९ वर्षपछि सुर्खेत सिटी बसपार्क सञ्चालनमा

९ वर्षपछि सुर्खेत सिटी बसपार्क सञ्चालनमा

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सुर्खेत सिटी बसपार्क निर्माण थालेका ९ वर्षपछि सञ्चालनमा आएको छ।

अदालतसम्म पुगेको विवाद सुल्झिएपछि सोमबारबाट औपचारिक रुपमा बसपार्क सञ्चालनमा आएको हो। 

२०६८ सालदेखि निर्माण कार्य थालिएको सिटी बसपार्क दुई वर्षमै सम्पन्न हुनेगरी सम्झौता भएको थियो। तर बसपार्क निर्माणको जिम्मा पाएको कम्पनीले राम्रोसँग काम गर्न नसकेपछि २०७२ माघदेखिमात्र निर्माण कार्य अघि बढेको थियो।

यस बीचमा पनि दुई पटक म्याद थप गरेपछि गत वर्ष असारमा बसपार्क निर्माणको काम सकिएको थियो। नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीलाई दिने तयारी गरेपछि सोही स्थानमा निर्माण पूर्व व्यवसाय गरिरहेका व्यवसायीहरु अदालत पुगेका थिए।

कहिले व्यापारीहरुको झमेला अदालतसम्म पुग्नु त कहिले कोरोना महामारीका कारण बसपार्क निर्माण भएपनि संचालनमा ढिलाई भएको थियो। 

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बसपार्क सञ्चालनमा देखिएका सबै विवाद सुल्झिएको बताउँदै बस व्यवसायी, प्रशासन, ट्राफिक प्रहरी लगायतसंग छलफल गरेर बसपार्क सञ्चालनमा ल्याएको जानकारी दिइन्।

‘सिटी बसपार्क सञ्चालनका लागि प्रक्रियागतगत, प्राविधिक समस्याहरु पनि थिए। उनले भनिन्,‘अहिले ती समस्याहरु समाधान भइसकेका छन् र अब निरन्तर रुपले अगाडि जान्छ।

’उनका अनुसार सिटी बसपार्कमा ठूला, साना गरेर १०० सवारी साधन सञ्चालनमा आउने छन्। बसपार्क सञ्चालनको जिम्मा पाएको भक्तपुरको पीआर कन्स्ट्रक्सनले नगरपालिकालाई मासिक ३१ लाख १५ हजार रुपैयाँ तिर्नुपर्ने छ।

सिटी बसपार्क सञ्चालनसम्बन्धी नगरपालिकाले बनाएको कार्यविधिमा यस्तो व्यवस्था गरिएको छ। सटरहरुको भाडा निर्धारण गर्ने जिम्मा कन्स्ट्रक्सनलाई नै दिइएको छ।

कन्स्ट्रक्सनले बसपार्क भित्रका ५४ वटा सटरहरुसँगै त्यहाँका ग्यारेज, रेष्टुरेष्ट तथा प्रवेश र पार्किङ शुल्क उठाउन पाउने नगरपालिकाको कार्यविधिमा उल्लेख रहेको छ।

बसपार्कमा ५४ सटर, ग्यारेज, टिकट काउन्टर, शौचालय, पार्किङस्थल निर्माण गरिएको छ । त्यस्तै यात्रुलाई बस्नका लागि बेग्लाबेग्लै टर्मिनल, गाडी मर्मतका लागि वर्कसप भवन, टिकट काउन्टर, शौचालय निर्माण गरिएका छन्।

बसपार्क संचालनका लागि पटक पटक मिति तोकिएको थियो । बसपार्क निर्माण कार्य थालिएपछि क्याम्पस नजिक र मंगलगढी नजिकबाट अस्थायीरुप बसपार्क तोकी सञ्चालन गरिएको थियो। 

यसैवीच यातायात व्यवसायीहरुले नयाँ बसपार्कबाटै सोमवार गाडी छुटाएका छन्। विभिन्न यातायात समितिहरुले आ-आफ्ना काउण्टर राखेर नयाँ बसपार्कबाटै गाडी छुटाएका हुन्।

नयाँ सिटी बसपार्क सञ्चालनमा आएपछि पुरानो अस्थायी बसपार्कलाई पार्किङ स्थल बनाउने तयारी थालिएको छ। 


 

मंसिर १५, २०७७ सोमबार १७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।