको चित्रकला पढ्न ललितकला पुगे। त्यसपछि दिनेश फेरि ब्याचलर्स (स्नातक)मा भर्ना भए। ‘मलाइ हस्तकलामा अलिअलि हात बस्दै जाँदा पेन्टिङ पढौंजस्तो लाग्यो,’ उनले भने।

ललितकला भर्ना गरेपछि दिनेशको दिउँसोको काममा अफ्ठेरो भयो। ‘धन्न ललितकला अरु कलेजभन्दा सजिलो थियो। र, मैले पढाइ र काम सँगै लैजान पाएँ,’ उनी भन्छन्। 

बिहान कलेज र दिउँसो प्लम्बिङ गर्दै आएका दिनेश रातिको समय सदुपयोग गर्न हस्तकलाका साथै रंग र कुचीसँग खेल्थे। 

रातको समय सदुपयोग गर्दागर्दै दिनेशको नाम देशमा भन्दा विदेशमा बढ्न थालेको छ। ‘देशमा भन्दा पनि विदेशमा मेरो नाम छ,’ उनले भने। 

नाममा एकलखे जोडेर बोलाउनेहरूले कलाकार, फोटोग्राफर र व्यावसायी दिनेश सर भनेर बोलाउदा जीवन सार्थक भएकोझैं लाग्छ दिनेशलाई।

दिनेशले स्नातकोत्तर (मास्टर) तहको अध्ययन पूरा गरिसकेका छन्। उनी चित्रकलामा पिएचडी गर्ने सोचाइमा छ्न्। ‘पेशा प्लम्बिङ थियो, यही गर्छु भन्ने थिएन। तर, काम सिक्न जे पनि मन पथ्र्याे,’ उनले सुनाए।  

काम सिक्न मन पर्ने बानीले नै दिनेशले चित्रकलामा निखार ल्याए। ‘जीवन भनेकै सिक्ने त हो नी,’ दिनेश भन्छन्। 

चित्रकला पढ्दै गर्दा दिनेशको फोटोग्राफी गर्ने साथीहरूसँग संगत भयो । ‘धेरै साथी फोटोग्राफर थिए। मलाई नि फोटोग्राफी मन पर्यो। त्यसपछि विवाह, सेमिनारमा फोटो खिच्न थालें,’ उनले सुनाए।  

समय मिलाउन सकियो भने जति कला–सीप भए पनि फरक नपर्ने दिनेशको बुझाइ छ। ‘समय  मिलाउन सकियो भने कला र सीप भन्ने चिज जति सिक्न सकिन्छ, सिक्दा त्यसले राम्रो गर्छ,’ उनी भन्छन्। 

उनी मेहेनत गरे विदेशभन्दा स्वदेशमै राम्रो कमाइ गर्न सकिने अनुभव सुनाउँछन्। 

फोटोग्राफीमा मन रम्न थालेपछि दिनेश देशका धेरै भूभागमा पुगे। ‘फोटोग्राफीमा रम्न थालेपछि बढि घुम्न थालें, घुम्न थालेपछि चित्रकला झन् राम्रो हुँदै गयो,’ उनले सुनाए। रियालिज्म (वास्तविकता)मा बढी कुची चलाउने दिनेश पेन्टिङका सबै फममा कुची चलाउँछन्। 

‘व्यापारको लागि रियालिस्टिक पेन्टिङ बनाउनु पर्छ। तर, म सबै फमका पेन्टिङ बनाउँछु,’ उनी भन्छन्। व्यावसायिकरूपमा पाँच सयभन्दा बढी पेन्टिङ बनाइसकेका दिनेशको ग्राहक देशमा भर्खर बढ्न थालेका छन्।

‘मेरो मुख्य ग्राहक विदेशी हुन्, विदेशबाट उतै व्यवसाय गरौं भनेर स्वदेशी, विदेशी साथीले बोलाउँछन्,’ उनी भन्छन्। तर, आफ्नो विदेशिने योजना नरहेको उनी सुनाउँछन्। 

‘विदेश जाने भनेको घुम्न हो,’ उनी थप्छन्, ‘घरमा आमा र मनमा देश भएपछि किन जाने विदेश ?’ घुम्नको लागि भने दिनेश जुनसुकै बेला पनि विदेश जान तयार छन्।

‘पढाईमा खासै ध्यान छैन मेरो,’ व्यावहारिक शिक्षामा जीवन जिउन मन पराउने दिनेश भन्छन्। ‘शिक्षा र कला भनेको अन्तरमनदेखि हुनु पर्छ,’ उनी भन्छन्। सीपमा शिक्षा र शिक्षामा सीप हुन्छ भन्ने दिनेशलाई लाग्छ। 

नेपालको मौलिकता झल्काउने तथा लोपोन्मुख विषयवस्तुमा कुची चलाउने दिनेशको लक्ष्य छ। त्यसका लागि उनी अहिले अध्ययनमा पनि मग्न छन्।

राजा वीरेन्द्र, महाकवि लक्ष्मीप्रसाद देवकोटा र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई आदर्श मान्ने दिनेश बालसुलभ क्षणलाई क्यामरामा कैद गर्न मन पराउँछन्। तर, दिनेशले भौगोलिकता झल्काउने र अनुहारहरूमा रंग भर्न कुची चलाएका छन्।

