खोप भित्र्याउन कूटनीतिक तहमा छलफल हुँदै

खोप भित्र्याउन कूटनीतिक तहमा छलफल हुँदै
तस्बिर : गेट्टी इमेज।

काठमाडौं : विश्वका शक्ति मुलुकहरूमा कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप बनाउन होडबाजी चर्चामा आइरहेका छन्। केही कम्पनीहरूले परीक्षण सफल भएको पनि दाबी गरिरहेका छन्। 

नेपालमा पनि कोरोना विरुद्धका खोप भित्र्याउनेबारे छलफल तथा प्रक्रिया अघि बढिरहेको सरकारी दाबी छ। 

खोप भित्र्याउनका लागि सरकारले विभिन्न ढाँचा (मोडालिटी) मा काम अघि बढाइरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवत्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन्। तर, छिटोमा कहिलेसम्म खोप भित्रिन्छ भन्ने निश्चित नभएको उनी बताउँछन्।

‘अहिले नै खोपहरू संसारभरी अभियानका रूपमा प्रयोग गर्नेगरी व्यावसायिकरूपमा उत्पादन भएर आइसकेको अवस्था छैन,’ सहप्रवत्ता अधिकारीले उकेरासँग भने, ‘ठ्याक्कै यही समयमा आउँछ भन्ने निश्चित छैन।’

मन्त्रालयले खोप भित्र्याउनका लागि विभिन्न कुटनीतिक माध्यमबाट छलफल भइरहेको जनाएको छ। 

बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतम पनि नेपालमा खोप भित्र्याउनका लागि काम भइरहेको बताउँछन्। तर, कुन खोप कति समयमा भित्रिन्छ भन्ने निश्चित नभएको उनको भनाइ छ। डा. शर्माले भने, ‘अहिलेसम्म अन्तिम डाटा आएका छैनन्। खोप परिक्षणका प्रारम्भिक तथ्यांक उत्साहजनक छन् ।’

त्यसो त जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डे पनि विश्व बजारमा खोप उत्पादन भइसकेपछि नेपालमा पनि ढिलो–चाँडो भित्रिने बताउँछन्। त्यसको लागि सरकारले पूर्वतयारी भने गर्नुपर्ने डा. पाण्डेको सुझाव छ। 

मन्त्रालयका सहप्रवत्ता डा. अधिकारिले नेपाल ‘कोभ्याक्स’ अन्तर्राष्ट्रिय अभियानमा सहभागी भइ खोप भित्र्याउनका लागि काम अघि बढिरहेको जानकारी दिए। ‘कोभ्याक्सबाट जनसंख्याको २० प्रतिशतलाई पाउने गरी सुनिश्चित भइ काम अघि बढिरहेको छ,’ सहप्रवत्ता अधिकारीले भने, ‘यो निःशुल्क हो।’

यो अभियानमार्फत खोप भित्र्याउँदा सुरुवाती दिनमा सरकारले केही रकम हाल्नुपर्ने कुरा भनिए पनि पछिल्लो समय निःशुल्क पाउने सम्भावना बढेको उनी बताउँछन्। डा. गौतम भन्छन्, ‘हामी कोभ्याक्स फेसिलिटीमा सहभागी छौं। कोभ्याक्स फेसिलिटीले हामीलाई २० प्रतिशत जनसंख्यामा पुग्ने खोप दिने पत्राचार भएको छ।’ 

सुरुमा तीन प्रतिशत खोप आउने उनी बताउँछन्। डा. गौतमले तीन प्रतिशत आउँदा नौ लाख हुने बताए। सुरुमा आएको नौ लाख खोप स्वाथ्यकर्मी, फ्रन्ट लाइनमा खट्ने, अत्यावश्यक सेवामा संलग्न जनशक्ति लगायतलाई जोखिमको तह निर्धारण गरेर खोप दिइने डा. गौतमले जानकारी दिए। कोभ्याक्स विश्व स्वास्थ्य संगठन, गाभी, सेपी जस्ता संस्थाको छाता संगठन हो। गरिब मुलुकहरू खोपबाट वञ्चित हुन नपरोस भनेर यो संगठन बनाइएको हो।

