बेसहाराको आश्रयस्थल

बेसहाराको आश्रयस्थल

सुर्खेत : एक वर्षअघि जुम्लाकी मानसिक रोगी दुईला क्षेत्रीलाई दुई छोरीसहित बराहताल गाउँपालिकामा भेटाइएको थियो।

अलपत्र अवस्थामा रहेकी उनलाई सुर्खेतस्थित मानव सेवा आश्रमले साहयता गर्यो। पूर्णरूपमा मानसिक रोगी रहेकी उनको उपचार र सेवा पाएपछि अवस्थामा सुधार हुँदै आएको छ।

उनी जस्तै सडकपेटीमा अलपत्र परेका व्यक्ति, असहाय, अपांगता भएका व्यक्ति, मनोरोगीको आश्रयस्थल बनेको छ, मानवसेवा आश्रम, सुर्खेत। कष्टकर जीवनयापन गरेका सबै उमेर समूहका व्यक्तिको उद्धार गरेर आश्रममा राखिने गरिएको छ। 

यस्तै, वीरेन्द्रनगर १३ की पूर्ण मानसिक रोगी कृष्णा रावतलाई केही महिनाअघि आश्रममा ल्याइएको थियो। उनलाई मानव सेवा आश्रमले उपचार र सेवा गरेर पूर्णरुपमा निको बनाइसकेको आश्रमका संयोजक सृजना वलीले जानकारी दिइन्।

‘पहिले उहाँलाई ल्याउँदा अवस्था एकदमै नाजुक थियो,’ उनले भनिन्, ‘गाउँमा सबैलाई पिट्ने, चिच्याउने गर्नुहुन्थ्यो। तर, अहिले उपचार गरेर पूर्णरूपमा निको भएको छ।’ 

उनका अनुसार कालिकोटबाट उद्धार गरिएका मानसिक रोगी पदम सुनारको अवस्था पनि सुरुमा ल्याउँदा नाजुक नै थियो। तर, उपचारपछि सामान्य अवस्था भएर केही दिनमा पुनर्मिलन गराउन लागिएको छ। 

सुर्खेतस्थित आश्रममा आएका १८० जना मनोरोगीहरूको उपचार गरेर घरमा पुनर्मिलन गराइसकेको आश्रमका संयोजक वलीले बताइन्। 
उनका अनुसार आश्रममा अशक्त, बेवारिसे, दुई जना नवजात शिशु र अन्य मानसिक रोगी गरेर ४४ जनाले आश्रय पाइरहेका छन्। 

आश्रमकी संयोजक वली भन्छिन्,‘अनाथ, अपांगता भएका व्यक्ति, अशक्त र असहायलाई उद्धार गरेर आश्रममा ल्याउने र उहाँहरूको औषधि उपचार गर्ने, परिवार भेटिएमा पारिवारिक पुनर्मिलन गराउने काम गर्छौं, परिवार नभेटिएमा आश्रममै उहाँहरूको जीवनभर सेवा गरिन्छ।’

सडकमा मानसिक सन्तुलन गुमाएका, वृद्ध वा अपांगता भएर वा कुनै रोगको उपचार गर्न नसकेर सडकमै अलपत्र भएका, चौतारीमै रात काट्न बाध्य भएकालाई आश्रय दिनका लागि आश्रम खुलेको हो।

मुठीदानबाटै खर्च धानिँदै 

सुर्खेतमा रहेको आश्रमका ४४ जनालाई स्याहारसुसार, खानपान, औषधी उपचार लगायतका लागि मासिक १ देखि डेढ लाख रूपैयाँसम्म खर्च हुन्छ। ‘विभिन्न सहयोगदाताहरूले सहयोग गर्नुहुन्छ,’ उनी भन्छिन्,’ सहयोगीहरूकै कारण सडकमा अलपत्र जीवन बिताइरहेका मानिसलाई उद्धार गरेर सेवा गर्न सकेका छौं।’

वलीले मानव सेवा आश्रम सुर्खेत मुठीदानबाट नै चलिरेहको बताइन्। ५० जना अट्ने भवनको भाडा वीरेन्द्रनगर नगरपालिकाले व्यहोरिरहेको छ। नगरपालिकाले मानव सेवा आश्रमको भवनका लागि मासिक ५० हजार रूपैयाँ भाडा उपलब्ध गराएको संयोजक वलीले जानकारी दिइन्।

उनले आश्रम चलाउनका लागि मुठीदानबाट उठेको पैसाले नै खर्च चलाइरहेको जनाइन्। कर्णाली प्रदेश सरकारले आश्रम खुलेको सुरुवातीमै २० लाख रूपैयाँ सहयोग गरेको उनले बताइन्। उनले भनिन्, ‘हामीले २०७५ माघ १८ गतेबाट यहाँ मानव सेवा आश्रम सञ्चालनमा ल्यायौं। त्यो बेला प्रदेश सरकारले २० लाख रूपैयाँ सहयोग गरेको थियो र अहिले पनि सहयोगका लागि प्रस्ताब राखेका छौं।’

उनका अनुसार अनुसार आश्रममा जन्मदिन, विवाह, ब्रतबन्ध, चौरासी, वैवाहिक कार्यक्रम, वार्षिकी, पितृकार्य जस्ता कार्य गरेर एक छाक खुवाएर सहयोग गर्ने गरिएको छ। उनले भनिन्, ‘यसले आफू पनि बाँचौं र अरुलाई पनि बाँच्न देऊ भन्ने उपदेशलाई बल पुर्याउँछ।’

मंसिर १८, २०७७ बिहीबार ०६:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।