११ वर्षमा १२ गुणाले बढ्यो घरेलु हिंसा
नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष ०६६/६७ मा देशभर घरेलु हिंसाका ९८३ उजुरी दर्ता भएका थिए। त्यसको ११ वर्षपछि आर्थिक वर्ष ०७६/७७ मा त्यो संख्या बढेर ११ हजार ७३८ पुगेको छ, जुन आर्थिक वर्ष ०६६/६७ भन्दा झण्डै १२ गुणा हो।
किन बढ्दैछ घरेलु हिंसा ?
महिला सेलमा कार्यरत प्रहरी निरिक्षक निर्जला भण्डारी मुख्यतया विवाहत्तेर सम्बन्ध, बेरोजगारी, लागु तथा मादकपदार्थ दुव्र्यसनका कारण महिलामाथि हिंसा हुने गरेको बताउँछिन्। ‘अधिकांश महिलाहरू श्रीमान तथा परिवारका सदस्यबाट पीडित छन्,’ उनी भन्छिन्।
दाइजो नल्याएको, छोरा पाउन नसकेको, चरित्र राम्रो नभएको भन्दै पति तथा परिवारका सदस्यले नै उनीहरूमाथि अमानवीय व्यवहार गर्ने गरेको उनी बताउँछिन्। ‘छोरीलाई आफ्नो र बुहारीलाई पराई मान्ने मनोवृत्तिले पनि घरेलु हिंसालाई बढावा दिएको छ,’ उनी भन्छिन्।
बहुविवाह, तथा सम्पतीको स्वामित्व हस्तान्तरण विवादमा महिलाले प्रतिकार गर्न खोज्दा उनीहरूमाथि परिवारका सदस्यहरूले हिंसा गरेको घटना धेरै रहेको उनी बताउँछिन्।
‘समाजमा विभिन्न खालका हिंसाबाट पनि महिलाहरू उत्तिकै पीडित छन्,’ उनी थप्छिन्, ‘प्रथा र परम्पराका नाममा व्यक्तिगत स्वतन्त्रता एवं अधिकारबाट वञ्चित बनाएका कारण महिलामाथि हिंसा हुने गरेको छ।’
अधिवत्ता मिना ढुंगाना भने वैवाहिक प्रथा र महिला आर्थिकरूपमा सबल नभएकाले घरेलु हिंसा बढिरहेको बताउँछन्।
‘बहुविवाह गर्ने, श्रीमती तथा सन्तानप्रतिको आफ्नो जिम्मेवारी पूरा नगर्ने र कतिपय अवस्थामा घरबाट निकालिदिने तथा महिलाहरू वैवाहिक बलात्कारबाट पनि उत्तिकै सताइएका छन्,’ उनी भन्छिन्।
नेपालको कानुनले तोकिदिएको छोराछोरीमा सम्पत्ति बराबरीको हकको अक्षरसः पालना नहुँदा हिंसा बढ्न थालेको अधिवत्ता ढुंगानाको दाबी छ।
‘सामाजिक इज्जत तथा घरपरिवारको डरका कारण सकेसम्म महिलाहरू आफूमाथिका हिंसाका घटना बाहिर ल्याउन चाहँदैनन्,’ उनी भन्छिन्।
महिलाको हकहितका लागि काम गर्दै आएकी महिला सशक्तीरकरणकी अभियन्ता प्रकृति बस्नेत लामो समयदेखिको महिला सशक्तीकरणको अभ्यासको असर देखिन थालेकाले पनि पछिल्लो समय घरेलु हिंसा तुलनात्मकरूपमा बढी देखिएको उनको भनाइ छ।
‘घरेलु हिंसाविरुद्धको उजुरी गर्दा महिलाहरूले त्रास खेप्नुपर्ने अवस्था छ,’ उनी थप्छिन्, ‘विगतको तुलनामा अहिले महिला हिंसाका घटनामा उजुरी गर्ने क्रम पनि बढेको छ। यसले महिलालाई हिम्मत दिएको छ। न्याय पक्ष चुस्तदुरुस्त भए उल्लेख्य मात्रामा घरेलु तथा महिलामाथि हुने हिंसामा कमी आउँछ।’
यस्ता घटनाविरुद्ध महिलाहरू खुलेर बाहिर आउनुपर्ने उनको आग्रह छ।
बेरोजगारी, शिक्षाको कमी, आर्थिक स्वामित्व नहुनु, धार्मिक तथा सामाजिक डरका कारण घरेलु हिंसा बढिरहेको प्रकृतिको बुझाइ छ।
कुन आर्थिक वर्षमा कति ?