यसबाहेक सरकारले खरिद गरेर वा अनुदानमा पनि खोप भित्र्याउनका लागि प्रक्रिया अघि बढाइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। अमेरिकन कम्पनी मोर्डना र फाइजरका खोप, बेलायतको अक्सफोर्ड–अस्ट्रेजेनिका, रुसको ग्यामेलिया इन्टिच्युटलगायतका खोपहरूको चर्चा भए पनि नेपालका लागि उययुक्त खोप भित्र्याइने स्वास्थ्य मन्त्रालयका सहप्रवत्ता अधिकारीले बताए। उनले भने, ‘तर, कुनै पनि खोप अभियानकै रूपमा उत्पादन भएर अभियानका रूपमा प्रयोग भएको अवस्था छैन।’

केही कम्पनीका ९५ प्रतिशतसम्म खोप प्रभावकारी भनिए पनि अन्तिम (फाइनल) तथ्यांक नआइकन कुन खोप कहिले ल्याउन सकिन्छ भन्ने यकिनगरी भन्न सकिने अवस्था नरहेको निर्देशक डा. गौतम पनि बताउँछन्। डा. गौतमले भने, ‘खोप भण्डारणका लागि दुई देखि आठ डिग्री सेन्टिग्रेड भएका खोप नेपालका लागि सहज हुन्छन्।’

जसका लागि नेपालमा अहिले भएका संरचनामा केही थप गरे पुग्ने खोप शाखाका प्रमुख डा. गौतमले जानकारी दिए। तर, अत्यन्तै चिसो (अल्ट्र काल्ड चेन)मा राख्नुपर्ने खोपका लागि संरचना नेपालमा छैनन्। डा. गौतमले भने, ‘माइनस ७०/८० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने खोपका लागि नेपालमा संरचना छैन।’

नेपालमा खोप ढुवानी गर्ने तापक्रम, भण्डारण गर्ने तापक्रम, प्रयोग गर्ने तापक्रम र स्वास्थ्यकर्मीको संख्या लगायतलाई हेर्दा धेरै कम तापक्रममा राख्नुपर्ने र नेपालको स्रोत साधनले धान्न सक्ने तापक्रमको खोप पनि देखिएको मन्त्रालयले बताएको छ। 

फाइजर बायोटेकले बनाएको (एमआरएनए–बिएनटी १६२) खोप माइनस ७० देखि माइनस ८० राख्नुपर्ने हुन्छ। जनस्वास्थविज्ञ पाण्डेले भने, ‘यो खोप भण्डारणको लागि संरचना नभएकाले नेपालका लागि उपयुक्त छैन।’ 

यो खोप ९५ प्रतिशत सफल भइसकेको चर्चा छ। नेपालजस्तो भौगोलिक विकटता भएको मुलुकमा कम तापक्रममा राख्न सकिने खोप नै उपयुक्त हुने उनी बताउँछन्। 

यस्तै, मोडर्नाको (एमआरएनए–१२७३) खोप माइनस चारदेखि माइनस २० डिग्री सेल्सियसमको तापक्रममा राख्न सकिन्छ। एक महिनासम्म दुईदेखि आठ डिग्री सेल्सियसमा राख्न सकिन्छ। यो पनि ७४ प्रतिशतभन्दा बढी सफल भएको बताइन्छ, जुन खोप नेपालको स्रोत साधनको हिसाबले विभिन्न जिल्लामा पुर्याउन पनि सहज हुन्छ। तर, यो खोप महँगो छ। 

यसैगरी, अक्सफोर्ड–अस्ट्रेजेनिको (एजेडडी १२२२) खोप ९० प्रतिशत प्रभावकारी भएको दाबी छ। यो खोप दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा राख्न सकिन्छ। यो खोप ९० प्रतिशत प्रभावकारी भएको मानिएको छ। 

रुसको ग्यामेलिया इन्टिच्युटले उत्पादन गरेको (स्पुतनिक–५) खोप ९५ प्रतिशत प्रभावकारी भएको दाबी छ। यो खोप माइनस १८ डिग्री सेल्सियसभन्दा कम तापक्रममा राख्नुपर्ने हुन्छ। तर, यो खोपको वैज्ञानिक तवरमा विश्वास गर्ने आधार बनिनसकेको जनस्वास्थविज्ञ बताउँछन्। 

