महासंघको नयाँ टिमसामु चुनौतीका चाङ
अध्यक्षको जिम्मेवारी भने वरिष्ठ उपाध्यक्ष रहेका शेखर गाल्छाले सह्माल्दैछन्। उनलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्रप्रसाद ढकाल, तीन उपाध्यक्षमा निर्वाचित अञ्जन श्रेष्ठ, किशोर श्रेष्ठ र रामचन्द्र संघईले महासंघ हाँक्न सहयोग गर्नेछन्।
महासंघको कार्यसमितिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एकजनालाई कोषाध्यक्ष मनोनीत गर्नेछ। सँगसँगै अबका अध्यक्ष गोल्छाले विधानअनुसार पाँचजना केन्द्रीय सदस्य मनोनयन गरेपछि कार्यसमितले पूर्णता पाउनेछ।
अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच हुन सक्ने बेमेलले महासंघको कार्यसम्पादनमा असर पार्न सक्ने सम्भावना पनि उत्तिकै छ। महासंघको विधानअनुसार अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा अब अध्यक्षको जिम्मेवारीमा पुग्दैछन्।
उनी यसपटकको चुनावमा किशोर प्रधानका पक्षमा खुलेर लागेका थिए। भावी अध्यक्ष तटस्थ बस्दा कार्य सम्पादनमा सहज हुन्थ्यो, तर गोल्छाबाट त्यस्तो भूमिका निर्वाह हुन सकेन। चुनाव प्रचारका क्रममा ढकालले भावी अध्यक्ष तटस्थ बस्नु उपयुक्त हुन्थ्यो भन्ने आशय सार्वजनिक गरिसकेका छन्। यस्तो पृष्ठभूमिमा अबको कार्यकालमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच बेमेल रहने सम्भावना बलियो छ।
अबका अध्यक्ष गोल्छाले वरिष्ठ उपाध्यक्ष ढकाललाई कसरी विश्वासमा लिन सक्छन् ? अनि ढकालले गोल्छासँग प्रतिद्वन्द्विताको भावना राख्लान् कि नराख्लान्? महासंघको आगामी कार्यसम्पादनको प्रभावकारिता यिनै दुई प्रश्नको उत्तरमा निर्भर हुनेछ।
वरिष्ठ उपाध्यक्ष रहेकै बेला गोल्छाले महासंघको १० वर्षे कार्ययोजना तयार पारेका छन्। त्यस्तै आफ्नो कार्यकालमा गर्न सकिने अल्पकालीन कार्ययोजना पनि उनले बनाएका छन्।
यही कार्ययोजनालाई किशोर प्रधान समूहले चुनाव प्रचारका क्रममा आफ्नो पनि कार्ययोजना भनी प्रस्तुत गरेको थियो। गोल्छाको प्रत्यक्ष समर्थन प्रधानलाई नै थियो। उता ढकालले आफ्नै अवधारणा सार्वजनिक गरेका छन्। यस्तो अवस्थामा गोल्छा र ढकालका कार्ययोजना र अवधारणाबीचको समन्वय महासंघका लागि चुनौतीको एउटा पक्ष बन्नेछ।
कोभिडका कारण यति बेला उद्योग व्यवसायको अवस्था कमजोर बनेको छ। देशमा लामो समयसम्म जारी लकडाउनका कारण उद्योगी व्यवसायीको आर्थिक अवस्थामा असर परेको छ। अस्तित्व मेटिन नदिन जुध्दै गरेका उद्योग व्यवसायको पुनर्सबलीकरणका लागि पनि महासंघले भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ। निजी क्षेत्रका समस्या समाधानका लागि सरकारसँग गतिलो लबिइङ गर्नुपर्ने अवस्था छ।
लक डाउन सुरु भएदेखि नै उद्योगीले सरकारसँग गतिलो राहज प्याकजेको माग गर्दै आएका छन् । तर उनीहरुको अपेक्षा सरकारले पूरा गरिदिएको छैन।
