‘चौघान पार्क’ का लागि बजेट अभाव
सुर्खेत : गत भदौदेखि वीरेन्द्रनगरमा निर्माणाधिन वहुप्रतिक्षित ‘चौघान पार्क’ का लागि बजेट अभाव भएको छ।
गत वर्ष नै काम सुरु हुनुपर्ने पार्कको निर्माण सम्झौता गत आर्थिक वर्षको अन्तिममा भएपछि बजेट अभाव भएको हो। वीरेन्द्रनगर–७ स्थित सामाजिक विकास मन्त्रालयको पूर्व–दक्षिणमा रहेको खाली मैदानमा पार्क निर्माण हुदैछ।
डिभिजन वन कार्यालय सुर्खेतका वन अधिकृत टेकबहादुर रावलका अनुसार गतवर्ष पार्कका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १ करोड बजेट छुट्याएको थियो।
जसमध्ये ८० लाख बजेट फ्रिज भयो भने निर्माण कम्पनी मजदुर कन्स्ट्रक्सनले २० लाख पेश्की रकम मात्रै लिएर पहिलो चरणको काम सुरु गरेको छ।
कम्पनीले चालु आर्थिक वर्षदेखि पार्कको पर्खाल र गेट निर्माण गर्ने काम सुरु गरेको छ।
वन अधिकृत रावलले पार्कको पहिलो चरणको कामका लागि २ करोड १९ लाख लागत स्टिमेटसहित टेण्डर आव्हान भएपनि मजदुर कन्स्ट्रक्सनले १ करोड ७१ लाखमा सम्झौता गरेको जानकारी दिए।
गुरुयोजना अनुसार पार्क निर्माण सम्पन्न गर्न २० करोड ८० लाख रकम लागत लाग्ने अनुमान गरिएको छ।
चालु आर्थिक वर्षमा पार्कका लागि बजेट नछुट्टिएको जनाउदै उनले थप बजेट प्राप्त भएपछि मात्रै काम सुरु गर्न सकिने बताए।
‘एक वर्षमा सक्नुपर्ने काम हो,’ उनले भने, ‘गत वर्ष काम नभएपछि बजेट फ्रिज भयो, अब हामीले स्रोत सुनिश्चितता र क्रमागततर्फ बजेट व्यवस्था गर्नका लागि मन्त्रालयलाई पत्राचार गरिसकेका छौ आर्थिक मन्त्रालयले स्रोत सुनिश्चितताको पत्र पठाएपछि मात्रै काम हुन्छ नत्र कम्पनीले २० लाखको मात्रै काम गर्छ।’
फेरि टेण्डर गर्न नमिल्ने गरी सरकारसग स्रोत सुनिश्चितताको माग गरेको वन अधिकृत रावलको भनाइ छ।
पार्कको प्राविधिक पाटो हेरिरहेको वीरेन्द्रनगर नगरपालिकाको डिजाईन अनुसार नै पार्क निर्माण गरिदैछ।
बहुवर्षिय योजनामा रुपान्तरण गरेर तीन वर्षमा काम सक्ने गरी पार्कको पहिलो चरणको काम सुरु गरिएको हो।
करिब चार विगाह क्षेत्रफलमा निर्माण हुने पार्कमा पञ्चेबाजाको तालमा चल्ने पानीका फोहोरादेखि शिवलिङ्गसमेत राखिने छ।
आन्तरिक तथा वाह्य पर्यटकको मनोरञ्जनका लागि पञ्चेबाजा, नर्सिङ्गा, शिवलिङ्ग जस्ता कला र सम्पदाहरु पार्कमा राखिने छन्।
कर्णालीको मौलिकता झल्कने गरी पार्कमा फरक–फरक सांगीतिक ध्वनीहरु पनि राखिने छन्। पार्क निर्माणको काम तोकिएकै समयमा सम्पन्न भए सांगितिक ध्वनीसहितको यो नेपालकै पहिलो मनोरञ्जन पार्क हुनेछ।
मंसिर १८, २०७७ बिहीबार १८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।