नेपालमा खोप किन्नुपर्ने अवस्था आएको अवस्थामा चीन र भारतले उत्पादन गरेका खोप उपयुक्त हुने जनस्वास्थ्यविज्ञ पाण्डे बताउँछन्। पाण्डेले भने, ‘नेपालले किन्नुपर्ने  अवस्था आए चीन र भारतमा बनेका खोप सस्तो र हाम्रो क्यापसिटीले पनि भ्याउँछ।’ 

डा. पाण्डेले चीनमा पनि ठूलो मात्रामा खोप उत्पादन भइरहेका छन्। भारत र चीन छिमेकी मुलुक भएको नाताले पनि यी मुलुकबाट खोप लिन सहज हुने जनस्वास्थ्यविज्ञ बताउँछन्।

सबैलाई पुग्छ त ?

अन्तर्राष्ट्रिय तहमा खोप उत्पादन भइसकेपछि नेपालमा पनि आउने जनस्वास्थ्यविज्ञ बताउँछन्। 

नेपालमा खोप भित्रिहालेको खण्डमा पनि एकै पटकमा सबै जनसंख्यामा खोप पुर्याउने तथा प्रयोग गर्न सम्भव नभएको स्वयं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। जनस्वास्थ्यविज्ञहरू पनि पहिलोपटक भित्रिएका खोप शक्ति र पहुँचवालाको हातमा पुग्दा सर्वसाधारणले नपाउने जोखिम समेत हुने बताउँछन्। पहिलो कुरा त सबै जनसंख्यालाई एकैपटक पुग्ने गरी खोप उत्पादन भइहाल्ने पनि देखिँदैन। त्यसैले नेपालमा एकैचोटी खोप भित्रिने सम्भावना छैन। 

खोपको प्रयोगका लागि पूर्वाधार तथा स्वास्थ्यकर्मी लगायतको जनशक्ति आवश्यक हुन्छ। स्वास्थ्य मन्त्रालयले भने नेपालले विभिन्न किसिमका खोपका कार्यक्रम उदाहरणीयरूपमा गरेकाले खोपको प्रयोगमा सक्षम रहेको बताएको छ। ‘खोपको कार्यक्रम सञ्चालन गर्न हामीसँग संसारलाई सिकाउन सक्ने क्षमता छ,’ अधिकारीले भने, ‘हाम्रो देशमा धेरै खोप अभियान सफल भएका देखेका छौं।’ 

अधिकारीले नेपालमा खोप नै उत्पादन गर्ने क्षमता नभए पनि भण्डारण र प्रयोगलाई सफल बनाउने सवालमा भने सक्षम रहेको दाबी गरे। 
सहप्रवत्ता अधिकारीले कम तापक्रममा भण्डारण गर्नुपर्ने खोपका लागि ढुवानी तथा भण्डारण क्षमताको व्यवस्थाका लागि काम भइरहेको बताए। अधिकारीले भने, ‘भण्डारण क्षमता बढाउन र भण्डारण क्षेत्रको सामजस्यताका लागि काम भइरहेको छ।’

डा. गौतम पनि खोपचेन लगायत खोप भण्डारण तथा प्रयोगको तयारीका लागि प्राविधिक विषयको विश्लेषण तथा तयारीका काम भइरहेको दाबी गर्छन्।

डा. पाण्डे नेपालमा खोप भित्र्याउनका लागि सरकारले कूटनीतिक प्रयास र पूर्वाधार तथा जनशक्तिको पूर्वतयारी भने चनौती हुने बताए। त्यसैले सरकारले बेलैमा यसतर्फ ध्यान दिनुपर्ने उनी सुझाउँछन्। उनले भने, ‘स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्छ।’ 

यसैगरी, आम जनतामा खोपले नकारात्मक असर गर्छ भन्ने भ्रम फैलन सक्ने भएकाले खोपको महत्त्व पनि बुझाउनुपर्नेतर्फ जनस्वास्थ्यविज्ञ सजग गराउँछन्। डा. पाण्डेले जोखिमयुक्त समूहलाई पहिचान गरेर जोखिमयुक्त समूहको वर्गिकरण गरी मापदण्ड बनाउनुपर्ने बताए।

