‘फिल्म हल कहिले खोलौं सरकार ?’

‘फिल्म हल कहिले खोलौं सरकार ?’
काठमाडौंस्थित जय नेपाल सिनेमा हल।

कोरोनाका कारण बन्द रहेका आन्तरिक हवाई उडान, रेस्टुरेन्ट, सार्वजनिक यातायात, विद्यालयहरू सञ्चालनमा आइसक्दा पनि चलचित्र भवन सुचारु गर्न सरकारले अनुमति नदिएको भन्दै हल सञ्चालक, चलचित्र वितरक र निर्माताहरूले हल खोल्न पाउनुपर्ने बताउन थालेका छन्।

चलचित्र वितरक तथा निर्माता करण श्रेष्ठले सबै क्षेत्र खुले पछि हल सञ्चालन गर्न अनुमति दिन माग गरेका छन्। सरकारले कोरोना सर्ने ठाउँ चलचित्र क्षेत्र मात्रै देखेको उनको गुनासो छ। 

श्रेष्ठले भने, ‘गाडीमा मान्छे भिडमभिड चढेर यात्रा गर्दा कोरोना नलाग्ने, बजारमा मान्छे किनमेल गर्दा कोरोना नलाग्ने अनि चलचित्र हल खोल्दा कोरोना लाग्ने? यस्तो पनि कहि हुन्छ। यो त सरासर सरकारले चलचित्रकर्मीलाई हेपेको हो।’

सरकारले सबै तिरको मजदुर देख्यो तर चलचित्र क्षेत्रको १५ सय भन्दा बढि मजदुर मारमा पर्दा नदेखेको श्रेष्ठले बताए। 

नेपाल चलचित्र संघको उपत्यकाका सभापति तथा गंगा हलका सञ्चालक मदनमान बज्रचार्यको आक्रोस पनि उस्तै रहेको छ। सरकारले हल बन्द गरेर चलचित्रकर्मीलाई विस्तावित गर्न खोजेको आरोप लगाए। उनले चलचित्र हल बन्द हुँदा आफुले मासिक तीन लाख रूपैयाँ घाटा व्यहोर्दै आउनु परेको बताए।

उनले भने, ‘हल सञ्चालनमा आएको छैन। कर्मचारी पाल्नै पर्यो,हलमा लाग्ने विजुली खर्च महिनाको ३०–४० हजार तिर्ने पर्यो। जसका कारण अहिले चलचित्र हलको हरिविजोगका बारेमा कुरा नगरेकै बेस्। जति कुरा गरे पनि सरकारले राहत दिने होइन। अर्को कुरा सरकारले चलचित्रकर्मीको कुरा सुन्ने होइन।’

आफूले हल भएको जग्गा लिजमा लिएको हुनाले अहिले मासिकरूपमा तीन लाख घाटा व्यहोर्दै आउनुपरेको उनको भनाई छ। भाडामा लिएको भए अहिले मासिक १०–१२ लाख रूपैयाँभन्दा बढी तिर्नुपर्ने थियो। 

‘बाराही हलको भाडा तिर्न नसकेर हल सञ्चालकले घर साहुलाई नै जिम्मा लगाएको सुन्छु। त्यस्तै, लभिङ मल ऋणमा निर्माण गरिएको हो। त्यस्तै, जय नेपाल हल, क्युएफ त्रिपुरेश्वरको पनि सबै भाडामा हुन्। उनीहरूको खर्च १०–१५ लाख रूपैयाँभन्दा बढी हुन्छ। आठ महिनादेखि यता कति खर्च भयो होला तपाईं आफै अनुमान लगाउनुस्,’ उनले भने।  

चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान सरकारले चलचित्रकर्मीलाई हेपेको बताउँछन्। सरकारले चाडै हल सञ्चालन गर्ने अनुमति नदिए वैकल्पिक उपाय रोज्ने बताए्।

उनले भने, ‘कोरोना कहरले चलचित्र हल सञ्चालकको करोडौं रकम हानी भइसकेको छ। केही हल सञ्चालकले आत्महत्या गर्न बाध्य भएको देखेकै छौं। अब पनि चलचित्र हल नखोल्ने हो भने चलचित्रकर्मीको अवस्था सडकमा आउनुबाहेक केही छैन।’ 

