अकासियो आलुको मूल्य, आत्मनिर्भर कहिले ? 

अकासियो आलुको मूल्य, आत्मनिर्भर कहिले ? 
तस्बिरहरू : दावा शङवु शेर्पा

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अनुसार रातो आलु प्रतिकेजी ९० रूपैयाँमा किनबेच भइरहेको छ। यस्तै, प्रतिकिलोमा सेतो आलु ७८, रातो आलु (भारतीय) ८२ रूपैयाँ तोकिएको छ। 

यही मंसिर ९ गते (अघिल्लो मंगलबार) रातो आलु प्रतिकिलो ७५, सेतो आलु प्रतिकिलो ७०, रातो आलु (भारतीय) प्रतिकिलो ७० रूपैयाँ थियो। 

कात्तिक पहिलो सातादेखि नेपालमा उकालो लागेको आलुको मूल्य घट्न सकेको छैन। व्यापारीहरूले स्थानीय आलु बजारमा आएपछि मूल्य घट्ने बताएका थिए। तर, स्थानीय आलु उत्पादन भए पनि मूल्य कम भएको छैन, बरु बढ्दैछ। 

स्वदेशमा उत्पादित आलुले काठमाडौंको माग धान्न नसक्दा भारतबाट आयात हुने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले बताए। ‘त्यसकारण भारतबाट आलुको मूल्य घटेर नआउञ्जेल नेपालमा मूल्य घट्दैन,’ उनले भने। 

काठमाडौंमा ललितपुर, भक्तपुर र काभ्रेबाट आलु भित्रिने उनले बताए।  

बारीमै ८५ रूपैयाँ

अहिले काठमाडौंको रातो र सेतो आलुको भाउ बारीमै प्रतिकेजी ८० देखि ८५ रूपैयाँसम्म पुगेको छ। तराईका जिल्लाहरूमा समेत आपूर्ति हुने भएकाले काठमाडौंमा तरकारीको भाउ बढेको आलु व्यवसायीहरू बताउँछन्।

यो सिजनमा तराईका जिल्लामा आलु उत्पादनको सिजन सुरु नभएकाले अघिल्लो वर्षको तुलनामा आलुको भाउ बढेको साँखुका आलु व्यवसयी उज्जवल कार्कीले बताए। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीले गर्दा आलु उत्पादनमा कमी आए पनि यस वर्ष किसानले आलुको राम्रो भाउ पाएको उनले बताए।

यस वर्ष बारीमा नै आलु प्रतिकेजी ८५ रूपैयाँ भएकाले एक रूपैयाँदेखि दुई रूपैयाँसम्म मात्र नाफा राखेर मात्र बेच्ने गरेको व्यावसायीको भनाई छ। 

आत्मनिर्भर कहिले ?

स्वदेशमै उत्पादनको सम्भावना हुँदाहुँदै पनि भारत, चीन बंगलादेशबाट  ठूलो परिमाणमा आलु आयात भइरहेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ बाट झापा, सुनसरी, लमजुङ, कास्की, स्याङ्जा, बर्दिया, कैलाली र कञ्चनपुरमा ‘बीउ आलु आत्मर्निभर कार्यक्रम’ सञ्चालन गरिरहेको छ। २०८०/०८१ सम्म सञ्चालन हुने यो कार्यक्रमबाट गुणस्तरीय बीउ प्रयोग गरी आलु उत्पादन र उत्पादकत्व बढाइ आयात प्रतिस्थापन गर्ने मन्त्रालयको लक्ष्य छ।

बढ्दो आलु खपतको कारण १५ वर्ष अगाडिको तुलनामा उत्पादन दोब्बर हुँदासमेत आलुमा आत्मनिर्भर हुन सकेको छैन। 

गुणस्तरीय बीउ नहुँदा अन्य मुलुकको तुलनामा नेपालमा आलुको उत्पादन न्युन रहेको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका सूचना अधिकारी सन्दीप सुवेदीले बताए। उन्नत बीउ किसानलाई दिन सके नेपालमा आलुको उत्पादन बढ्न सक्ने उनको भनाइ छ। यसका लागि बीउ प्रमाणीकरण पद्धतिबाट बीउ उत्पादन गर्नुपर्ने उनको सुझाव छ। 

हाल नेपालमा प्रतिव्यक्ति वार्षिक ८५ केजी आलु खपत हुने गरेको छ। 

गत वर्षदेखि आलु उत्पादनमा नीति र सुधारका कार्यक्रम ल्याए पनि आलु उत्पादन बढ्न सकेको छैन, जसले गर्दा वार्षिक अर्बाैं रूपैयाँको आलु आयात गर्नुपर्ने अवस्था छ। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ओखलढुंगा, रामेछाप, रसुवा, नुवाकोट, भक्तपुर, काठमाडौं, बाग्लुङ, दैलेख, बझाङ, अछाम, काभ्रे र डडेलधुरामा आलुका जोन तथा सुपरजोनहरू घोषणा गरिएका छन्। आलु उत्पादनका हिसाबले झापा, काभ्रे, इलाम, सोलुखुम्बु, मोरङ, कैलाली, मकवानपुर, बारा, सुनसरी र रूपन्देही गरी १० जिल्लामा आलु बढी उत्पादन हुने गरेको बाली विकास केन्द्रले जनाएको छ। 

वार्षिक ३१ लाख मेट्रिक टन उत्पादन 

बाली विकास केन्द्रका अनुसार नेपालमा वार्षिक ३१ लाख १२ हजार ७ सय ४७ मेट्रिक टन आलु उत्पादन हुने गरेको छ। नेपालमा एक लाख ९३ हजार ९ सय ९७ हेक्टर क्षेत्रफलमा आलु उत्पादन गरिएको पाइएको छ। 

बाली विकास केन्द्रका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा २८ लाख ८१ हजार ८ सय २९ मेट्रिक टन उत्पादन भएको थियो। त्यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा ३१ लाख १२ हजार ७ सय ४७ टन उत्पादन भएको थियो। गत आर्थिक वर्षको भने उत्पादित आलुको तथ्यांक विश्लेषण भइसकेको छैन। 

दुई लाख मेट्रिक टन आयात 

नेपालमा मुख्य गरी भारत, चीन बंगलादेश इन्डोनेसियालगायत मुलुकबाट आलु आयात भएको देखिन्छ। बाली विकास केन्द्रका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा २ लाख ७४ हजार ३ सय ३६ मेट्रिक टन आलु आयात भएको थियो। 

त्यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा ३ लाख ५५ हजार ९ सय १३ र आर्थिक वर्ष २०७६/०७७ मा ३ लाख ३३ हजार ३ सय ३४ मेट्रिक टन आलु आयात भएको छ। यसबाट वार्षिक पाँच अर्ब रूपैयाँसम्म बाहिरिने गरेको छ। 

नेपालबाट आलु निर्यात भने न्यून छ। बाली विकास केन्द्रका अनुसार नेपालबाट पाँच सय मेट्रिक टन मात्रै आलु निर्यात हुने गरेको छ। 

मंसिर १७, २०७७ बुधबार ०८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।