वैदेशिक व्यापारमा शुभ संकेत : आयात घट्दै, निर्यात बढ्दै

वैदेशिक व्यापारमा शुभ संकेत : आयात घट्दै, निर्यात बढ्दै
तस्बिर : विकिपिडिया।

काठमाडौं : विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण नेपालको अर्थतन्त्र पनि गम्भीररूपमा प्रभावित भइरहेको अनुमान गरिएका बेला वैदेशिक व्यापारमा भने शुभ संकेत देखिएको छ।

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा आधारित एक रिपोर्टले उक्त अवधिमा वैदेशिक व्यापार देशका पक्षमा भएको देखाएको छ।

राष्ट्र बैंकको रिपोर्ट अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामा नेपालको निर्यात बढेको छ भने आयात घटेको छ। सो अवधिमा कुल वस्तु निर्यात १४.३ प्रतिशतले वृद्धि हुँदा आयात १२.७ प्रतिशतले घटेको छ। साउनदेखि असोजसम्म नेपालले ३१ अर्ब पाँच करोड रूपैयाँको वस्तु निर्यात गरेको छ भने दुई खर्ब ९२ अर्ब २७ करोडको वस्तु आयात गरेको छ।

नेपालको अर्थतन्त्र आयातमुखी भएकाले वैदेशिक व्यापारमा आयातको हिस्सा निर्यातको तुलनामा निकै ठूलो छ। कोरोना संक्रमणका कारण उपभोक्ताको आम्दानी खुम्चिँदा क्रयशक्ति घट्न पुगेको छ। आयात घट्नुमा यो प्रमुख कारण रहेको विश्लेषण गरिएको छ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासिक अवधिमा पनि आयात १०.३ प्रतिशतले घटेको थियो।

चीनसँगको व्यापारमा सबैभन्दा बढी गिरावट

पछिल्लो समय अन्य देशको तुलनामा चीनसँगको वैदेशिक व्यापारमा उल्लेख्य गिरावट आएको देखिएको छ। चीनबाट हुने आयात तथा चीनतर्फ हुने निर्यात दुवैमा सबैभन्दा बढी गिरावट आएको राष्ट्र बैंकको रिपोर्टले देखाएको छ। चीनबाट हुने वस्तु आयातमा चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २६.९ प्रतिशतले गिरावट आएको छ। जबकि भारतबाट हुने आयात ६.६ प्रतिशत र अन्य मुलुकबाट हुने आयात १९.० प्रतिशतले घटेको छ। 

चीनबाट हुने आयात घट्नुमा नाका सञ्चालन हुन नसक्नु प्रमुख कारण भएको विश्लेषण गरिएको छ। कोभिड संक्रमण सुरु भएपछि उत्तरतर्फका तातोपानी र केरुङ नाका राम्रोसँग सञ्चालन हुन सकेका छैनन्। चीनबाट आयात हुने वस्तु समुद्री मार्ग हुँदै भारतबाट नेपाल भित्र्याउनुपर्ने बाध्यता छ। यसले लागत बढाउने हुँदा व्यवसायीले मन खोलेर चीनबाट आयात गर्न सकेका छैनन् भने निर्यात पनि प्रभावित भएको छ।

उत्तरतिरका नाका सञ्चालन नहुँदा चीनबाट नेपाल आयात गर्न लागिएका सामान बोकेका हजारौं कन्टेनर आठनौ महिनादेखि नाकानजिकै तिब्बती भूमिमा रोकिएको गुनासो व्यवसायीले गर्दै आएका छन्।

चालू आवको पहिलो तीन महिनामा चीनतर्फ हुने निर्यात पनि उल्लेख्य घटेको छ। समीक्षा अवधिमा चीनतर्फको निर्यात ५३.२ प्रतिशतले घटेको छ जबकि भारततर्फ हुने निर्यात १९.४ र अन्य देशतर्फ हुने निर्यात ७.४ प्रतिशतले वृद्धि भएको छ।

चालू आवको पहिलो तीन महिनामा जुटका सामान, धागो, चाउचाउ, अलैंची, पश्मिना लगायतका वस्तुको निर्यात बढेको र पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छाला लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै चामल, कच्चा सोयाविन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइलालगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, हवाईजहाज तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, कच्चा पाम तेललगायतका वस्तुको आयात घटेको छ।

निर्यात बढ्दा र आयात घट्दा नेपालको वैदेशिक व्यापार घाटामा पनि केही कमी आएको छ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १५.१ प्रतिशतले घटी दुई खर्ब ६१ अर्ब २२ करोड कायम भएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पनि व्यापार घाटामा १२ प्रतिशतले ह्रास आएको थियो।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

नेपालको वैदेशिक व्यापार सबैभन्दा बढी भारतसँग र त्यसपछि चीनसँग हुँदै आएको छ।

मंसिर १९, २०७७ शुक्रबार ००:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।