प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०६७/६८ मा १ हजार ३५५ घरेलु हिंसाका उजुरी दर्ता भएका छन्। यस्तै, आर्थिक वर्ष २०६८/६९ मा २ हजार २५० र २०६९/७० मा १ हजार ८०० घटना घटेको प्रहरीको तथ्यांक छ।
त्यसयता भने घरेलु हिंसाका घटना ह्वात्तै बढेको देखिन्छ। प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/७१ मा ६ हजार ८३५, २०७१/७२ मा ८ हजार २८६, २०७२/७३ मा ९ हजार ३९८, २०७३/७४ मा ११ हजार ६२९, २०७४/७५ मा १२ हजार २२५ र ०७५/७६ मा १४ हजार ७७४ घरेलु हिंसाका घटना घटेका छन्।
चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३ हजार २५६ घरेलु हिंसाका उजुरी दर्ता भएका छन्। प्रहरीका अनुसार गत साउनमा १ हजार १३५, भदौमा ७७९ र असोजमा १ हजार ३४२ उजुरी दर्ता भएका हुन्।
प्रहरी प्रवत्ता एवं एसएसपी कुवेर कठायत कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका बेला पनि घरेलु हिंसाका घटना कमी नआएको बताउँछन्। ‘बेरोजगारी, मानसिक विचलन, विवात्तेर सम्बन्ध, सम्पत्ति विवाद लगायत कारण महिलामाथि घरेलु हिंसा भइरहेको छ,’ उनी भन्छन्।
पितृसत्तात्मक सोच, सामाजिक, आर्थिक र सांस्कृतिक कारण, गरिबी, विभेद, नैतिक चरित्रको अवमूल्यन, स्रोत र साधनमाथि पहुँच तथा नियन्त्रणमा कमीका कारण महिलामाथि हिंसा हुने गरेको अधिकारकर्मीहरूको ठम्याइ छ।
यसरी हुनसक्छ न्यूनीकरण
लामो समयदेखि महिलाका मुद्दामा काम गर्दै आएकी अधिवत्ता ढुंगाना महिलाको आर्थिक हैसियत राम्रो भए घरेलु हिंसा कम हुन सक्ने बताउँछिन्। ‘महिलालाई आर्थिकरूपमा सबल बनाउनुपर्छ, त्यसले उनीहरूमा आत्मविश्वास बढाउँछ,’ उनी भन्छिन्।
सम्पत्तिमा छोराछोरीको समान हक कागजमा मात्र सीमित नगराइ व्यवहारमा लागू गरे महिलाहरूमाथिको हेपाहा प्रवृत्ति रोकिने उनको भनाइ छ।
‘वैवाहिक प्रथा पनि घरेलु हिंसाको मुख्य कारणमध्ये एक हो,’ उनी थप्छिन्, ‘समाजमा लैंगिक हिसामा पुरुष पनि परेका छन्। तर, ९९ प्रतिशत महिला पीडित छन्।’
महिलालाई ‘वस्तु’ मान्ने प्रवृत्ति नफेरिएसम्म लैंगिक हिंसाका घटना घटिरहने अधिवत्ता ढुंगाना बताउँछिन्।
त्यस्तै, महिला अधिकारकर्मी प्रकृति बस्नेत पछिल्लो समय महिलाहरूमा हिंसाविरुद्ध बोल्ने बानीको विकास भएकाले महिला सशक्तीकरणको मुद्दा सकारात्मक दिशातिर अघि बढ्दै गरेको भान भएको बताउँछिन्। महिलामाथि हुने हिंसाबारे खुलेर बोल्दा यस्ता घटना कम हुने उनको बुझाइ छ।
‘महिलालाई उद्यमशील बनाउनु जरुरी छ,’ उनी थप्छिन्, ‘आर्थिकरूपमा सबल हुँदा मानसिक र शारीरिकरूपमा पनि महिला राम्रो अवस्थामा हुन्छन्। उनीहरूमा आत्मविश्वास बढ्छ। आफ्नो लागि आफैले निर्णय गर्न सक्छन्।’
आर्थिक परनिर्भरता कम हुनु अहिलेको लागि घरेलु हिंसा कम गराउने एउटा महत्त्वपूर्ण कदम रहेको उनी बताउँछिन्।
यस्तो छ सजाय
घरेलु हिंसा कसूर तथा सजाय ऐनको सजाय महलमा यस्तो सजाय तोकिएको छ।
घरेलु हिंसा गरेमा : कसैले घरेलु हिंसा गरेमा तीन हजारदेखि २५ हजार रूपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्छ।
घरेलु हिंसाको उद्योग गरेमा : घरेलु हिंसाको उद्योग, दुरुत्साहन गर्ने वा मतियार हुनेलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने।
पटके पीडकको हकमा : एकपटक घरेलु हिंसाको कसूरमा सजाय पाइसकेकाले पुनः सोही कसुर गरेमा पटकैपिच्छे दोब्बर सजाय हुने।
सार्वजनिक पदमा हुनेले हिंसा गरेमा : सार्वजानिक जवाफदेहीको पदमा बहाल रहेकोले कसूर गरेमा निजलाई थप १० प्रतिशत सजाय हुने।
अदालतको अन्तरिम आदेशको पालना नगरेमा : अदालतले प्रदान गरेको अन्तरिम संरक्षणत्मक आदेश पालना नगर्नेलाई दुई हजारदेखि १५ हजार रूपैयाँसम्म जरिवाना वा चार महिना वा सोसरह कैद वा दुवै सजाय हुने।
अहिले महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ। महिला हिंसा रोकथामका लागि हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म गरिने यो अभियान सार्थक बनाउन सबै सरोकारवालाको प्रभावकारी भूमिकासँगै आम नागरिकले महिला हिंसाविरुद्ध ऐक्यवद्धता देखाउन आवश्यक देखिन्छ।
मंसिर १५, २०७७ सोमबार ०९:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।