सरकारको आर्थिक हैसियत कमजोर भएर उद्योगी व्यवसायीको अपेक्षाअनुसारको राहत प्याकेज दिन नसकेको प्रधानमन्त्री केपी ओलीले स्पष्ट पारिसकेका छन्। यस्तो अवस्थामा निजी क्षेत्रलाई सरकारका तर्फबाट सकेसम्म बढी सहुलियत दिलाउन महासंघको प्रभावकारी भूमिका अपेक्षित रहन्छ। चर्को प्रतिस्पर्धाको वातावरणबाट निर्वाचित भएको आएको महासंघले त्यस्तो भूमिका निर्वाह गर्न सक्ला ? महासंघसामु रहेको यो अर्को चुनौती हो।
वरिष्ठ उपाध्यक्षमा विजयी ढकाललाई उनको प्रतिस्पर्धी समूहले सरकारको समर्थन प्राप्त उम्मेदवारको रुपमा चित्रित गरेको थियो। ढकाल सबैलाई रिझाउन सक्षम व्यवसायी भनेर चिनिन्छन्। त्यसैले उनलाई सरकारमा रहेकाहरुबाट समर्थन रहेको कुरालाई नकार्न नसकिने उद्यमी व्यवसायीहरु बताउँछन्।
यस्तो अवस्थामा ढकाल सरकारसँग उद्यमी व्यवसायीका समस्या समाधान गर्न केकसरी प्रस्तुत हुन्छन् भन्ने कुरा पनि महत्वपूर्ण छ। महासंघको विधानअनुसार ढकाल तीन वर्षपछिका अध्यक्ष समेत हुन्। यसैले उनले अबको ६ वर्ष महासंघका गतिविधिलाई नेतृत्व दिनेछन्। उनका लागि सरकारको स्वार्थ र निजी क्षेत्रको सरोकारबीच तालमेल मिलाएर अघि बढ्नुपर्ने चुनौती छ। यो चुनौतीको सामना गर्न उनी जति सक्षम बन्छन् त्यति नै महासंघको कार्यसम्पादन पनि प्रभावकारी हुने विश्लेषण गर्न सकिन्छ।
वरिष्ठ उपाध्यक्षमा विजयी ढकाल ग्लोबल आइएमई बैंकका अध्यक्ष हुन्। लामो समयदेखि उद्यमी व्यवसायीले बैंकहरुको व्यवहार साहुकारको जस्तो भएको गुनासो गर्दै आएका छन्। कर्जा प्रवाहमा बैंकहरुले उद्यमी व्यवसायी मैत्री व्यवहार नगरेको उनीहरुको गुनासो छ। यस्तो अवस्थामा ढकाल बैंकरको स्वार्थअनुसार चल्छन् कि उद्यमी व्यवसायीका पक्षमा बोल्छन् ? यो पनि उद्यमी व्यवसायीको चासोको विषय हो।
चुनावका क्रममा अर्का उद्यमी तथा महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले चन्द्र ढकाललाई समर्थन गरेका थिए। चण्डीराज महासंघमा प्रायः विवादमा आइरहने व्यक्ति हुन्। उनी व्यवसाय सञ्चालनका लागि विभिन्न बैंकबाट लिएको ऋण नतिरेर कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका छन्।
ऋण चुक्ता गर्न बैंकबाट आउने दबाबलाई कमजोर पार्न उनले महासंघको शक्ति प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको छ। पछिल्लो समय भने महासंघ उनका पक्षमा देखिएको थिएन। अब अहिले उनले पनि समर्थन गरेका चन्द्र ढकाल वरिष्ठ उपाध्यक्ष बनेका छन्।
अब महासंघमा चण्डीराजको भूमिका कस्तो रहला ? उद्यमी व्यवसायीले यो विषयमा पनि निकै चासो दिएका छन्। महासंघमा चण्डीराजलाई मन नपराउने ठूलै जमात छ। केही महिनाअघि उनीविरुद्ध महासंघले खेत प्रस्ताव नै पारित गरेको थियो।
मंसिर १५, २०७७ सोमबार ०७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।