‘लकडाउनभन्दा तीन महिनाअघि ग्यालरी सुरु गरे,’ उनी थप्छन्, ‘म सीप जे सुकै भए पनि सिक्न खोज्छु। तर, यही गर्छु भन्ने ठ्याक्कै लक्ष्य थिएन।’ 

केही वर्षयता भने दिनेशले एउटा सपनालाई उमार्न खोजिरहेका थिए। हिमालयन टेलिभिजनमा प्रसारण हुने ‘हिमालयन रोडिज’मा रोडिज बन्ने दिनेशको सपना उम्रन नपाउँदै बिलायो। दिनेश छनोट चरणबाट नै बाहिरिए।

‘रोडिज भएर आफ्नो सीप र कला देखाउछु भन्ने रहर थियो,’ उनले सुनाए। त्यसो हुन नसकेपछि दिनेशले आफ्नो पेन्टिङहरू संकलन गर्न थाले।

‘उमेरले ३० कटियो, अब त भएन भन्ने मनमा लाग्यो। र, मैले कलाकार नै बन्छु भन्ने निर्णय लिएँ,’ उनी भन्छन्। अझै दिनेशको रोडिज बन्ने सपना भने जिउदै छ। ‘अब पनि रोडिजमा जाने हो,’ उनले सुनाए।

त्यसको लागि उनी शारीरिकरूपमा तयारी गरिरहेको उनी सुनाउँछन्। ‘कलाकारहरू शारीरिकरूपमा कमजोर हुन्छन् भनिन्छ। तर, म त्यसलाई गलत सावित गर्छु,’ उनी भन्छन्।

उनी रोडिजमा सहभागी हुने र त्यस स्टेजलाई आफ्नो कला देखाउन भरपुर सदुपयोग गर्ने योजनामा छन्।

‘हरेक क्षेत्रमा राजनीति छ। क्षमता भएकाको कदर नै छैन,’ उनी थप्छन्, ‘कलाकारलाई कलाले भन्दा पनि वादले प्रभाव परेको छ।’ त्यसैले नेपालको कला माथि उकासिन नसकेको दिनेशको बुझाइ छ।

सादा जीवन जिउन मन पराउने दिनेश भुइँचालोले भत्काएको पुख्र्याैली घरमा बा–आमासँगै बस्छन्। ‘मलाइ मेरो कला र सीपले मान्छेले चिन्दैछन्। मैले कर्म गर्नु पर्छ,’ उनी भन्छन्। 

दिनेशलाई आफ्नो परिचय बताउँदै हिँड्न मन पर्दैन। दिनेश भन्छन्, ‘एक समयमा जे काम गर्छु म त्यही हुन्छु। मेरो यस्तै बानी छ।’  

दिनेशले १० वर्षदेखि आफूमा बहुआयामिक प्रतिभाको विकास गरिरहेका छन्। ‘दिनको १६ घण्टासम्म खटिएर समय व्यवस्थापन गर्थें,’ उनी सुनाउँछन्। 

उनी दुःख भयो भन्दैमा काम गर्न छाड्न नहुने बताउँछन्। ‘जे सुकै होस्, मन लागेको काम गर्न छाड्नु हुन्न,’ उनी आफ्नो अनुभव सुनाउँछन्।

स्वदेशको माटो, पानीमा मात्र नभएर हरेक कुरामा पैसै पैसा छ जस्तो दिनेशलाइ लाग्छ। ‘हामीले आफ्नो देशलाई चिन्नै चाहेनौं,’ काम नभएको भन्दै विदेशिनेलाई इंगित गर्दै उनी भन्छन्। 

कुलमानजस्ता केही व्यक्ति हरेक क्षेत्रमा भए नेपाल झन् बृहत र भव्य हुन्थ्यो जस्तो दिनेशलाई लाग्छ। राजनीतिमा पनि चासो राख्ने दिनेश राजनीति राम्रो नभएसम्म कला पनि राम्रोसँग मौलाउन नसक्ने विचार राख्छन्।

पेन्टिङबाट देश चिनाइरहेका दिनेशको ठमेलमा ग्यालरी खोल्ने सपना छ। ‘लकडाउनले व्यापारमा असर गर्यो,’ उनी थप्छन्।

आमाको नामबाट ग्यालरी खोलेका दिनेश अब व्यापारी बन्ने सपनामा जुट्दै छन्। ‘आमा शब्द राखेर नै आफूले जानेको सबै कामको व्यवसाय चलाउँछु,’ उनी भन्छन्।

उनीसँग सपनाको चाङ छ।

‘मैले जानेको कला र सीपलाई अझ तिखार्दै लाने हो,’ दिनेश थप्छन्, ‘म ब्याण्डमा पनि आवद्व छु। गितारिस्ट हुँ, म्युजिक कम्पोज गर्छु।’ उनको लेखनमा पनि रुचि छ।

‘ज्यानमा बल हुन्जेल प्लम्बिङ, पेन्टिङ, फोटोग्राफी गर्ने हो। म्युजिक फिल्डमा जाने तयारी पनि गर्दै छु। बुढेकालमाचाहिँ लेखक हुने हो,’ उनी भन्छन्।

एक वर्ष अघिसम्म बिना योजना हिँडेका दिनेशसँग अहिले भने योजना नै योजना छ। ‘मलाइ धेरैभन्दा धेरै काम सिक्न मन छ, धेरै काम गर्न मन छ। यो जुनीले पो नपुग्ने भयो !’

मंसिर २०, २०७७ शनिबार ०७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।