एचआइभी संक्रमित घट्दै, चुनौती कायमै

एचआइभी संक्रमित घट्दै, चुनौती कायमै

एचआइभी एड्सका कारण मृत्यु हुने तथा संक्रमितको संख्यामा कमी हुँदै गएको पाइएको छ। 

औषधि उपचारको पहुँच तथा बढ्दो जनचेतनाका कारण संक्रमित तथा मृतकको संख्यामा कमी हुँदै गएको चिकित्सक बताउँछन्।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले नेपाललगायत विश्वव्यापी रुपमा नै एचआइभीको नयाँ संक्रमण दर घट्दै गएको जानकारी दिइन्। 

सन् २०१० देखि सन् २०१९ सम्ममा विश्वव्यापी २३ प्रतिशतले नयाँ संक्रमण घटेको छ। त्यसैगरी बच्चाहमरुमा ५२ प्रतिशतले नयाँ संक्रमण कम भएको छ।

केन्द्रका अनुसार सन् २०१० देखि २०१९ सम्ममा एड्सको कारणले हुने मृत्यु ३९ प्रतिशतले घटेको छ। 

नेपालमा पनि संक्रमण घटेको यौन रोग केन्द्रले जनाएको छ। सन् २०१० को तुलनामा सन् २०१९ सम्ममा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ।

बच्चाहरुमा ८५ प्रतिशतले नयाँ संक्रमणमा कमी आएको छ। त्यसैगरी एड्सको कारणले मृत्यु हुनेको संख्या पनि ८५ प्रतिशतले घटेको पाइएको छ। 

सन् ३०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्षका साथ एचआइभी तथा एड्स सम्बन्धी कार्यक्रमहरु सञ्चालन भइरहेको केन्द्रकी निर्देशक डा. देवकोटाले जानकारी दिइन्। 

‘नेपालमा एचआइभी तथा एड्स सम्बन्धी क्रियाकलापहरु राष्ट्रिय एचआइभी रणनीतिक योजना २०१६ देखि २०२१ ले निर्देशन गरे अनुरुप सञ्चालित छन्’ उनले भनिन्।

विश्वव्यापी महामारीको रुपलिएको एचआइभी तथा एड्स विगत तीन दशकदेखि निरन्तर चुनौतिका रुपमा रहेको छ। 

सन् २०१९ को अन्त्यसम्म संसारभर ३ करोड ८० लाख व्यक्तिहरुमा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ। 

त्यसैगरी नेपालमा २९ हजार पाँचसय तीन जनामा एचआइभी संक्रमण भएको अनुमान छ। 

जसमध्ये पुरुषको संख्या १७ हजार पाँचसय ८७ र महिलाको संख्या ११ हजार नौसय १६ रहेको छ। केन्द्रका तथ्यांक अधिकृत दिपक दाहालले एड्सलाई अन्त्य गर्नका लागि सबैको प्रतिबद्धता, प्रयास र लगानीलाई अझ रणनीतिक, सशक्त, सुदृढ र तिब्र बनाउनुपर्नेमा जोड दिएका छन्। 

उनेले भने,‘विभिन्न कार्यक्रमगरी यो रोग नियन्त्रणको प्रयासमा अघि बढ्न सकिन्छ ।’

त्यसो त एड्स हेल्थ केयर फाउण्डेशन (नेपाल) का दिपक ढुंगेल पनि जनचेतना लगायतका विभिन्न कार्यक्रमगरी एचआइभी एड्स रोकथामक गर्न सकिनेमा बताउछन्।

उकेरासँग कुरा गर्दै ढुंगेलले भने,‘संक्रमण दर घट्दै गइरहेको छ। आज लगानी गर्यौं भने पाँच वर्षपछि प्रतिफल महसुस हुन्छ।’ 

सन् २०३० सम्ममा महामारीको रुपमा यो रोगलाई रहन नदिनका लागि विभिन्न फास्टट्रयाकका कामको गति बढाउनुपर्ने ढुंगेलको तर्क छ। 

उनी भन्छन्,‘अहिले भइरहेका कामलाई केही स्पिड बनाउने हो भने रोग नियन्त्रणमा निक्कै सफलता मिल्छ।’

विश्वमा एचआइभी पत्ता लागेको ३९ वर्ष भैसकेको छ। विश्व एड्स दिवस मनाउन थालेको पनि ३२ वर्ष भैसकेको छ। 

नेपालमा पनि यो वर्षको विश्व एड्स दिवसको नारा ‘एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’ भन्ने रहेको छ।

३३ औं विश्व एडस् दिवस–२०७७ (डिसेम्बर १, २०२०) तारिका दिन बिभिन्न सनचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइन्छ। 

नेपालमा करिव ८० प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको केन्द्रकी निर्देशक डा. देवकोटाले बताइन्। निर्देशक डा. देवकोटाले एचआइभी एड्सबाट बच्न सुरक्षित यौन सम्पर्क गर्न सुझाइन्।

मंसिर १५, २०७७ सोमबार १५:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।