‘कृष्ण–लीला’मा पुष्प र श्रद्धा रोमाण्टिक
काठमाडौं : दसैंअघि नै निर्माण घोषणा भएको चलचित्र ‘कृष्ण–लीला’को छायांकन सुरु भएको छ।
पूर्वी नेपालको झापाबाट सुटिङ थालिएको चलचित्रको युनिट हाल इलाम पुगेको छ। दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रको सुटिङ ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको रोमान्टिक गीतबाट सुरु भएको जानकारी कार्यकारी निर्माता रत्न श्रेष्ठले दिएका छन्।
सो गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा श्रेत्री रोमाण्टिक मुडमा प्रस्तुत भएका छन्। अञ्जु पन्त र सुगम पोखरेलको स्वर र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्। बाबु श्रेष्ठले खिँचेको गीत निकै सुन्दर बनेको कोरियोग्राफर लामिछानले बताएका छन्।
आरआर फिल्मसको ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण–लीला’मा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकार मुख्य भूमिकामा छन्।
प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको चलचित्रको कोशी नदी किनारमा सेट लगाएर सुटिङ आरम्भ गरिएको थियो भने युनिट हाल इलामको पानीटार पुगेको छ। त्यहाँ गीतको छायांकन सम्पन्न गरेर दृश्य खिँच्न थालिने जानकारी निर्देशक वलीले दिएका छन्।
चलचित्रको सम्पूर्ण छायांकन पूर्वी नेपालमै सकाइने बताइएको छ।
मंसिर १५, २०७७ सोमबार १२:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।