मापदण्ड नबनाए पहुँचको आधारमा खोप पाउने अवस्थाको सृजना हुन सक्ने बताए। उनले भने, ‘खोपको प्रिन्सिपल मृत्युदर घटाउनु हो। मृत्युदर घटाउन पहिलो लटमा जोखिम वर्गलाई खोप लगाउनुपर्छ।’

क्रमशः कम जोखिम वर्गलाई खोप लगाइदिँदै जानुपर्ने जनस्वास्वास्थ्यविज्ञ बताउँछन्। नेपालमा खोप आएपछि सबै जनसंख्यामा खोप लगाउन करिब एक वर्ष लाग्ने जनस्वास्थ्यविज्ञ बताउँछन्। नेपालमा अहिलेदेखि नै तयारी नगरेको अवस्थामा खोप आएपछि अलमल हुने जनस्वास्थ्यविज्ञहरूको भनाइ छ। 

त्यसैले अहिले खोप नआइसकेको अवस्थामा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउनु नै उत्तम उपाय भएको जनस्वास्थ्यविज्ञको सुझाव छ। 

खोप प्रयोग हुने मापदण्ड

नेपालमा खोप भित्र्याउनका लागि कानुनी अड्चन फुकेको छ। डा. गौतमले भने, ‘कानुनी अड्चन ऐन संसोधन गरेर फुकाइएको छ।’ 
अर्थमन्त्रालयले स्रोतको सुनिश्चित भइरहेको पनि उनले जानकारी दिए। अध्यादेशमार्फत औषधि ऐन, २०३५ संशोधन गरी खोप भित्र्याउने बाटो खुलेको छ।

यस्तै, खोप नियमावली, २०७४ मा खोपसम्बन्धी मापदण्ड तोकिएको छ। नियमावलीको नियम ४ मा व्यवस्था भएको मापदण्ड अनुसार विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त छ भन्ने प्रमाणित (प्रिक्वालिफाइड) भएको हुनुपर्छ। यसैगरी, खोप उत्पादन भएको मुलुकमा प्रयोग भइरहेको हुनुपर्ने छ। उपयोग गर्ने म्यादभित्रको त हुनै पर्यो। यस्तै, खोपको भायलमा खोप भायल मनिटरको सूचक भएको हुनुपर्छ। खोप निकासी गर्ने देशको नियमक निकायमा लट रिलिज प्रमाणपत्र प्राप्त गरेको हुनुपर्छ। नियमावली अनुसार स्वास्थ्य मन्त्रालयले समयसमयमा तोकेका अन्य मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। 

नियमावलीको दफा ६ बमोजिम खोप सञ्चालन गर्न अनुमतिपत्र प्राप्त स्वास्थ्य संस्थाले छुट्टै खोप कक्षको प्रबन्ध गर्नुपर्ने हुन्छ। त्यसैगरी, खोप भण्डारण गर्ने रेफ्रिजेरेटर वा फ्रिजरमा खोपबाहेक अन्य सामग्री राख्न नहुने व्यवस्था छ। खोप सेवा सञ्चालनबाट उत्सर्जन हुने खोपजन्य फोहार पदार्थ व्यवस्थापन विभागले तोकेको मापदण्डबमोजिम गर्नुपर्ने हुन्छ। खोप कार्यक्रममा समावेश भएका खोप भने निःशुल्करूपमा उपलब्ध गराउनुपर्ने छ। त्यसैगरी खोपको तालिका सार्वजनिक गर्नुपर्ने हुन्छ। 

नियमावली अनुसार खोप सेवा सञ्चालन गर्दा त्यस्तो खोपको प्रकृति, फाइदा र सम्भावित असरका बारेमा खोप लिने व्यक्ति, संरक्षक वा अभिभावकलाई जानकारी गराउनुपर्ने हुन्छ। नयाँ खोप भएकाले यसबाट हुनसक्ने साइड इफेक्टका लागि पनि पूर्वतयारी गर्नुपर्ने डा. पाण्डेको तर्क छ। 

मंसिर १८, २०७७ बिहीबार ०८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।