चलचित्र हल चाडो सञ्चालनमा नआए धेरै चलचित्रकर्मी पलायन हुनेदेखि डिप्रेसनमा जान सक्ने अवस्थामा पुग्ने अध्यक्ष प्रधानको भनाई छ। 
उनले कलाकार दीपकराज गिरीको उदाहरण दिँदै भने, ‘चलचित्र क्षेत्रमा सरकारले यसरी बन्देज लगाइदिएपछि कलाकार तथा प्राविधिकहरू अर्को व्यवसाय गर्न थालेका छन्। यसलाई रोक्नका लागि पनि चलचित्र क्षेत्र चलायमान बनाउनुपर्ने अवस्था छ।’ 

हल आफै खोल्ने चेतावनी 

सरकारले चलचित्र हल खोल्न नदिए हल सञ्चालकले आफै हल खोल्ने चेतावनी दिएका छन्। चलचित्र वितरक तथा हल व्यवसायी गोपाल कायस्थले सरकारले हल खोल्न अनुमति नदिए आफै हल खोल्ने चेतावनी दिएका हुन्। चलचित्र विकास बोर्डसँगको छलफलमा उनले अब पनि सरकारले हल खोल्ने अनुमति नदिए आफै हल खोल्ने चेतावनी दिए।

वान सिनेमास चलचित्र हलमा म्यानेजर उमेश गिरीले चलचित्र हल बन्दा हुँदा मासिक १५ लाख घाटा व्यहोर्दै आएको बताएका छन्। गत वर्ष मात्रै सञ्चालनमा आएको वान सिनेमाज चलचित्र भवन उठ्नै नसक्ने गरी डुबेको बताए।

उनले भने, ‘हामी पीडित मात्र होइन, पीडितबाट पनि अझैं पीडित भएका छौं। सरकारले यसबारेमा चासो नदिँदा हल नै छोडेर भाग्नु पर्ने अवस्था आएको छ। चलचित्र संघसंस्थाले सरकारसामु पहल गरिरहेका छन्। सायद चाडै हल खुल्छ होला भन्ने आशमा।’ 

चलचित्र  निर्माता, तथा एफडी कम्पनीका एमडी सुशील पोखरेलका अनुसार सरकारले यस्तै गरिरहे हल सञ्चालक, वितरक, निर्माताहरूको झिटीगुण्टा लिलाम हुने बताएका छन्। अहिले चलचित्रकर्मीको कतै पनि आम्दानी नरहेकाले चलचित्र निर्माता तथा हल सञ्चालकहरूका सम्पत्ति लिलाम हुने बताएका हुन्। चलचित्र निर्माता तथा हल सञ्चालकको झिटीगुण्डा लिलाम हुने अवस्था आउँदा पनि सरकार मौन रहेकोमा उनले आपत्ति जनाए।  

चलचित्र ‘तुफान २’ निर्माणमा लागेका चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठले सम्बन्धित संस्थाहरूले चलचित्र प्रदर्शन गराउनेतिर चासो दिन आग्रह गरेका छन्। चलचित्र क्षेत्र ठप्प हुँदा मजदुरहरू झन् पीडित भइसकेको भन्दै समस्या सबै चलचित्रकर्मीको भएको बताए। 

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल भन्छन्, ‘सरकारसँग आफूले छलफल गरिरहेको र सरकारले चाडै चलचित्र हल खोल्न अनुमति दिन्छ। आफूले सञ्चारमन्त्रीसँग यसबारे छलफल गरिरहेको छु। उहाँ सकरात्मक देखिनुभएको छ। सायद छिट्टै सरकारबाट केही जानकारी आउँछ।’

सरकारले चलचित्र हल मात्रै रोकेको र चलचित्र छायांकनमा भने अवरोध नगरेको बताए। उनले भने, ‘सरकारले हल सञ्चालनमा मात्रै रोक  लगाएको हो। तर, चलचित्र छायांकनमा रोक लगाएको छैन। कोरोना संक्रमणबाट जोगिँदै चलचित्रको छायांकन गरे सरकारले अवरोध गर्दैन।’ 

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र हल खोल्नका लागि चलचित्र विकास बोर्डसँग र मन्त्रालयमा छलफल गरिरहेको र हल खोल्न सरकार पनि सकारात्मक देखिएको बताए। सरकारले हल खोल्ने अनुमति कहिले दिन्छ भन्नेमा यकिन नभएको र छिट्टै हल खोल्नुपर्छ भन्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।

मंसिर १७, २०७७ बुधबार १४:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।